Comments Add Comment

दूधको खपत आधा घट्यो, २० हजार कृषक–व्यवसायी संकटमा

२२ जेठ, काठमाडौं । चितवन केशरबागका भागीरथ तिमल्सेनाको गोठमा २० वटा गाई छन् । उनले सबै गाईबाट गरेर एक दिनमा जम्मा १२० लिटर दूध दुहुन्छन् । लामो समयदेखि पशुपालनमा लागेका उनले एउटै गाईलाई एक लाख ३० हजार रुपैयाँसम्म तिरेर किनेका हुन् ।

लकडाउनअघिसम्म भागीरथले प्रतिलिटर ६० रुपैयाँमा दैनिक सात हजार दुई सय रुपैयाँको दूध नजिकैको डेरीमा बिक्री गर्थे । तर कोरोनाले लकडाउन सुरु भएपछि उनको व्यवसाय चौपट भएको छ । पहिले हप्तामा सातै दिन बिक्री गर्ने दूध अहिले दुई दिन मात्रै बिक्री हुने गरेको उनले बताए ।

‘दिनमै १२० लिटर दूध के गर्ने ? गाईबाट दुहुन्छु, गाईलाई नै खुवाउँछु, बचेको दूध गोबरग्यासको प्लान्टमा पनि खन्याउने गरेको छु,’ भागीरथले सुस्केरा हाल्दै अनलाइनखबरसँग भने ।

गाईपालन गरेर ३३ वर्षदेखि दूध बिक्री गर्दै आएको उनले यस्तो संकट जीवनमा कहिल्यै भोगेका थिएनन् । एकातिर दूध बिकेको छैन, अर्कोतर्फ दानाको मूल्य अस्वभाविक रुपमा बढाइँदा उन्नत जातका गाईलाई पनि घाँस खुवाएर पाल्नु परेको छ । यसले गाई बिग्रिन थालेको तिमल्सेनाले बताए ।

दूध बिक्रीको आम्दानीबाट उनले गाईको पालन पोषणदेखि बैङ्कबाट लिएको ऋणको किस्ता तिर्नुपर्छ उनले । दूध नै नबिकेपछि अब ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन्, उनी ।
‘बैङ्कको साँवा–ब्याज जस्ताको त्यस्तै छ, अब के गर्ने ?’ उनले प्रतिप्रश्न गरे ।

सो क्षेत्रका धेरै कृषकको अवस्था आफ्नै जस्तो रहेको तिमल्सेना बताउँछन् । धान्न सकुन्जेल जीवन धान्ने र नसकेको दिन गाईको दाम्लो फुकाएर कृषक पलायन हुने उनले बताए ।
बजार आधा खुम्चियो

लकडाउनका कारण दूध र यसका परिकारको बजार ५० प्रतिशतले खुम्चिएको राष्ट्रिय दूग्ध विकास बोर्डले जनाएको छ । पार्टी प्यालेस, स्कुल, होटल, रेस्टुरेन्ट, क्यान्टिनजस्ता धेरै परिमाणमा दूध खपत हुने क्षेत्र लकडाउनले बन्द हुँदा बजार नपाइएको बोर्डका उपकार्यकारी प्रमुख बाबुकाजी पन्तले अनलाइनखबरलाई बताए ।

गत वर्षको उत्पादन हेर्दा यो मौसममा औसत २२ लाख १२ हजार पाँच सय मेट्रिक टन दूध उत्पादन हुने र औपचारिक बाटोमार्फत् त्यसको करिब ५० प्रतिशत बजारमा खपत हुने गरेको थियो । तर यसपटक बजारमा आधाभन्दा कम (साढे १० लाख मेट्रिक टन) मात्रै दूध बजारमा खपत भइरहेको पन्तले बताए ।

‘सिजनअनुसार साढे १० लाख मेट्रिक टन दूध बजारमा आउनुपथ्र्यो, तर साढे पाँच लाख मेट्रिक टन दूध पनि बजारमा खपत भएको छैन,’ उपकार्यकारी पन्तले भने । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान तथा निजी डेरीहरू सबैकोे खपत केलाउँदा औसत ५० प्रतिशतमा व्यापार रहेको उनले सुनाए ।

६ अर्बको धुलो दूध र बटर डम्प

लकडाउनसँगै बजारमा माग घटेपछि निजी क्षेत्र र सरकारी संस्थानले धुलो दूध र बटर बनाए । तर चलेको प्रशोधन उद्योगमा दूध र बटरको भण्डार भरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । सरकारी स्वामित्वको डीडीसीमा मात्रै धुलो दूध आठ सय ५० टन र बटर छ सय २५ टन मौज्दात छ ।

निजी र सरकारी स्वमित्वका उद्योगहरूमा गरेर झण्डै ६ अर्ब रुपैयाँ बराबरको बटर र दूध डम्प भएको जानकारी आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

किसानलाई पैसा दिन सकिएन

सामान्यतया महिनाको एकदेखि १५ गतेसम्म किसानले बिक्री गरेको दूधको पैसा सोही महिनाको २५ गतेसम्म डेरीहरूले भुक्तानी गर्नुपर्ने नियम थियो ।

तर बजारमा आएका उत्पादन बिक्री नभएका र प्रशोधन गरिएका सामान डम्प भएर बस्दा धेरै किसानले दुई महिनादेखि दूधको पैसा नपाएको बोर्डले जनाएको छ । ‘उत्पादित सामग्री बिकेको छैन भन्दा मान्छेले त कुरा बुझ्ला तर किसानलाई पैसा दिन नसक्दा गाई भैँसीलाई दाना खुवाउन नसकेर किसान ठूलो मारमा परेका छन्,’ बोर्डका उपकार्यकारी पन्तले भने । डीडीसी तथा निजी क्षेत्रका धेरै डेरीले दूधको रकम किसानलाई दिन नसकेको उनले बताए ।

कृषक र व्यवसायी दुवै मारमा

लकडाउनका कारण दुग्ध व्यवसायी र कृषक ठूलो मारमा परेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । लकडाउनले ३० अर्बभन्दा धेरै लगानी रहेको व्यवसाय, यस क्षेत्रमा काम गर्ने २० हजारभन्दा धेरै व्यक्तिहरू गम्भीर समस्यामा परेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

‘बैङ्क ब्याज, श्रमिकको तलब र भाडा तथा करको दायित्वले व्यवसायीहरू थलिएका छन्, कृषकलाई समेत दूधको पैसा तिर्न सकिएको छैन,’ अध्यक्ष सापकोटाले भने । लकडाउनले धर्मराएको व्यवसायका कारण पाँच लाख कृषक र तिनको परिवार, दुग्ध संकलक, प्रशोधन र बिक्रीमा सहभागीहरूको अवस्था दयनीय भएको उनले बताए ।

पुरानो अनुमतिमा आयात जारी

स्वदेशी उत्पादनले बजार नपाएर व्यवसायी र नेपाली कृषक रोइरहेका बेला भारतलगायतका मुलुकबाट दूधजन्य पदार्थ आयात भने निरन्तर छ । लकडाउनको अवधिमा पनि धुलो दूध र बटर आयात निरन्तर रहेको र पछिल्लो दुई महिना अवधिमा मात्रै ११ हजार तीन सय २७ मेट्रिकटन दूध तथा दूधजन्य पदार्थ नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयात अनुमति रोक्का गरे पनि पुरानो अनुमतिको आधारमा दुग्ध पदार्थ भित्रिएको भन्सार विभागले जनाएको छ । खाद्य पदार्थ आयातका लागि अनुमति जारी गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार लकडाउनलगत्तैदेखि दूधजन्य पदार्थको आयात अनुमति बन्द गरिएको छ ।

तर आयात अनुमतिपत्रको म्याद ६ महिनाको हुने र सोही अवधिको अनुमतिको आधारमा आयात भएको हुन सक्ने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । ‘आयात अनुमति लकडाउन लगत्तैदेखि रोक्का छ, ६ महिना म्याद रहेको अनुमति पत्रको आधारमा आयात भएको हुन सक्छ,’ महर्जनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment