Comments Add Comment

मणि लोहनीको कविताको संग्रह : मृत्युको अघिल्तिर

कविता रहस्यमय, प्रतीकमय, लाक्षणिक र खँदिलो हुनुपर्छ भन्नेहरू पनि छन् । कविताको विषयवस्तु दार्शनिक गाम्भीर्यले भरिएकोे ऐतिहासिक र नीतिसम्मत हुनुपर्छ भन्नेहरू पनि छन् । कविताले सर्वसाधारण जनताको समानधर्मितालाई सम्बोधन गर्दै समाजवादी स्वर उराल्नुपर्छ भन्नेहरू पनि छन् ।

कवितासम्बन्धी हरेक व्यक्तिका आ-आफ्नै धारणा हुन सक्छन् । तर, कविताले मानिसको यथार्थ जीवनलाई आत्मसात् गरेको हुनुपर्छ । त्यही भएर कवितालाई मान्छेका दुःख, पीडा, सुख र आनन्दलाई उद्घाटित गर्ने सारथी भनिएको हो ।

‘मलामी साँझ’ कवितासङ्ग्रहबाट नेपाली कविता साहित्यमा उदाएका मणि लोहनीले ‘परास्त प्रेम’ र ‘निर्वस्त्र मन’ शीर्षकका दुई वटा कथासङ्ग्रह पनि प्रकाशित गरेका छन् । उत्तरवर्ती नेपाली साहित्यका प्रतिभा मणि लोहनीको ‘मृत्युको अघिल्तिर’दोस्रोकविताकृति हो ।

यतिबेला कवितामा होस् या आख्यानमा होस् आमपाठकले चाहेको कुरा चिन्तन हो, भावको गाम्भीर्य हो तर चिन्ता होइन । एउटा कृतिभित्र आएको दृष्टि नितान्त उही लेखकको मात्रै भयो भने त्यो कृति सामाजिक हुन सक्दैन । कविताकै सन्दर्भमा पनि व्यक्तिको निजी अनुभूतिबाट उम्लेको आवेग, उसको प्रगाढ चिन्तनबाट उब्जेको निर्क्योल र कविको कठोर तपस्याग्निमा खारिएको कविताको निनाद हरेक मान्छेको साझा अभिव्यक्ति बन्न सक्नुपर्दछ र त्यस्तो कविता सधैंका लागि र सबैका लागि हुन सक्दछ ।

एकातिर त्यस्तो कविता त्यो रचनाकारका लागि अनन्त आनन्दको आधारभूमि बन्न पुग्छ भने अर्कातिर पाठकका लागि प्रेरणा, प्रोत्साहन र संवेदनाको पुञ्ज बनिदिन्छ । तर, यतिबेला कवितामा चिन्तन होइन व्यक्तिगत चिन्ता लेख्ने प्रवृत्तिले गर्दा पाठकहरूमा कविताप्रति वितृष्णा पैदा भएको छ ।

कवि मणि लाहनीको यो कवितासङ्ग्रह ‘मृत्युको अघिल्तिर’भित्रदेशको नाममा, प्रेमको लय र जीवनको उज्यालोमा शीर्षकका तीन प्रवाहमा ३२ वटा कविताहरू राखिएको छ । पहिलो प्रवाह देशको नाममा कवि लोहनीले आठ वटा कवितामा इमानदार अभिव्यक्ति प्रस्तुत गरेका छन् । सघन बग्ने खोलाजस्ता यी कवितामा उनी नाङ्गा रुखका रूपमा प्रस्तुत भएका छैनन् । उनका कविताको केन्द्र एकता, स्वतन्त्रता र उज्यालोले दिने सत्वगुणको बाटो हो ।

यहाँ के देखिन्छ भने कविले चाहेको सत्वगुणले उनको निजी चाहना मात्रै नसमेटेर हरेक मान्छेको चाहनालाई प्रतिनिधित्व गरेको छ । साहित्यमा हुने यो खालको गुणलाई फ्रान्सेली चिन्तक गोल्डमानले विश्वदृष्टिका नामले प्रस्ट्याउने काम गरेका छन् ।

सङ्ग्रहभित्रको पहिलो कविता ‘मानचित्रमा उभिएर’मा कविले सम्पूर्ण नेपालीहरूको समानधर्मितालाई यसरी बोलेका छन्-
उभिँदा छुट्टाछुट्टै उभिएजस्तो देखिए पनि
बाँच्दा एक्लाएक्लै बाँचेजस्तो देखिए पनि
हाम्रा नानीहरूले खेल्ने आँगन एउटै छ
एउटै छ उनीहरूले पढ्ने पाठशाला
यही हो चर्च, जहाँ हामीले सँगै मैनबत्ती बालेका छौं
मस्जिद यही हो, जहाँ हामीले प्रार्थना गरेका छौं ।
(मानचित्रमा उभिएर,पृ.१८)

यो कवितामा पोखिएको आवाजमा सामूहिकता छ । कवि आˆना कवितालाई माध्यम बनाएर वर्तमान समयका मान्छेको सामूहिक आवाजलाई बोल्न चाहन्छन् । हामी मान्छेसँग भएका अकर्मन्यता, अहङ्कार, ईष्र्या, क्रोध, राग आदि जस्ता रजो र तमोयुक्त गुणलाई त्यागेर सत्वगुणको बाटो रोज्न सकेमा मान्छेमा विभेद र असमानताको खाडल नै बन्ने थिएन । जाति, धर्म, नागरिकता र राज्यका विषयमा मान्छेहरू हिंसात्मक क्रियाकलापमा सामेल नै हुनु पर्ने थिएन भन्ने विश्वदृष्टि यो कवितामा रहेको देखिन्छ ।

कविले कवितामा आक्रोस व्यक्त गर्न कोमलताको बाटो राजेका छन् । देशलाई भासमा डुबाउन उन्मुख सरकार, नेता र प्रशाासनप्रति ध्वन्यात्मक शैलीमा आक्रोस पोख्न सक्नु कविको चेत प्रशंसा योग्य छ ।

कवि लोहनी उज्यालाको पक्षमा रहेका छन् । अँध्यारोका विरुद्घमा शीर्षक दिएर लेखिएका उनका दुईवटा कविताले पनि हामीले भोगिरहेको वर्तमान च्यातिइरहनुको कारणलाई प्रतिबिम्बित गर्न खोजेका छन् ।

कवि लोहनीले ‘परिचयको खोजी’, ‘अखबार र नानीहरू’,’सौन्दर्यको आकार’ र ‘सुख्खा पहिरोमुन्तिर’ जस्ता कविताहरूमा प्रश्नको पहाड उठाएर सौन्दर्यबोधमा आशावादको गहिरो रङ मुछेको देखिन्छ ।

‘गणतन्त्र नेपाल’ शीर्षकको कविताले वर्तमान समयको राजनीतिक परिवेशको यथार्थ चित्रणलाई उनेको छ । नेपालमा गणतन्त्र आएपछि पनि कुनै परिवर्तन नभएको तिक्ततालाई कवि यसरी पोख्छन्-
मानिसहरू अझै उस्तै छन् जस्तो पहिला थिए
हस्तरेखाजस्तो आफैँमा टाँसिएको गरिबी
कुवाझैँ खोपिल्टा परेका आँखामा हुर्किएको सपना
प्रत्येक पल मरिरहेका तिनै सपनाहरूसँग
शोकगीत गाइरहेको छापामार शैलीको आवेश
(गणतन्त्र नेपाल,पृ.२६)

दोस्रो प्रवाहमा प्रेमको लय शीर्षक अन्तर्गत १३ वटा कविताहरू राखिएका छन् ।

कवि लोहनीका कविताको विशेषता भनेको चाउचाउ खाएजस्तो नभएर तलाउमा ढुङ्गा हानेपछि पानीले बनाउने रहजस्तो हो । उनको आˆनै कविताको शैली छ । कुनै कविका कविताको छायासँग हातेमालो नगरी आˆनै परिचयको गाउँ खोज्नु कवि लोहनीको विशेषता हो । अझ भनौँ कवि लोहनी कवितामा बौद्घकि क्षमताको आली लगाउन चाहन्छन् । कवि लेख्छन्-
भेटिनु र छुटिनु
एउटा प्रक्रिया रहेछ
जसरी पलाउँछन् पातहरू रुखबाट (जीवनको रीत,पृ.४३)

सबै सम्झना बने ।
जब रोक्यौ तिमीले यात्रा
भुरर्र उडेर गयो गीत गाइरहेको चरा (छाडेर जानेलाई,पृ.४५)

उमेरको यो मझधारमा
तिमीसँग हिँडिरहँदा मलाई लाग्यो
तिमी सम्बन्धको पाठशाला हौ । (सम्बन्धको पाठशाला,पृ.५३)

ठमेलको उज्यालोमा
ओझेल परेको छ जून । (सम्झनामा साँझ,पृ.७०)

आˆनो बौद्घकि रोमान्सेली शैलीमा यिनी कविताभरि रोमान्सगत तरलता पस्किन जान्दछन् । यिनले लेखेका मायाप्रीतिका कवितामा रुञ्चे नाटक (मेलोड्रामा) नभएर दर्शनको गहिराइ उच्च रहेको पाइन्छ ।समाज र संस्कृतिलाई केन्द्रमा राख्दै मायाप्रीतिको बौद्घकि लेपले कवितालाई सजाउन सक्नु कविको शक्तिको पाटो हो । आफ्नै शैलीको शिर पैताला बनाएका कवि लोहनीका निजी अनुभूतिमा खारिएका कविताहरूले सामूहिकताको आवाज बोल्न सक्छन् ।

तेस्रो प्रवाहमा जीवनको उज्यालो शीर्षक अन्तर्गत ११ वटा कविताहरू राखिएका छन् । कल्पनाको उडानमा निस्किन रुचाउने कविले अतीतका अँध्यारा र उज्याला पक्षहरूलाई टिप्न खोजेका छन् । गीतको छनक आउने उनका कवितामा कतै जीवनको नाम लेखेको दर्शनढुङ्गाको याद भेटिन्छ त कतै अस्ताउन लागेको घामजस्तो आˆनै उमेरको उपस्थिति भटिन्छ । प्रकृति, इतिहास, संस्कृति, मिथक आदि कुराहरूलाई प्रस्तुत गर्दै कविलेईश्वर र मान्छेको सम्बन्धको पाटोलाई देखाएका छन् । उनका कवितामापूर्वीय दर्शनको प्रभाव रहेको देखिन्छ । उज्यालो खोज्ने क्रममा भेटिने मृत्युलाई दार्शनिक आँखाले हेर्न सक्ने कविको मृत्युचेतलाई उनको शक्तिको पाटो मान्न सकिन्छ । कविलाई थाहा छ मानिसले जन्मसँगै तृष्णा, भोग, ममता, राग लिएर आएको हुन्छ र त्यस्ता किसिमका राग, तृष्णा, भोगबाट मानिस मुक्त हुन सक्दैन । वर्तमानसँग मानिस असन्तुष्ट रहेको हुन्छ । यस्तै असन्तुष्टि हुँदाहुँदै पनि मृत्युलाई स्वीकार गर्नुपर्ने स्वीकारोक्ति कवि यसरी प्रस्तुत गर्छन्-

लाग्छ कविता लेखेकै कारण मारिने छु म
प्रेम गरेकै कारण रोकिने छ मुटुको चाल
सोच्नु काफी छ
यस्तै केही सोच्दासोच्दै एक दिन मारिने छु म
जसरी मारिन्छन् मानिसहरू । (मृत्युको अघिल्तिर,पृ.७५)

जो आफ्ना थिए ती त
थाहै भएन कुन बेला पराई भइसकेछन्
यतिखेर यो अस्ताउँदै गरेको सूर्यसँग
कामना गरिरहेछु- इच्छामृत्युको । (इच्छामृत्यु,पृ.७८)

कविको कवितात्मक सोच र सिर्जनामा देश, प्रेम र जीवनको उज्यालोले सर्वोपरि ठाउँ ओगटेको छ ।

लोहनीका कवितामा गाली र नाराभन्दा पनि कविताकै निनाद उच्च छ । यो उनको कवितालेखनको शक्ति हो । भाव र विषयका दृष्टिले कविता रोचक र गहिरा छन् तर कविले शब्द र भावको पुनारावृत्ति धेरै ठाउँमा गरेका छन् । कविता थोरैमा धेरै बुझिने विधा हो ।

‘मृत्युको अघिल्तिर’ कविता सङ्ग्रहभित्रका सम्पूर्ण कविताहरू वर्तमान समयका बिम्ब हुन् । वर्तमान समयको समानधर्मिता बोकेको मणि लोहनीको यो सङ्ग्रह पठनीय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment