Comments Add Comment

संसदमा प्रधानमन्त्रीले सुनाए ‘भैँसी व्यापारी’को कथा !

'अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं'

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा झण्डै दुई घण्टा लामो सम्बोधन गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटबारे भएको छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना भाइरस (कोभिड-१९) र नेपाल-भारत सीमा विवादमा बढी केन्दि्रत थियो ।

सांसदहरूले पनि प्रधानमन्त्री ओलीको जवाफमा आएको कोरोना सम्बन्धित विषयमा केन्द्रीत भएर प्रतिप्रश्न गरे । पीसीआर टेस्टको सुस्त गति, विश्वसनीयतामाथि प्रश्न उठेको आरडीटीको प्रयोग र क्वारेन्टिन स्थलबारे सरकार आफैँले बनाएको मापदण्ड समेत पूरा हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले जवाफ मात्र दिएनन्, चलाख भैँसी व्यापारीको कथासमेत सुनाएका छन् ।

प्रधानमन्त्रीले सुनाएको कथा यस्तो छ :

भैंसी व्यापारीले भैँसी बेच्ने भएछ । किन्ने मान्छे आएपछि सोधेछ, ‘दूध कति दिन्छ भैँसीले ?’ व्यापारीले भनेछ, ‘भैँसी किन्दा खासगरी दूध कति दिन्छ भन्ने मतलब हुँदैन, सिङ हेर्नुपर्छ सिङ । सिङ कस्ता छन् हेर्नुस् न !’ उसले तेल लगाएर सिङ चिल्ला पारेर राखेको रहेछ । अब भैँसीको सिङले के गर्ने ? दिनुपर्ने दूध हो ।

नेपाली कांग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री ओलीलाई सरकारको कामबाट आफैँ कति सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षमा गरेको कामलाई ओझेलमा पार्न अर्को-अर्को कुरा गर्ने गरिएको भन्दै चलाख भैँसी व्यापारीको यो कथा सुनाएका थिए ।

विपक्षी सांसदहरूले भने कोरोना महामारीमा चुकेका प्रधानमन्त्री ओलीले आफूहरूले उठाएको सवालमा चलाख भैँसी व्यापारीले जस्तै जवाफ दिएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको दाबीमा गगनको करेक्सन

प्रधानमन्त्री ओलीले सरकारले सावधानीका साथ लकडाउनको नीति लिएको र कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकतम उपलब्धि हासिल गरेको दाबी गरे ।

बाँध फुटेपछि आएको बाढी जस्तो कोरोना विश्वभर फैलिएको भए पनि अन्य देशको तुलनामा नेपालमा संक्रमित हुने र मृत्यु हुनेहरूको संख्या कम भएको बताए । मृत्यु भएका १५ जनामध्ये पनि सबैले कोरोनाकै कारण ज्यान नगुमाएको तर डब्ल्यूएचओको प्रोटोकलका कारण घोषणा गर्नु परेेको उनको तर्क छ ।

क्वारेन्टिनको मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न सरकार लागेको र कतिपय ठाउँमा अलिक मापदण्ड नपुगेको उनले बताए । भारतबाट वैशाख पहिलो साता मानिसहरू आउन सुरु भएको र जेठमा मात्र दुई लाख बढी आएकाले उनीहरूको व्यवस्थापन गर्न गाह्रो भएको भन्दै प्रधानमन्त्री ओलीले उनले भनेका छन्, ‘यो लापरवाही कारण होइन, परिस्थितिका कारण यस्तो भएको हो ।’

पछिल्लो समय क्वारेन्टिन भद्रगोल हुँदा त्यहीँ संक्रमित हुने गरेको समेत पाइएको छ । तर प्रधानमन्त्री ओलीले नेपालमा भेटिएका संक्रमितमध्ये ८५ प्रतिशत बढी भारतबाट आएकाहरू भएको र उनीहरू क्वारेन्टिनका कारणभन्दा पनि ट्रेनमा कोचिएर आउँदा वा यात्राको क्रममा नै संक्रमित भएको दाबी गरे ।

तर नेपालमा निको हुनेको संख्या राम्रो रहेको उनले बताए । १५ जनाको निधन भएको भए पनि उनीहरू सबै कोरोनाकै कारणले मात्र मृत्यु नभएको उनले बताए । ‘अरू कारणले सिकिस्त भएका, बाँच्नेस्थिति नभएकोमा संक्रमण सरेको हो’ उनले भने । नेपालीहरूमा रोग प्रतिरोधी क्षमता राम्रो भएको र उपचार प्रवन्ध पनि राम्रो भएकाले मृत्यु हुनेको संख्या अरू देशको तुलानामा कम भएको बताए ।

प्रधानमन्त्री ओलीले पहिलो केस भेटिँदा परीक्षणका लागि हङकङ पठाएको तर अहिले नेपालमै दिनमा ४५ सयदेखि पाँच हजार पीसीआर टेस्ट गर्न सक्ने क्षमता बनाएको बताए ।

यसले पनि आवश्यकता सम्बोधन गर्न नसकेको स्वीकार गरे । जेठमा मात्र भारतबाट दुई लाख बढी नागरिक घर फर्किएकाले सबैको पीसीआर गर्न नसकिएको उनले बताए ।

तर प्रधानमन्त्री ओलीले संसदमा पेश गरेको दाबीमा पूर्वस्वास्थ्यमन्त्री थापाले प्रश्न उठाए ।

नेपालमा पहिलो केट भेटिँदा नेपालमा क्षमता नभएर होइन, रिएजेन्ट नभएर पठाएको उनले बताए । सरकारले खरिद गरेको पाँच वटै मेसिन अहिले बिग्रिसकेको भन्दै उनले भने, क्वारेन्टिनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ?’

उनले हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ? नेपालमा मृत्यु भएकाहरूको उमेर र संख्याका आधारमा विश्वव्यापी रुपमा मृत्यु भएकाहरू अनुसार दाँजेर हेर्नुभएको छ ? भारतबाट नेपाली नागरिक आउँछन् भन्ने जानकारी राखेर क्वारेन्टिन राख्ने सरकारको काम हो वा अरूको ? भन्ने थापाको प्रश्न छ ।

‘मैले भनेको हुँ, प्रतिरोधी क्षमता बढी छ’

तर, प्रधानमन्त्री ओलीले थापाले रोग प्रतिरोधी क्षमताबारे सोधिएको प्रश्नको मात्र जवाफ दिएका छन् ।

उकाली ओरोली गर्ने, योगाको परम्परा भएको देशका मानिसहरूको इम्युन सिस्टम तगडा छ भन्ने स्वतःसिद्ध भएको उनले बताए । नेपालीको भान्सामा हुने बेसार, नुन, खुर्सानी, जिरा सबै औषधि भएको भन्दै उनले भने, ‘हरेक दिन औषधि खाएका नेपालीहरूको प्रतिरोध क्षमता माथि हुन्छ भन्ने स्वतःसिद्ध छ ।’

प्रधानमन्त्रीको भनाइ यस्तो थियो –

माननीयज्यूले प्रश्न गर्नुभएको छ, नेपालीहरूको रोग प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भन्यौं भनेर । भर्खरै सुन्नुभयो मैले भनेको । नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्नेमा चुनौती कुनै डाक्टर, वैज्ञानिक, शोककर्ताबाट आयो भने स्वीकार गरौंला । तर आधा नेपाली हिमाली भेगतिर स्वच्छ हावा, उकालीओराली हिँडेर पहाडी जनजीवनमा बसेका छन् र स्टामिना बलियो छ । तराईमा बस्नेहरूको पनि हिमालबाट ठोक्किएर …। हामीले थाहा पाउनुपर्छ नेपालको भूगोल । यदि मरुभूमिजन्य ठाउँहरूबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नुअघि नै चिसिन्छ । कायल भइसक्छ । हिमालसँग ठोक्किँदा बरफ भएर बग्ने स्थिति बन्छ । त्यो स्वच्छ हावामा सास फेरेका नेपालीहरू हुन् । यो देश झार उमि्रयो भने यार्सागुम्बा उमि्रने देश हो । यस देशमा ढुंगाबाट सिलाजित निस्किन्छ, माटो सिमि्रक बन्छ । यो देश जडीबुटीको देश हो, औषधिको देश हो । पानी हिउँबाट हिमालमाथि बसेर अनेक मिनेरल तत्वसँग खेल्दै रसाएको हुन्छ । इभियन बराबर छ ।

आरडीटीबारे के भने ?

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कतिपय विषय प्राविधिक भएकाले यसबारे राजनीतिक रुपमा टुंगो लगाउन नसकिने बताए । उनले भने, ‘आरडीटी -र्‍यापिड डायनोस्टिक टेस्ट)गर्ने कि नगर्ने मैले होइन, प्राविधिकले भन्ने विषय हो ।’

पूरक प्रश्न गर्ने क्रममा कांग्रेस सांसद राजेन्द्र केसीले आफ्नो क्षेत्रमा आरडीटी पोजेटिभ आएकाहरूलाई पाँच दिनसम्म क्वारेन्टिन गरेको, तर पीसीआर नेगेटिभ आएको भन्दै किन यो प्रयोग भइरहेको छ भन्ने प्रश्न गरेका थिए ।

सो विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिएनन् ।

यस्तै, राप्रपाका सांसद राजेन्द्र लिङ्देनले केही काम भएको छैन भन्न नमिले पनि प्रधानमन्त्रीले जे बुझेका छन्, त्यो सत्य नभएको भन्दै उनले झापा कचनकवलको घटना सुनाए । उनका अनुसार कचनाकवलका ३३ संक्रमित, जो धरानमा १४ दिन आइसोलेसनमा बसेका थिए, उनीहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार पीसीआर विधिबाट परीक्षण नगरी घर पठाउन खोजिएको थियो । तर, आफूहरूले हुन्न भनेर टेस्ट गराउँदा पाँच जनाको पोजेटिभ आएको छ ।

यस्तै, कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले पनि पीसीआर टेस्ट नै हुन नसक्ने अवस्था आएको बताए । तर प्रधानमन्त्री ओलीले यस्ता प्रश्नको जवाफ दिएनन् ।

अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं

प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको दाबी अस्वीकार गरका छन् ।

जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरूलाई आग्रह गरे । दिनैपिच्छे लेखापरीक्षण नहुने र अहिले काम गर्ने बेला भएको भन्दै उनले भने, ‘हरहिसाब आफ्नो प्रक्रियाबाट आउँछ । महालेखाको प्रतिवेदन आउँछ, त्यसमा रुजुबेरुजु आउँछ । आन्तरिक लेखा परीक्षण भइरहेको हुन्छ, त्यो पनि आउँछ । अहिले हिसाबको चिन्ता नगरौं, केाभिड १९ को चिन्ता गरौं ।’

उनले अघि भने, भएको हुनै सक्दैन भनेर दाबी गर्दिनँ । भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि देख्दिनँ ।’

महामारीको समयमा पनि पनि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सहृय नहुने भन्दै उनले छानबिन गरेर दोषी पाइएकाहरूलाई कारबाही गर्ने बताए । तर अहिले काम गरिएको स्थानीय र प्रदेश सरकारलाई शंका गर्न नहुने भन्दै प्रधानन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए, अलिकति रकम पाउन साथ अनियमिता गरे भनेर आशंका गर्नुपर्ने स्थिति होइन ।’

पूरक प्रश्नको जवाफ दिने क्रममा पनि प्रधानमन्त्री ओलीले खरिद नगर्दा भएन भन्ने र खरिद गर्नासाथ भ्रष्टाचार देख्ने गरेको गुनासो गरे । सेनालाई औषधि खरिदमा संलग्न गरेको भनेर भएको विरोधको पनि उनले प्रतिरोध गरेका छन् ।

स्थानीय सरकारको प्रशंसा

लगभग साउन अन्तिमतिर कोरोना संक्रमण पिकमा पुग्ने र त्यसपछि कम हुँदै गएर कात्तिकमा समाप्त हुन सक्ने विश्लेषण भइरहेको प्रधानमन्त्री ओलीले सुनाए । चाडवाडमा मानिसहरू आउँदा फेरि संक्रमण आउन सक्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले स्थानीय सरसकारको प्रशंसा गरे । बजेट र खर्चको सीमा रहेको तर आवश्यकता असीमित भएको बेला पनि उनीहरूले काम गरेको ओलीले बताए । ‘कसरी धान्नु भएको होला, हामी अनुमान गर्न सक्छौं’ उनले भने ।

५/७ हजार मानिस आउने र उनीहरूलाई घर पठाउँदा संक्रमण समुदायमा सर्ने र क्वारेन्टिनमा राख्न समस्या भएको बेला पनि स्थानीय जनप्रतिनिधिले फिल्डमा काम गरेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘म उहाँहरूको प्रशंसा गर्न चाहन्छु र उहाँहरूको भावनामा चोट पर्नेगरी शब्दावली प्रयोग गर्नुहुन्न । प्रदेश सरकारमाथि पनि अन्यथा सोच्नुपर्ने जस्तो लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment