Comments Add Comment

नेपाली क्रिकेट टिमको प्रशिक्षक भारतबाटै आउने !

२८ जेठ, काठमाडौं । श्रीलंकन प्रशिक्षक रोए लुक डायसले छाडेपछि नेपाल क्रिकेटको टिमको अर्को विदेशी प्रशिक्षक श्रीलंकाली मुलका क्यानडेली नागरिक पुबुदे दासानायके बनेका थिए ।

दासानायके फर्केपछि नेपालकै जगत टमाटा प्रशिक्षक रहे । नेपालले ओडिआई मान्यता पाउँदा उनै टमाटा कोच थिए ।

गत वर्ष भारतका उमेश पटवाल नेपालको अर्का विदेशी प्रशिक्षक बने । उनको एक वर्षको सम्झाैता भएपछि तलबको करमा कुरा नमिल्दा उनले जनवरीमै पद छाडेर गए । त्यसयता नेपालले विदेशी प्रशिक्षक नियुक्त गर्ने भन्दै आए पनि सफल हुन सकेन ।

यसबीचमा नेपालले एउटा टुर्नामेन्ट खेल्दा टमाटाले नै अन्तरिम प्रशिक्षकको रुपमा काम गरे । त्यो बेला पनि नेपाल क्रिकेट संघ (क्यान) विदेशी प्रशिक्षक खोज्दै थियो ।

अन्तिम समयमा आएर कुनै फेरबदल नभए भारतका लाल चन्द राजपुत नेपालको क्रिकेट प्रशिक्षक बन्नेछन्

नेपालको नयाँ प्रशिक्षक खुल्ला प्रतिस्पर्धाबाट छानिने चर्चासमेत चलेको थियो । तर चैतदेखि कोरोना भाइरस महारीले खेलकुद गतिविधि बन्द हुनु, लकडाउन हुनु लगायतले क्यानले राम्रोसँग काम गर्न सकेन ।

त्यसैले यस पटक पनि सहमतिमै विदेशी कोच नेपाल आउने लगभग पक्का जस्तै छ । क्यानले आन्तरिक रुपमा विभिन्न देशका प्रशिक्षकहरुको नाम सर्ट लिस्टमा राखेर कुराकानी र छलफल गरिरहेको जनाएको थियो । क्यान अध्यक्ष चतुर बहादुर चन्द पनि लकडाउनअघि नै भारत पुगेर बीसीसीआईका अधिकारीहरूसँग समेत भेट गरेका थिए ।

त्यसपछि नेपालको प्रशिक्षक भारतकै हुने सम्भावना बढेको थियो । छिमेकी देश भारतको प्रशिक्षक हुँदा अन्य कुरामा पनि सहज हुने र बीसीसीईसँग पनि सहकार्य गर्न सहज हुने भएकाले क्यानले पनि भारतकै प्रशिक्षकमा जोड गरेको हुन सक्छ ।

अब बन्ने नेपाल टिमको प्रशिक्षक पनि भारतकै हुने लगभग पक्का छ । अन्तिम समयमा आएर कुनै फेरबदल नभए भारतका लाल चन्द राजपुत नेपालको प्रशिक्षक बन्नेछन् ।

यस पटक नेपाल आउन लागेको राजपुत नाम र काम दुवैमा यसअघिका भन्दा ठूला छन् । राजपुत अहिले टेष्ट राष्ट्र जिम्बाब्बेका प्रशिक्षक छन् । त्यसअघि उनी अर्का टेष्ट राष्ट्र अफगानिस्तानका प्रशिक्षक थिए । उनकै पालामा अफगानिस्तानले आइसीसीको पूर्ण सदस्यता प्राप्त गरेको थियो ।

नाम र कामसँगै राजुपतको तलब पनि धेरै हुने पक्का छ । अहिले नै उनको तलब धेरै छ ।

क्यान अध्यक्ष चन्दले लाल चन्द राजपुतसँग मौखिक सहमति भइसकेको र उनले पनि नेपाल आउन चासो देखाएको बताए । ‘मौखिक रुपमा सहमति भएको छ । उहाँले पनि मौखिक रुपमा सहमति जनाउनु भाछ । अरु निर्णय केही भएको छैन,’ चन्दले भने, ‘मुख्य विषय भनेको तलब हो । त्यो निर्णय भएको छैन ।’

चन्दले थपे, ‘यू१९ टिमको कोच भइसकेको, विश्वकप जित्ने टिमको म्यानेजर भइसकेको, आइपीएलको कोच, जिम्बाब्बे  जस्ता टिमको कोच भएकाले डिमान्ड बढी हुन सक्छ । नाम चलेको कोच हो ।’

बीसीसीआईसँग पनि सहयोग गर्नुपर्छ भनेर छलफल भइरहेको उनले बताए ।

स्रोतका अनुसार उनको तलब यसअघिका प्रशिक्षकभन्दा धेरै नै हुनेछ । तलबबारे अन्तिम निर्णय भने हुन बाँकी छ । ‘निश्चय नै महँगो हुन्छ । पहिलाभन्दा राम्रो कोच भएपछि तलब पनि बढी स्वाभाविक भइहाल्छ,’ क्यान स्रोतले भनेको छ ।

क्रिकट्याकर अनलाइनका अनुसार राजपुतको अहिलेको मासिक तलब ५० हजार अमेरिकी डलर छ ।

राजपुत नेपाल आउने सम्भावना बढी भए पनि ब्याटिङ बलिङ प्रशिक्षकबारे केही निर्णय भएको छैन ।

पछिल्लो समय नेपालको ब्याटिङ राम्रो हुन नसकेकाले विदेशकै ब्याटिङ प्रशिक्षक चाहिने क्रिकेटसँग सम्बन्धित व्यक्तिले भनेका थिए ।

यसअघि नेपालकै टमाटा प्रशिक्षक हुँदा पनि पटवाल सहित भारतका विभिन्न प्रशिक्षकहरु ब्याटिङ कन्सलट्यान्टका रुपमा आएर काम गरेका थिए ।

यसअघि क्यान निलम्बनमा रहेकाले पनि नेपालले धेरै समयका लागि ब्याटिङ कन्सलट्यान्ट राख्न सकेको थिएन । अहिले क्यान सशर्त फुकुवा भएको छ । अब पूर्ण फुकुवाको बाटोमा छ । निलम्बन सबै हटेपछि क्यानले आफ्नै योजनामा काम गर्न पाउनेछ । त्यसपछि भने ब्याटिङ, बलिङ कोचहरु समेत राख्ने सम्भावना रहन्छ ।

क्यानको पछिल्लो बैठकले अब प्रादेशिक संरचनालाई ध्यान दिँदै सबै प्रदेशमा नेपालकै १-१ जना प्रशिक्षक राख्ने प्रस्ताव गरेको थियो । नेपालमै लेभल १ र २ गरेका प्रशिक्षकहरुलाई प्रदेशको प्रशिक्षक बनाउने तयारी भइरहेको छ ।

लालचन्द राजपुतको इतिहास

लाल चन्द राजपुत भारतका पूर्व खेलाडी समेत हुन् । उनले ८० को दशकमा भारतको प्रतिनिधित्व गरेका थिए । २००० यता भने उनले प्रशिक्षकको रुपमा काम गर्न थालेका हुन् ।

राजपुतले सन् १९८५ मा भारतका लागि डेब्यु गरेका थिए । तर उनले जम्मा २ टेष्ट र ४ ओडिआई मात्र खेल्न पाए । सुनिल गावस्करपछि राजपुतलाई भारतको अर्का ओपनरको रुपमा हेरिएको थियो । तर श्रीलंकाविरुद्धको पहिलो टेष्ट सिरिजको दोस्रो खेलमा उनको प्रदर्शन खराब रहेपछि उनले निरन्तरता पाएनन् ।

उनलाई रवी शास्त्रीले रिप्लेस गरिदिए । उनले टेष्ट डेब्युमा श्रीलंकाविरुद्ध ३२ र ६१ रन बनाएर उत्कृष्ट शुरुवात गरेका थिए । तर दोस्रो टेष्टमा ० र १२ रनमा आउट भएपछि असर पाएनन् ।

भारतीय टिममा लाल चन्दलाई रवी शास्त्रीले रिप्लेस गरेका थिए । ओडिआईमा भने उनले १०८५ मा इंग्ल्याण्ड विरोध डेब्यु गरेका थिए । उनले भारतका लागि अन्तिम ओडिआई १९८७ मा पाकिस्तानविरुद्ध खेलेका थिए ।

गत वर्ष भारतीय टिमको प्रशिक्षक बन्न राजपुतले पनि आवेदन दिएका थिए । यस पटक पनि उनै शास्त्री प्रशिक्षकमा निरन्तरता पाउँदा राजपुतको भारतलाई प्रशिक्षण गर्ने धोको पूरा हुन सकेन ।

त्यो समयम गावस्कर र राजपुतलाई उत्कृष्ट ओपनरको जोडीको रुपमा समेत हेरिएको थियो । तर राजपुतको अन्तर्राष्ट्रिय खेलाडी जीवन २ वर्षभन्दा बढी समय रहन सकेन ।

लालचन्द सिताराम राजपुत पूरा नाम रहेका ५८ वर्षीय उनले मुम्बईका लागि भने फर्स्ट क्लासमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले भारतका लागि २ टेष्ट, ४ डिई खेले भने ११ औँ फर्स्ट क्लास र ६१ लिस्ट ए समेत खेलेका थिए ।

खेलाडी जोनपछि उनले मुम्बई क्रिकेट एसोसिएसनको जोइन्ट सेक्रेटरीको रुपमा काम गरे । त्यसपछि भने उनी प्रशिक्षणतर्फ लागे ।

सन् २००७ मा उनले यू १९ टिमको प्रशिक्षकको रुपमा काम गरे । भारतले सन् २००७ मै आइसीसी टी–२० विश्वकप उपाधि जित्दा राजपुत म्यानेजरको भूमिकामा थिए । उक्त सफलतापछि राजपुत २००७-०८ को अष्ट्रेलिया टुरसम्म म्यानेजर थिए ।

२००८ मा भारतमा इन्डियन प्रिमियर लिग आइपीएल शुरु भयो। उनी पहिलो सिजनमै मुम्बई इन्डियन्सको प्रशिक्षक बने । यद्यपि हर्भजन सिंह श्रीसान्तबीचको एउटा घटनामा उनले माग उठाएको भन्दै उनलाई ५० प्रतिशत म्याच पि जरीवाना गरिएको थियो ।

सन् २०१६ जुनमा पाकिस्तानका पूर्व कप्तान समेत रहेका इन्जमान उल हकलाई विस्तापन गर्दै राजपुत अफगानिस्तानको प्रशिक्षक नियुक्त भएका थिए । उनकै प्रशिक्षणमा अफगानिस्तानले आइसीसीको पूर्ण सदस्यता पायो भने ओडिआईमा वेष्टइन्डिजलाई पराजित गरेको थियो । २०१७ अगष्टमा अफगानिस्तान क्रिकेट बोर्डसँग राजपुतसँगको सहकार्य अन्त्य भयो ।

राजपुत २०१८ मे मा जिम्बाब्वेको अन्तरिम प्रशिक्षक नियुक्त भए । त्यही वर्ष अगष्टमा उनी जिम्बाव्वेको स्थायी प्रशिक्षक बने । त्यही बीचमा राजपुत २०१९ मा क्यानडाको ग्लोबल टी२० क्रिकेटका लागि विनिपेग हक्सको प्रशिक्षक भएका थिए । हाल उनी जिम्बाब्बेकै प्रशिक्षकको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment