+
+

गृह जिल्लालाई भीटीएम किट दिँदैछ अन्तर्राष्ट्रिय झापाली समाज

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १२:२०

सिड्नी । विश्वभरि छरिएर रहेका झापालीहरुको छाता संगठन अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो गृह जिल्लालाई प्रारम्भिक चरणको राहत स्वरूप ७ लाख रुपैयाँ बराबरको कोरोना भाइरस परिक्षण गर्ने भीटीएम किट सहयोग गर्ने भएको छ । कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न १५ सय किट सहयोग गर्न लागेको हो ।

समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा बसेको बैठकले झापा जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा राहत वितरण र कोरोना परीक्षणको कार्यमा सहयोग गर्ने निर्णय गरेको समाजका प्रवक्ता बालहरि राईले बताए ।

समाजका संरक्षक दिनेश पोखरेलका अनुसार कोरोनाको महामारीका वेला आफ्नो जिल्ला र जिल्लावासीसँग भौतिक दूरीले टाढा भएता पनि दुःखका हरेक समयमा झापावासीको साथ रहेको सन्देश दिने गरी सम्पूर्ण राष्ट्रिय कार्य समितिहरूसँग समन्वय गर्दै सहयोग गर्ने निर्णय गरिएको हो ।

‘एकका लागि एक’ अभियान अन्तर्गत झापा जिल्लामै प्रस्तावित कोरोनाको परिक्षण गर्ने ल्याब समेत चाँडै स्थापना भए समाजले पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

अध्यक्ष सुव्वाले समाजले विगतमा बाढीपहिरोबाट पीडित झापालीको ९ वटा घर बनाएर पुनःस्थापना गरेको र ३ वटा एम्बुलेन्स सञ्चालन गरी जिल्लावासीसँग सुख दुखमा जोडिरहेको समेत स्मरण गराए ।

समाजका उपाध्यक्ष नविन पोखरेल हाल गृह जिल्ला झापामै राहतको लागि फिल्डमा खटिएको उनले जनाए । पोखरेलले जिल्लामा स्थानीय निकायहरू, एकका लागि एक अभियान लगायतसँग समेत समन्वय गरी आवश्यकताको आधारमा स्थानीय तहमा किट हस्तान्तरण गर्ने जनाइएको  छ ।

साथै, आवश्यकता अनुसार अन्य राहत वितरण कार्यलाई समेत निरन्तरता दिइने सल्लाहकार रूपराज मैनालीले बताए ।

जुम एप प्रयोग गरी सञ्चालन गरिएको अनलाइन बैठकमा समाजका निवर्तमान अध्यक्ष तथा संरक्षक दिनेश पोखरेल, वरिष्ठ उपाध्यक्ष दिपक खनाल, उपाध्यक्षहरु दिपक ओली, दिपक चुडाल, नबिन पोखरेल, कोषाध्यक्ष चुडामणि कार्की, प्रवक्ता बालहरी राई लगायत पदाधिकारीको सहभागिता थियो भने सञ्चालन महासचिव खेमराज जमरकट्टेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?