Comments Add Comment

गर्भवती र क्वारेन्टिनमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण

२१ जेठ, विराटनगर । बुधबार तेह्रथुममा संक्रमण पुष्टि भएका दुईमध्ये एक जना सशत्र प्रहरी जवान र एक गर्भवती रहेको खुलेको छ ।

तेह्रथुमको आठराई गाउँपालिकामा पर्ने संक्रान्ति बजारमा रहेको सशत्र प्रहरी बेसक्याम्पमा कार्यरत २९ वर्षका सशस्त्र प्रहरी जवान र आठराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेकी २० वर्षकी गर्भवतीमा कोरोना संक्रमण देखिएको हो ।

भारतबाट श्रीमानसहित आएकी महिला ६ महिनाकी गर्भवती छन् । संक्रमण पुष्टि भएका सशत्र प्रहरी जवान क्वारेन्टिन सुरक्षामा खटिएका थिए ।

संक्रमण पुष्टि भएकी गर्भवतीका श्रीमान र अन्य १६ जना भारतबाट सँगै आएका गाउँपालिकाका स्वास्थ्य संयोजक शुशिल इङ्नामले जानकारी दिए ।

१५ जेठयता क्वारेन्टिनमा बसेकी महिलासहित भारतबाट आएका अन्य १६ जना र सुरक्षामा खटिएका २ जना सुरक्षाकर्मीमा कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

तीमध्ये २ जनाबाहेक अरुमा कोरोना संक्रमण नभएको पाइएको छ ।

‘संक्रमितमहिलासहित १७ जना आउनुभएको थियो’ उनले भने ‘संक्रमित महिला ६ महिनाकी गर्भवती हुनुहुन्छ, उहाँको अवस्था सामान्य छ ।’

मोरङ र सुनसरीका संक्रमित भारतबाट आएका

मोरङ र सुनसरीमा बुधबार कोरोना संक्रमण पुष्टि भएका ९ जना भारतबाट आएकाहरु हुन ।

बुधबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा २ जनामा संक्रमण देखिएको थियो ।

संक्रमण पुष्टि भएकाहरु भारतबाट १४ जेठमा आइपुगेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए । योसँगै मोरङमा मात्र कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

सुनसरीमा संक्रमण पुष्टि भएका ७ जना युवक पनि भारतको विभिन्न स्थानबाट आएको भोक्राह नरसिंह गाउँपालिकाले जनाएको छ । संक्रमण पुष्टि भएकाहरु १० दिन अघि आएर क्वारेन्टिइनमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment