+
+

शंकरनगर स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन सञ्चालन 

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १६:३९

२६ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २० बेडकाे आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्वतयारीअन्तर्गत शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

स्वास्थ्य चौकीबाट दिइँदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा स्थानान्तरण गरी २० बेडको आइसोलेसन सेन्टर तयार गरिएको हो ।

बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित पुष्टि भए पनि लक्षण नदेखिएकाहरूलाई आइसोलेसन सेन्टरमा राख्न थालिएको छ। यहाँ सोमबारसम्म नगरपालिकाकै तीन जना संक्रमितसहित १४ जनालाई राखिएको आइसोलेसन सेन्टर इञ्चार्ज केशव भट्टराईले बताए ।

आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताए । आइसोलेसन सेन्टरमा एक जना चिकित्सक, एक जना नर्ससहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी खटिएका उनले बताए ।

सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका संक्रमित तथा सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिनेछ ।

सेन्टरमा २४ सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरिएको चिकित्सक संजोग पाठकले बताए । तिलोत्तमा नगरपालिकाले आइसोलेसनको लागि आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ ।

कोरोना महामारीको अन्त्य भइसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरेर लैजाने गरी पूर्वाधार निर्माण गरिएको नगर प्रमुख घिमिरेले बताए ।

तिलोत्तमाका तीनजनामा कोरोना

तिलोत्तमा नगरपालिकामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तिलोत्तमा वडा नंं. ४ की ४४ वर्षीया महिला, वडा नं ८ का ६२ वर्षीय पुरुष र वडा नं. ९ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित तीन जना नै नगरपालिकाको शंकरनगरस्थित दुर्गादत्त माविको क्वारेन्टिनमा बसेका थिए । उनीहरू भारतबाट आएका हुन् । क्वारेन्टिनमा रहेका एक सय ३० जना मध्ये ९ जनाको पीसीआर परीक्षणको रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?