Comments Add Comment

एन्फा अध्यक्षलाई संरक्षण गरेको छैन : खेलकुदमन्त्री

२६ जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले आफ्नो जिल्लामा अखिल नेपाल फुटबल संघ एन्फाको धेरै बजेट परेको भनी एक सांसदले लगाएको आरोपको खण्डन गरेका छन् ।

केही दिन अघि समाजवादी पार्टीका सांसद प्रदीप यादवले एन्फाले खेलकुदमन्त्रीलाई माया गरेर मन्त्रीकै क्षेत्रमा बजेट पारेको र मन्त्रीले एन्फा अध्यक्षलाई संरक्षण दिएको बताएका थिए ।

सोमबार मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले आरोप प्रमाणित गरेर देखाउन सांसद यादवलाई चुनौती दिए ।

‘उहाँले के भन्न खोज्नुभएको हो । आशय के थियो माननीयज्यूले स्पष्ट पार्नुपर्‍यो’ विश्वकर्माले भने  ‘यससम्बन्धी उहाँले जुन शब्दमा बोल्नुभएको छ, जे भन्नुभएको छ त्यही हो भने यो गम्भीर छ । उहाँले भन्नुभएको त्यही हो भने पुष्टि गर्न प्रमाणित गरेर देखाउन चुनौती दिन्छु ।’

मन्त्री विश्वकर्माले आफूले एन्फाबाट कुनै पैसा लिएर काम नगरेको बताए । ‘एन्फाबाट, कोहीबाट मैले एक पैसा लिएको छैन । एन्फाले कास्कीको माछापुच्छ्रेस्थित भेडाबारी गाउँपालिकामा एकेडेमी स्थापना गर्न खोज्दैछ । फिफाले छानेको ठाउँ हो त्यो’ विश्वकर्माले भने,  ‘एन्फाले १७ करोड बजेट छुट्याएको सुनेको छु । यो हो भने यसमा मेरो कुनै कमजोरी भएन ।’

उनले पारदर्शी रुपमा काम गर्ने र मिडियामा कम आउने आफ्नो इमान नधमिल्याउन पनि उनले आग्रह गरे । ‘आरोप सुन्दा दु:खी छु । इमान इज्जत र प्रतिष्ठालाई बिना आधार प्रमाण कसैलाई धमिल्याउन पाइदैन’ उनले भने ।

केही दिनअघि एक अनलाइनमा मधेसी समुदायबारे दिएको अभिव्यक्तिका कारण एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा विवादमा  परेका थिए । त्यस विषयमा संसदमा बोल्ने क्रममा सांसद प्रदीप यादवले खेलकुदमन्त्रीले नै एन्फा अध्यक्ष शेर्पालाई संरक्षण गरेको आरोप लगाएका थिए ।

‘एन्फा अध्यक्षले के भन्नुभएको छ कता बोल्नुभएको छ त्यो मेरो जानकारीमा छैन । कताको कुरा ल्याएर मन्त्रीलाई विवादमा तान्नु राम्रो हुने छैन । प्रमाणका आधारका दण्डित गर्ने काममा कुनै कमी हुने छैन’ उनले भने ।

खेलकुदमा छैन नयाँ योजना

मन्त्री विश्वकर्माले आर्थिक वर्ष २०७७-७८ मा खेलकुदको कुनै नयाँ योजना नरहेको बताए । उनले पूर्वाधारमा ५८ करोड १९ लाख बजेट मात्र रहेको र त्यसमा पनि ४० करोड रुपैयाँ स्थानीय खेलग्राममा खर्च हुने भएकोले बाँकी रकमले के नै काम गर्न सकिने भन्नै प्रश्न गरे ।

‘करिब १९ करोड बजेटले कहाँ के गर्ने ?’ विश्वकर्माले भने ‘७७-७८ मा एउटा पनि नयाँ योजना बनाएको छैन । पुरानै योजनाको निरन्तरता दिन सबै ठाउँमा औसत रुपमा बजेट विनियोजन गरिएको छ ।’

उनले ठूला योजनाको निरन्तरताको काम १९ करोड बजेटबाट गर्नुपर्ने बाध्यता मन्त्रालयसँग रहेको बताए ।

मन्त्री विश्वकर्माले राष्ट्रिय खेल भलिबललाई र लोकप्रिय खेल फुटबललाई प्रोत्साहन स्वरुप बजेट विनियोजन गरेको बताए पनि कति रकम छुट्याएको उल्लेख गरेनन् ।

दुई दिनअघि प्रतिनिधिसभाको बैठकमा नेकपा सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेल भलिबलको विकासमा बजेट खै भनी प्रश्न गरेका थिए ।

मन्त्री विश्वकर्माले दशौँ राष्ट्रिय खेलकुद आयोजनालाई मध्यनजर गर्दै कर्णाली प्रदेश र प्रदेश २ मा पूर्वाधार विकासमा ध्यान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment