Comments Add Comment

लकडाउन खुकुलो बनाऔं, लकडाउनको स्वरुप फेरौं

कोभिड १९ महामारीका कारण विगत ५ महिनादेखि विश्व नै ठप्प छ । हामी पनि २ महिनाभन्दा बढी समयदेखि लगभग त्यही नियती भोगिरहेका छौं ।

कोरोना संक्रमितको संख्या सिंगल डिजिटमै हुँदा लकडाउन घोषणा भएको थियो । त्यसले अन्तराष्ट्रिय उडान मार्फत भित्रन सक्ने संक्रमणलाई पूर्णतया निस्तेज गर्‍यो । भारतसँगका खुला सीमाका कारण कतिपय आवतजावतलाई हामीले चाहेर पनि नियन्त्रण गर्ने सम्भावना कम थियो नै । नेपालबाट भारत र भारतबाट नेपाल आवत जावतको क्रम रोकिएन । फलस्वरुप ठूलो जनसंख्या र भूगोलको प्रभाव ढिलो चाँडो हाम्रोमा पर्नेवाला थियो र अहिले त्यो प्रभाव श्रृंखलावद्ध रुपमा देखिँदैछ ।

लकडाउन २ महिना पार भइ कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको निधन संख्या ८ पुग्दा संक्रमितको संख्या १५ सय नाघिसकेको छ ।

लकडाउनका कारण हाम्रा उत्पादनशील दैनिकी नराम्ररी प्रभावित भएका छन् । उद्योग धन्दा उत्पादन, रोजगारी, शिक्षा सबै क्षेत्र यसबाट प्रभावित छ । ग्रामीण भेगमा सन्त्रासको मात्रा बढी छ यद्यपी खेतीपाती घरका काम चलिरहेका छन् भने शहरी क्षेत्रको त दैनिकी नै ठप्प छ । दैनिक उपभोग्य वस्तुसमेत धेरै जसो आयातमै भर पर्नुपर्ने भएकोले यसको अभाव र प्रभाव विस्तारै देखिनेवाला छ । हालसम्म जसो तसो चलिरहेको मात्र छ ।

हामी यस्तो विन्दुमा आइपुगेका छौं कि अब लकडाउन झेल्न पनि कठिन भइसक्यो तर संक्रमणको संख्या हेर्दा यसलाई झन् कडाइ गर्नुपर्ला जस्तो पनि देखिन्छ । साँच्चै कठिनतम मोडमा छौं हामी ।

लकडाउनको मोडालिटी

लकडाउन जेठ मसान्तसम्म थप गर्ने निर्णयसंगै अब यसको मोडालिटी माथि छलफल गर्नुपर्ने बेला आएको छ । एकदम धिमा गतिमा बढेको संक्रमण जेठको दोस्रो हप्ताबाट तीब्र गतिमा बढिरहेको छ । प्रत्येक दिन १ सय ५० प्लसका दरले नयाँ केस बढिरहेको छ । पीसीआर परीक्षणका लागि संकलित स्वाबको ल्याव परीक्षण लाइन लामो हुन थालिसकेको छ । यस्तो बेलामा यसको मोडालिटी माथिको बहस निरर्थक लाग्न पनि सक्छ । तर एक पटक ठण्डा दिमागले सोचौं । यसको विकल्प माथि छलफल थालौं ।

लकडाउनको विकल्प थप लकडाउन मात्र होइन । कोरोना भाइरस संक्रमण न्युनीकरणको उपचार विधि लकडाउन मात्र होइन भन्नेमा अव द्धिविधा रहेन । लकडाउन केवल सम्भावित महामारीमा प्रतिकार्य सेवाका लागि पद्धति निर्माण गर्ने तयारीको समय मात्र हो । यस बीचमा हामीले कति तयारी गर्न सक्यौं या सकेनौं यो दोस्रो पाटो भयो । तर अन्तहीन लकडाउनले हामी संकटलाई सार्न मात्र सक्छौं, टार्न होइन ।

सुरक्षा, तयारी प्रबन्ध र उन्नत क्षमता भएका मुलुकहरुमा कोभिड महामारीका कारण समस्यामा पर्नेका लागि ठोस राहतको प्रबन्ध मिलाइएको पाइन्छ । हामीले पनि प्रयास त गरिरहेका छौं । तर हामीले राहतका नाममा हतारिएर वितरण गरिएका दाल, चामल, मास्क, सावुनहरु यत्रो ठुलो संकटमा केवल आँधीहुरीको दियो जस्तो मात्र भएको छ । खास गरि तीन तहका सरकारको समन्वय र सहकार्यले यो भन्दा बढी गर्न सक्नुपर्थ्यो । यसमा हाम्रो भागको जिम्मेवारी हामीले नै लिनुपर्छ । हामी प्रयास गरिरहेका छौं ।

विश्वका उच्च विकसित देशहरु समेत वेहाल जस्तो भइसकेको यो प्रकोपमा हाम्रो उपलब्धी बलियो नै मान्नु पर्छ । यद्यपी अझै धेरै गर्न बाँकी छ । अर्काको आलोचना मात्र गरेर उम्कने हामी कसैलाई धर छैन, तर निर्मम समीक्षा गरेर थप व्यवस्थित र तथ्यपरक योजनासहित अघि बढ्न जरुरी छ ।

कोरोनाको आयु लामो हुन सक्ने विज्ञहरुले चेतावनी दिइरहेका छन् । संसारभरीका उन्नत अन्वेषकहरुको मथिंगल हल्लाएको यस भाइरस सजिलै पराजित हुने मुडमा देखिन्न । कोरोना भाइरस मात्र हैन ठोस औषधी तथा उपचार पद्धति पत्ता नलागेका अरु थुप्रै भाइरलहरु अस्तित्वमा छन् । एचआईभी एड्स, स्वाइन फ्लु, बर्ड फ्लुको भरपर्दो औषधी तथा उपचार छैन । त्यसैगरी के थाहा कोरोना भाइरसको पनि अवस्था उही रुपमा लामो समय कायम रहन पनि सक्छ । नरहोस् कामना गरौं तर कामनाले मात्र पुग्दैन ।

यसको उपचार पद्धति, औषधी, खोप पत्ता लागे पछि पनि हाम्रा लागि त अर्को संघर्षका दिन शुरु हुन्छ । हाम्रो जस्तो अवस्थामा रहेका मुलुकको पहुँचमा आइपुग्न यसले कति समय लगाउला भन्ने सवाल बाँकी नै रहन्छ । त्यसैले अव भाइरससंग भागेर मात्र सुख छैन । यससंग सतर्क हुदै, छलिदै, जोगिदै, जुध्दै र सामना गर्दै स्वाभाविक दैनिकीमा फर्किनु पर्दछ ।

हो एकै पटक लकडाउन नखोलौं । यसलाई क्रमबद्ध रुपमा खुकुलो पार्दै लैजाने योजना निर्माणका लागि भने ढिला नगरौं ।

परीक्षणको दायरा बढाऔं

हामी पाइतालामा खतराको संकेत टेकेर उभिएका छौं । परिक्षणको संख्या अलि–अलि बढ्ना साथ संक्रमितहरुको संख्या उल्लेखित रुमपमा बढिरहेको छ । करिव ८० प्रतिसत कोरोना संक्रमित व्यक्तिहरु सामान्य खालका लक्षण देखिएर निको हुने बताइएको छ । सबै संक्रमितहरु सिकिस्त नहुने भएकोले यसको अवस्था हाल परिक्षण पश्चात प्राप्त संख्याको आँकडा जति मात्र नहुन सक्छ । अहिले कोरोना संक्रमितको अवस्था कति छ भन्ने नै यकिन छैन ।

परिक्षणको दायरालाई व्यापक बनाऔं । हुनत हिजोको तुलनामा धेरै गुणा प्रगति भएकै छ । अहिलेको परिक्षण प्रोटोकल र गतीले प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको कुल जनसंख्याको २ प्रतिशत परिक्षणको टार्गेट समेतभेट्न कठिन छ । कम्तिमा पनि ७७ वटै जिल्ला अस्पतालहरुमा पिसिआर परिक्षणको संयन्त्र निर्माण गरौं । यसका लागि आवश्यक बजेट व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारहरु बीच साझेदारी गर्न सकिन्छ ।

विभिन्न तहका सरकारहरुका सशर्त, समपुरक र विशेष अनुदानका वजेट रकम सम्झौता भएर काम अघि बढेका तर लकडाउनका कारण ढिलाइ हुन गएकाको हकमा त्यही कामका लागि म्याद थप गर्ने र काम शुरु नभएका, खर्च हुन बाँकी रहेको रकम यस कार्यमा लगाउन सक्ने गरि नीतिगत निर्णय गर्न सकिन्छ ।त्यसैले हर संभव विधिबाट परिक्षण, परिक्षण र परिक्षणलाई व्यापक विस्तार गरौं ।

हाल भइरहेको परिक्षणको प्रोटोकलमा व्यापक सुधार ल्याउनु जरुरी छ । संक्रमणको पहिचान भएका क्षेत्रमा प्रत्येक घरधुरीबाट कम्तिमा १ जनाको पिसिआर परिक्षण गर्ने गरि बजेट, जनशक्ती, प्रक्रिया र समयतालिका निर्धारण गरौं । कन्ट्रयाक ट्रेसिङका आधारमा अन्य आवश्यक क्षेत्रमा पनि परिक्षण बढाऔं । थुप्रै समय व्यतित भइसकेको छ यद्यपी अझै बिग्रेको छैन । व्यापक परिक्षणले मात्र हामी गुम्राहबाट निस्कन्छौं । संक्रमणको वास्तविक अवस्थाबाट थाह भए पछि न रेस्पोन्सको कुरा आउछ । संक्रमणको वास्तविक अवस्था थाह नपाइ अन्तहीन रुपमा लम्बिने लकडाउनले निकास दिदैन ।

सबै स्थानीय तहहरुमा जोखिमको सर्वे गरौं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पसले, सवारी चालक÷सहचालक, फ्रन्टलाइनमा काम गर्ने जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी र सर्वसाधरणको जोखिमको सर्वे गरौ र जोखिमको प्राथमिकता स्तर तयार गरि नमुना छानौं ।यसरि छानिएका नमुनाको कन्ट्रयाक ट्रेसिङ समेतका आधारमा पिसिआर परिक्षण गरौं ।

ग्रीन जोनहरुको पहिचान र गतिविधि खुलाउदै लैजाने

जोखिम सर्वेक्षणबाट छानिएकाहरुको परिक्षण पश्चात प्राप्त नतिजाका आधारमा संक्रमित क्षेत्रलाई सिल गरेर सुरक्षित क्षेत्रहरुलाई छुट्याउनु पर्दछ ।संक्रमण भएको क्षेत्रमा लकडाउन कडा पार्नका लागि आवश्यक्ताका आधारमा कर्पmयु समेत लगाउनु पर्ने पनि हुन सक्दछ । सबै ठाउँमा सोलोडोलो रुपमा लकडाउन आवश्यक छैन ।यसरि गरिएका परिक्षणबाट सवैको नतिजा नेगेटिभ आएका स्थानीय तहलाई ग्रीन जोनको रुपमा पहिचान गरि त्यहाको गतिविधिलाई खुला गरौं । संक्रमणको अवस्था सुनिश्चित गरि विस्तारै छिमेकी स्थानीय तह, जिल्ला, प्रदेसमा खुकुलो पार्दै लैजाऔं । उत्पादनमुलक गतिविधि अगाडी बढाऔं । विकास निर्माण लगाएत अन्य गतिविधिहरु पनि खुलाउदै लगौं ।

चैत्र देखि जेठको अवधि विकास निर्माणका पीक आवर हुन । यो अवधि हामीले गुजार्नु भनेको ३ महिना मात्र हैन पुरा पुर १ वर्ष वित्नु हो । यो त गुज्रिसकेको छ । यद्यपी हामीले वस्तुगत योजना बनाएर अघि बढेनौं भने थप संकटको भुमरीमा फस्ने छौं । विकास निर्माण र उत्पादन पश्चात अन्य क्षेत्रहरु पनि विस्तारै खुकुलो गर्दै लैजानु पर्छ ।

स्कुल कलेज, सिनेमा हल, फिटनेस सेन्टर, खेलकुद, क्लव तथा मनोरञ्जनका क्षेत्रहरु तत्कालै खोल्न सम्भव छैन । खास गरि बिद्यालय शिक्षाको हाम्रो अहिलेकोमोडालिटी माथि नै विमर्श गरौं । भर्चुअल डिजिटल सिकाइ प्रणालीलाई स्थापित गर्न हाम्रा आइटीका विद्यार्थी, बिज्ञ तथा नेपाल टेलिकम लगाएतका ठुला इन्टरनेट प्रदायक संस्थाहरुले योगदान पुर्‍याऔं । संकटको वेलामा राज्यका सबै संरचानाहरुको उतिकै दायित्व हुन्छ । इन्टरनेटको पहुँच र सुविधा नभएका स्थानहरुको लागि स्वअध्ययन छापा सामग्रीको व्यवस्थापन गरौ ।

यो संकट पनि टरेर जानेछ एक दिन । तर पर्याप्त तयारीविना लकडाउन बढाउँदै मात्र गएमा यसले समाजलाई अर्को जोखिम तिर धकेल्छ । हामी विस्तारै स्वाभाविक दैनिक क्रियाकलापमा नफर्कने हो भने यसले पार्ने मनोवैज्ञानिक असर झन ठुलो हुन सक्छ । यस तर्फ बेलैमा सोचौं ।

लकडाउनको विकल्पः भौतिक दुरी

लकडाउन कायम भएर पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा दुरी कायम राख्न सकिएन भने यसले काम गर्दैन । मूख्य कुरा लकडाउन भए पनि नभए पनि एउटा व्यक्तिले अर्को व्यक्तिसंग कायम गर्ने दुरी नै महत्वपूर्ण हो । टोल, छरछिमेक मात्र हैन एउटै परिवार भित्र पनि दुरी कायम राख्ने कुरालाई स्थापित गरौं । मानिसहरुलाई यसमा सहमत गराऔं । मानिसहरु बिचको शारीरिक दुरी कायम राख्न सकियो भने लकडाउन खुल्ला हुदा पनि समस्या हुदैन । तर मानिसहरु बीचको शारीरिक दुरी कायम राख्न नसके लकडाउनको पनि केही अर्थ छैन ।

संक्रमित व्यक्तिका थुक तथा हाच्छिउबाट निस्कने ड्रपलेटबाट अर्को व्यक्तिलाई जोगाउनका लागि मास्क, स्यानिटाइजर, सावुन पानीको उचित प्रयोगमा ख्याल पुरयाउन सके संक्रमणको दर विस्तारै कम हुदै जाने भन्ने विज्ञका सल्लाह मानौं । भाइरसको त्रासमा हाम्रा सबै नियमित गतिविधिलाई अलपत्र नपारौं ।

त्यसैले संकटसँग भागेर होइन जोगिएर अघि बढौं । अवस्था हेरी लकडाउनलाई खुकुलो बनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment