Comments Add Comment

समाजले स्वीकारून् भनेर आरडीटी नेगेटिभलाई प्रमाणपत्र !

२५ जेठ, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले क्वारेन्टिनमा बसेकाहरूलाई आरडीटी नेगेटिभ आएपछि निरोगिताको प्रमाणपत्र दिएर घर फर्काउने नौलो अभ्यास थालेको छ । नगरपालिकाको यस्तो कार्यलाई लिएर सामाजिक सञ्जालमा निकै टीकाटिप्पणी भइरहेका छन् ।

सामान्य कागजमा प्रिन्ट गरिएको प्रमाणपत्रमा चार जनाको हस्ताक्षर छ । प्रयोगशालाका प्राविधिक, वडाध्यक्ष, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेका छन् । प्रमाणपत्रमा सम्बन्धित व्यक्तिको आरडीटी परीक्षणको नतिजा नेगेटिभ देखिएको भन्दै बधाई ज्ञापन समेत गरिएको छ ।

सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल स्थानीय वस्तुस्थितिका कारण यसरी प्रमाणपत्र दिनुपरेको बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भारतबाट आउनेहरूलाई स्थानीयवासीले सहजरुपमा स्वीकार्न सकून् भनेर यो प्रयोग गरिएको बताए ।

उनले भने, ‘अरूलाई टिप्पणी गर्न सजिलो हुन्छ । तर यहाँको वास्तविकता आफ्नै छ । भारतबाट फर्केको भन्नेबित्तिकै गाउँ–समाजले सहजै स्वीकार्दैनन् । गाउँवासीहरूले छिःछि र दूरदूर गर्छन् । त्यही अवस्था नआओस् भनेर प्रमाणपत्र दिने व्यवस्था गरेका हौं । हामीले असल मनसायले गरेको कामलाई विवादित बनाइनु आवश्यक थिएन ।’

आरडीटी परीक्षणको डाक्टरी रिपोर्ट गाउँका मानिसहरूले नबुझ्ने मेयर भुसाल बताउँछन् । प्रमाणपत्रमा सबैले बुझ्नेगरी सरल भाषामा लेखिएकाले मानिसहरू आश्वस्त हुन सक्ने उनको विश्वास छ । उनले यो कुनै खर्चिलो काम पनि नभएको बताए ।

‘सादा कागजमा अफिसभित्रै प्रिन्ट गरेर दिएका हौं, यसमा धेरै पैसा खर्च गरिएको छैन,’ उनले भने ।

 

तर आरडीटी परीक्षण त्यति विश्वासिलो मानिँदैन । नेपालमा आरडीटी नेगेटिभ आएका व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । त्यसैले आरडीटीमै भर परेर नगरपालिकाले निरोगिताको प्रमाणपत्र दिन मिल्छ त ? भन्ने प्रश्नमा मेयर भुसाल भन्छन्, ‘हाम्रो देशको हालत के छ भन्ने हामी सबैलाई थाहा नै छ । हामीले पीसीआर परीक्षणका लागि बुटवल पुर्‍याउनुपर्छ । त्यहाँ अहिले ६ हजार नमूनाहरू थुप्रिएका छन् । एक दिनमा तीन सय वटा नमुना परीक्षण हुन्छ । परीक्षणको पालो कहिले आउँछ टुङ्गो हुँदैन । त्यसैले आरडीटीमा भरपर्नु हाम्रो बाध्यता हो ।’

नगरपालिकाले अहिले १८ वटा क्वारेन्टाइनस्थल बनाएर छ सय छ जनालाई राखिरहेको छ । आरडीटीमा नेगेटिभ आएकाहरूलाई प्रमाणपत्र दिएर घर पठाइन्छ भने पोजिटिभ आएकाहरूको चाहिँ पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिन्छ । नगरपालिकाले आफ्नै स्रोतबाट १–१ हजार पीसीआर र आरडीटी किट्स खरिद गरेको थियो । नगरपालिकाभित्र अहिलेसम्म नौ जना कोरोना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment