Comments Add Comment

बजेटमा फेरि मेलम्चीबारे झुटो बाचा

साउनमा वितरण थाल्न ‘असम्भव’

१७ जेठ, काठमाडौं । सरकारले मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा वर्षौंदेखि पटक–पटक झुटो आश्वासन दिँदै आएको छ ।

झुटको यो सिलसिलालाई निरन्तरता दिएका छन् अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो बजेट भाषणमा । उनले आगामी आर्थिक वर्षको सुरुवातदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण थाल्ने असम्भव वाचा गरेका छन् ।

बजेटमा ‘आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्‍न गरी आगामी आर्थिक वर्षको शुरु देखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने’ भनिएको छ । यसअनुसार साउनबाट काठमाडौंका घरमाहरुमा मेलम्चीको पानी वितरण हुनुपर्छ । अहिलेको प्रगति हेर्दा यो भाका पूरा हुन सम्भव छैन ।

खानेपानीमन्त्री वीना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत स्वेतपत्र जारी गर्दै मेलम्चीको पानी असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने दावी गरेकी थिइन् । त्यसलाई नै बजेटमा निरन्तरता दिइएको हो । तर, आयोजनाका अधिकारीहरु साउनबाटै काठमाडौंमा खानेपानीको वितरण गर्न कुनै पनि हालतमा सम्भव नरहेको बताउँछन् ।

आयोजनाका एक अधिकारीका अनुसार अनुसार असारसम्म सुरुङभित्रको काम सक्ने लक्ष्य छ । त्यसपछि पनि विभिन्न चरणका परीक्षणहरु बाँकी रहने भएकाले काठमाडौंमा पानी कहिलेबाट वितरण थाल्न सकिन्छ भन्ने एकिन नभएको उनले बताए ।

‘अडिट सुरुङमा गेट जडान र परीक्षणको काम सकिएकै छैन, सुरुङभित्र अनुगमनका लागि जोड्नुपर्ने प्रविधिको काम पनि अपुरै छ,’ उनले भने, ‘अनुगमन प्रविधिको लागि स्पेन र गेटका लागि भारतबाट प्राविधिकहरु आउनुपथ्र्यो, तर लकडाउनका कारण त्यो सम्भव छैन । अब त्यो काम गर्नसक्ने कोही नेपाली प्राविधिक छन् कि भनेर खोजिरहेका छौं ।’

बुटवल पावर कम्पनीका यस्ता गेटसम्बन्धि काम गरेका प्राविधिकरुलाई आयोजनामा ल्याउने प्रयास भइरहेको छ । यदि आयोजनाले खोजेअनुसार प्राविधिक नेपालमा भेटिएन भने विदेशी प्राविधिक कुर्नुको विकल्प आयोजनासँग हुने छैन ।

सुरुङको काम सकिएपछि परीक्षणको लागि करिब १५ दिन लगाएर पानी भर्नुपर्छ । त्यसपछि फेरि सुरुङलाई खाली गरेर पानी राख्दा कतै समस्यमा भए/नभएको हेनुपर्छ । समस्या भए त्यसलाई समाधान गरेर मात्रै ‘कमिसनिङ’ गर्न सकिन्छ ।

‘यत्रो वर्ष लगाएर बनाएको सुरुङसहितको ठूलो पूर्वाधारलाई राम्रोसँग परीक्षण नगरी पानी हाल्नु हुँदैन, त्यसैले हतार गर्ने अवस्था छैन,’ आयोजनाका अधिकारी भन्छन्, ‘राजनीतिज्ञलाई त हतार छ भन्दैमा प्राविधिक रुपमा सबै तयारी परिपक्व नभई आयोजनालाई सञ्चालनमा ल्याउन हुँदैन ।’

कामदार अभाव

लकडाउनपछि केही कामदार घर फर्किएकाले आयोजनामा अहिले कामदारहरुको अभाव पनि छ । त्यसैले बाँधस्थलको कामको गतिलाई घटाएर सुरुङतर्फको काममा केन्द्रित गरिएको छ । भारतमा पनि लकडाउन हुँदा उद्योगधन्दा बन्द भएकाले आवश्यक सामग्रीहरु ल्याउन सहज नभएको आयोजनाले बताएको छ ।

२०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक–पटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ । आयोजनाले मुहानमा बन्ने हेडवक्र्स निर्माणको काम भने वर्षायामपछि नै सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसबाहेकका काम वर्षायाम अगावै सक्नुपर्छ ।

मेलम्चीको पानी सुरुङतर्फ फर्काउने मुख्य संरचनाको काम सकिए पनि अन्तिम रुप दिन बाँकी छ । हेडवक्र्स नबनिन्जेल डाइभर्सन सुरुङमार्फत सुन्दरीजलमा सीधै पानी ल्याउने योजना बनेको छ । माघसम्म सक्ने गरी हेडवर्क्स बनिरहेको छ । तर, अहिले हेडवर्क्सको काम पनि प्रभावित भएको छ ।

सुन्दरीजलमा झर्नासाथ धारामा आउन्न

सरकारले भनेअनुसार असारमै सुन्दरीजल आइहाले पनि उपभोक्ताले दशैंअघि मलेम्चीको पानी पाउने अवस्था हुँदैन । मेलम्चीको पानी वितरण गर्न शहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकीमा पानी पुर्‍याउन ठूला पाइपहरु जोडिएका छन् ।

ट्यांकी र वितरण पाइपलाइनको सफाइ र परीक्षण गर्न नै तीन महिनाभन्दा बढी लाग्ने अनुमान छ । चक्रपथ आसपासका एक तिहाई क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ । महाराजगञ्ज, धुम्बाराही, सामाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ । पुरानो पाइपलाइन निकै पुरानो भएकाले ‘लिकेज’को समस्या पनि ठूलो छ ।

सुन्दरीजलमा पानी खसाल्नासाथ उपभोक्ताको घरमा पानी आइहाल्ने अवस्था छैन । सरकारले आयोजनाको दोस्रो चरणको निर्माण कार्य शुरु गर्न आगामी वर्ष ५ अर्ब ४६ करोड विनियोजन पनि भएको छ । काठमाडौं उपत्यका खानेपानी र ढल निकास व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड पनि छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment