Comments Add Comment

बालबच्चालाई पनि ‘टेन्सन ?’

वैशालु जीवनको उतारचढाव झेलिरहेका युवाहरु भन्छन्, टेन्सन छ । व्यवहारिक जीवन चलाइरहेका वयस्कहरु भन्छन्, टेन्सन छ । रोग र शोकले थलिएका प्रौडहरु भन्छन्, टेन्सन छ । तर, अब बालबच्चाको मुखबाट पनि यही वाक्य निस्कन थालेको छ, ‘टेन्सन छ ।’

तपाईं हामीलाई लाग्छ, बच्चालाई के को टेन्सन ? न प्रेम–विछोडको चक्करमा परेका छन्, न घर–धन्दा चलाउनुपरेको छ, न रोगले दुःख दिएको छ ।

तर, खाने, खेल्ने र पढ्ने उमेरका बालबच्चाहरु अहिले तनावग्रस्त बन्दैछन् । उनीहरु पनि भन्न सक्छन्, मलाई टेन्सन भयो । किन त ?

विभिन्न अध्ययनले के देखाएको छ भने कलिलो उमेरदेखि नै बच्चाले तनाव अनुभव गर्न थाल्छन् । सानोतिनो शारीरिक कुराले होस् वा कुनै असजिलोको कारण, उनीहरु तनावमा हुन्छन् । तर, आफ्नो तनावलाई न व्यवस्थापन गर्न सक्छन्, न व्यक्त गर्न नै । उनीहरु रोएको, कराएको, चिच्याएको, झगडा गरेको हामीलाई सामान्य लाग्छ । त्यसैले उनीहरु तनावमा छन भन्ने कुराको हामीले कतिपनि भेउ पाउँदैनौं । तर, उनीहरु पनि तनावग्रस्त अवस्थामा हुनसक्छन् ।

बालबच्चालाई के कुराले तनाव गराउँछ त ?

खासमा उनीहरुलाई स–सना कुराले तनाव हुन्छ । खेलौना नपाएको कारणले, आमाबुवाले भने बमोजिम गर्नु परेकाले, पढाईको कुराले, होमवर्कको कुराले, शिक्षकको डरले । त्यसैगरी आमाबुवाको झगडाले, कसैले आफुप्रति गरेको अपहेलनाले, साथीभाईको दूरव्र्यवहारले ।

यसरी सामान्य कारणले हुने तनावलाई उनीहरुले सहज रुपमा व्यवस्थापन गर्न सक्दैनन् । यसको नतिजा, एन्जाइटी, डिप्रेसन जस्तो अवस्थामा पुग्छ ।

बालबच्चालाई तनाव भएको कुरा कसरी थाहा पाउने त ? उनीहरुको तनाव व्यवस्थापन कसरी गर्ने ?

कसरी थाहा पाउने ?

उनीहरु तनावग्रस्त छन् भने केही परिवर्तन देखिन्छ । जस्तो कि, रिसाउने, चिच्याउने, एक्लै बस्ने, आत्तिने, डराउने, बिरामी परिरहने, बोल्न नरुचाउने आदि । यस किसिमको असामान्य लक्षण देखिएमा उनलाई कुनै न कुनै मानसिक तनाव पो छ कि भनेर अभिभावकले ख्याल गर्नुपर्ने हुन्छ ।

तनाव व्यवस्थापन गर्न सकिएला ?

बच्चालाई अर्ती, उपदेश दिएर उनीहरुको तनावको स्तर घटाउन सकिदैन वा तनावरहित बनाउन सकिदैन । अभिभावकले बालबच्चासँग भलाकुसारी गर्ने, हेलमेल गर्ने गर्नुपर्छ । उनीहरुसँग जति धेरै एकाकार हुन सक्यो, उनीहरुको भावनालाई उत्तिनै नजिकबाट बुझ्न सकिन्छ । उनीहरु के चाहन्छन्, के कुरामा दुःखी हुन्छन्, के कुराले खुसी हुन्छन् । त्यही अनुसार अभिभावकले सन्तुलित व्यवहार गर्नुपर्छ ।

बालबच्चासँग संवाद गर्ने, खेल्ने वा जतिसक्दो घुलमिल हुने अभ्यास गर्नुपर्छ ।

अक्सर अभिभावकले बालबच्चाको कुरालाई गंभिरतापूर्वक लिदैनन् । उनीहरुको कुरा सुन्दैनन् । बच्चाले के भन्दैछ वा भन्न खोजिरहेको छ, गंभिरतापूर्वक सुन्नुपर्छ ।

आफ्नो कुरा सुनाउने, कथा भन्ने, खेल्ने जस्ता गतिविधिबाट पनि बच्चाको तनाव व्यवस्थापन गर्न सकिन्छ । साथै बच्चालाई एक्लै छाड्ने भन्दा आफुसँगै कुनै न कुनै काममा खटाउने, बातचित गर्ने गर्नुपर्छ ।

उनीहरुलाई डर देखाउने, दबाव दिने, सजाय दिने जस्ता गतिविधि उचित हुँदैन । बरु राम्रो कुरामा उत्साहित गर्ने, प्रेरणा दिने जस्ता व्यवहार आवश्यक हुन्छ ।

उनीहरुलाई सानैदेखि हुर्काउने क्रममा सन्तुलित व्यवहारको आवश्यक्ता हुन्छ । मागेको र चाहेको हरेक कुरा पुरा हुँदैन भन्ने कुरा व्यवहारिक रुपमै बुझाउन सक्नुपर्छ । अभाव, दुःख, समस्याको सामना गर्न सिकाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment