
१३ असोज, काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका वडानम्बर ७ नेटाखर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माले जानकारी दिए ।
उनीहरुको सन्धिखर्क अस्पतालमा उपचारको क्रममा मृत्यु भएको शर्माले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई बुटवल रिफर गरिएको छ । अन्यको उपचार अर्खाखाँची जिल्ला अस्पताल सन्धिखर्कमै भइरहेको छ ।
‘जिपमा ८ जना बालबालिकासहित २६ जना सवार थिए । तीमध्ये चार जनालाई चोट लागेको देखिन्छ । ती चारमध्ये दुई जनालाई बुटवल रिफर गरिएको हो,’ इन्सपेक्टर शर्माले भने ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ पुर्कोटदह बस्ने ४२ वर्षीय चेतन कुँवरले चलाएको जिप सन्धिखर्क–ढोरपाटन सडकखण्डमा अनियन्त्रित भई २७ मिटर तल खसेको छ ।
प्रतिक्रिया 4