Comments Add Comment

बजेट धेरै आशावादी देखियो, तर धरातल बिर्सनुहुन्न : विनोद चौधरी

१८ जेठ, काठमाडौं । सांसद विनोद चौधरीले सरकारले प्रक्षेपण गरे अनुसार आगामी आर्थिक बर्षमा राजश्व असुल हुन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले १० खर्बको राजश्व संकलन हुने सरकारको प्रक्षेपण सफल नहुने बताएका हुन् ।

सरकारको आगामी आर्थिक बर्षको बजेटमा ‘चालु आर्थिक बर्षमा ८ खर्ब राजश्व उठाएको भए पनि आगामी बर्ष १० खर्ब (केन्द्र, प्रदेश र स्थानीय तहमा जानेसमेत) रुपैयाँको राजश्व प्रक्षेपण’ गरिएको उल्लेख गर्दे उनले बजेटमा अपेक्षा गरिए अनुसार राजश्व संकलन हुन नसक्ने दाबी गरे ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण उद्योग व्यवसाय ठप्प रहेको अवस्थामा म्ुलुकको अर्थतन्त्रको यथार्थ धरातल बिर्सेर राजश्व संकलनको अपेक्षा मात्रै बढाउनु व्यवहारिक नभएको तर्क उनले गरे ।

‘यो बजेट एजम्सनको आधार नै हाइट अफ अप्टिमिजम हो । अप्टिमिष्ट (आशावादी) हुनुपर्छ । स्वप्नदर्शी हुनुपर्छ तर त्यसको धरातललाई बिर्सनु हुदैन’ उनले भने ।

आगामी दिनहरु अत्यन्तै कठिन बन्ने र रेमिटेन्स आधा भन्दा बढी घट्न सक्ने भन्दै उनले रोजगारी गुमेकाको जीविकोपार्जनलाई नै सरकारले पहिलो आवश्यकता र प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

‘बेरोजगार, सानातिना काम गर्नेहरुको खल्ती सुकिसकेको छ, उद्योगहरु बन्द छन् । र ठूला ठूला ऋण लिएर सञ्चालन भएका हाइड्रो, सिमेन्टलगायतका परियोजनाहरु, निजी क्षेत्रका र सरकारीसमेत पनि लगभग बन्द छन् । होटल, स्कुल बन्द छन् । हस्पिटल पनि लगभग बन्द छन् । महल, रियल स्टेट सबै बन्द छन् । चालु छ भने केबल ब्याजको मिटर । बत्तिको मिटर’ उनले भने ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि आफूहरुले २ सय ५० अर्बको अनुदान दिन सरकार समक्ष प्रस्ताव राखेको स्मरण गराउदै चौधरीले सरकारले घोषणा गरेको राहत कार्यक्रममा यातयात, शिक्षण, निर्माण र ठूला आयोजना समावेश नभएकाले ती क्षेत्र धरासायी बने बैैकिङ क्षेत्रमा पनि असर पर्ने बताए ।

उद्योगी चौधरीले बजार बन्द, यातायात बन्द, भएकाले उत्पादन बजार पुर्याउन नसकिएको अवस्थामा उत्पादन र बजारको श्रृंङ्खलालाई कायम गर्न नसक्दा भविष्यमा लुटपाट जस्ता विकृति देखा पर्नसक्ने चेतावनी दिए ।

ठूलो रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र कृषि नै भएकाले भारत र चीनका उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्ने गरी आवश्यक बजारीकरण र पूर्वाधारको विकास गरी बेरोजगारलाई सीपसँग जोडेर पूँजीको रुपमा बदल्ने काम गर्नु अत्यन्तै आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment