+
+
Shares

जनताको ढाड सेकेर नेता बनिन्छ ?

अस्मोद कार्की अस्मोद कार्की
२०७७ जेठ २९ गते ११:०९

नेता शब्दको अर्थमा अलि घोत्लिन्छु आजकल। राजनीतिको उद्देश्यमा पनि। नामै राज अनि नीति। नीतिहरुमध्ये श्रेष्ठ नीति- राजनीति जसले राज्यको चाल र गति निर्धारण गर्छ। जसले राजनीति गर्छ उनि नेता। यो लेखको लागि म नेता शब्द नेता र नेत्री दुवैको लागि प्रयोग गर्नेछु। शब्द छनोटको विवादले लेखको मर्म नहराओस् ।

नेता शब्द सुन्ने बितिक्कै एउटा प्रतिविम्ब स्थापित हुन्छ धेरैको मनमा । नेता अर्थात् जसले नेतृत्व प्रदान गर्छ । जसले गाह्रो साह्रोका बीच एउटा बाटो देख्छ अनि अरुलाई त्यो बाटो हिँड्न प्रेरित गर्छ । जसले गोरेटो स्थापित गर्छ अनकन्टार अन्योलका बीच अनि पुस्तौँपुस्ता हिँड्न सहज पार्छ । मानव संसारमा नेता त्यस्तो व्यक्ति हो जो मोल्छ केहि चुनौती अरुको हितको निम्ति । सायद सोचको व्यक्ति हत्तपत्त पाइदैनन होला, त्यही भएर होला अर्को शब्द पनि कोरिएको: राजनेता । राजनेता केवल नेता मात्र होइन, ऊ नैतिकता, दुरदर्शन र नीतिलाई रणनीतिमा ढाल्न सक्ने क्षमता भएको नेता हो।

उत्तर हराएका राजनीतिकर्मी

राष्ट्रिय महत्वभएका र धेरै नै श्रोत साधन खर्च हुने विषयमा नीतिलाई रणनीतिमा बदलेर कार्य गर्नु आवश्यक हुन्छ। त्यसैले यी श्रोत साधनका द्वारहरुको मूल चाबी राजनीति गर्नेहरुमा हुनुको कारण जायज नै छ । यस्ता बिषय जनतासँग प्रतक्ष्य सरोकार राक्छन् तर सबै जनतासँग प्रतक्ष्य चाबी हुन सम्भव हुदैन । त्यसैले जनता आफ़ुहरुमाजबाट केही प्रतिनिधि चुन्छन् र दिन्छन अथाह बिश्वास, जिम्मेवारी र शक्ति कार्य पुरा गर्नको निम्ति। जनता जति शक्ति र श्रोत दिन्छन उतिनै आश गर्छन प्रतिनिधिहरुसँग । यो आश गर्छन कि यी प्रतिनिधिहरु जनताको दुख र पीडा हटाउनको लागि कम्मर कस्ने छन् र बाटो देखाउनेछन् । त्यसैले सम्बोधन गर्दा पनि आदरले नेता भन्ने भाषा प्रयोग गर्छन् । तसर्थ जनताको दुख पीडा हटाउने वा कम गर्ने नेताहरुको कर्तव्य मात्र होइन धर्म पनि हो । डाक्टरको बिरामीको उपचार गर्नु, पत्रकारको सत्य सम्प्रेषण गर्नु, गुरुको शिक्षा प्रदान गर्नु भए जस्तै ।

हिँजोको दिनमा तपाईंहरुले कसका निम्ति क्रान्ति गरेर नेता बन्ने सपना छरेर आउनु भएको थियो, एकचोटी सम्झनु होला । उत्तर कसरी खोज्ने यसको लागि हामीले सांसदमा भएका सबैलाई महिनाको १० करोड खर्च गरेर राखेका छौं

पत्र पत्रिका पढ्छु, टि.भी. हेर्छु अनि फेसबुक स्ट्याटस सार्छु, नेता शब्द जहाँ त्यही देख्छु । देशकै श्रोत साधन कसरी उपयोग गर्ने भनेर मार्ग निर्देशित गर्ने भएर होला हालसालै बजेट भाषणपश्चात नेताहरुको विचार र भनाइको महत्व छाएको । तर जति पढ्छु अनि बुझ्न खोज्छु उतिनै हराउँछु पनि । प्रष्ट मार्गदर्शन भन्दा बढी अन्योल पाउँछु । लाग्छ नेताहरुका कार्य समस्याको समाधान होइन, बल्झाउन केन्द्रित छन् । उत्तर होइन प्रश्नका पोकाले बेरिएका छन् हाम्रा नेताहरु ।

पेट सुक्ने, ढाड सेक्ने बजेट

कोरोनाले गर्दा देश ठप्प छ । कमाइ छैन अधिकांश जनताको । बजेटमा केही राहत आउला भन्ने आश धेरैको थियो। भैदियो ठिक उल्टो । सबैभन्दा धेरै मार पेट्रोलिएम पदार्थको थप १० रुपैयाँ करले पर्छ । नुन देखि सुनसम्म सबै ट्रकमा ओसार्नु पर्छ भारतबाट । पेट्रोल, डिजेलमा मूल्य बढेपछि सबै उपभोग्य सामग्रीको भाउ बढ्छ भन्न अर्थशास्त्रका किताब रटेको हुनुपर्छ भन्ने होइन । होला, केही राहतका कार्यक्रम आएका छन्: उद्यमी कोष, प्रधान्मन्त्री रोजगारी कोष आदि मार्फत । तर दैनिक ज्यालादारी गरेर बेलुका नुन तेल किन्नेबेला यी कोष काम लाग्ने छैनन् । हाम्रो राज्यप्रणालीको क्षमता र इतिहास हेर्दा एकातिर खर्च हुन नसकेर यी कोषका धेरै रकम फेरि फ्रीज हुनेछन् र अर्कोतिर जनता मारमा पर्नेछन् ।

नेताहरुले यस्तो बेला, तत्कालको राज्यको राजश्व बढाउने भन्दा पनि जनतालाई कसरी भोकमरी र अन्नकालबाट जोगाउने सोच्नु जरुरी थियो होला । नियत राम्रै भए पनि सिधै महंगी बढाउने कदम जनताको हितमा छैन । नेताहरुबाट सके जनताको समृद्धि बढाउने नसके रोजीरोटि जोगाउने कदम चाल्नु महत्वपूर्ण हुन्छ, तर बिडम्बना अर्कै भैदिन्छ । प्रश्न गर्यो ९९ प्रतिशतले नबुझ्ने भारी भारी शब्दजाल प्रयोग गरेर बेलिबिस्तार लाइन्छ । भोको पेट र खाली ग्यासको सिलिन्डर भएको भान्सालाई ‘अर्थतन्त्र धान्न करको दायरा बढाउन राजश्व अभिवृद्धि गर्न जरुरी छ’ भन्ने भाषा बुझ्न सम्भव हुँदैन मान्यज्युहरु ।

स्वभावत : अर्को प्रश्न उठ्छ मनमा: के यो पैसा अरुतिरबाट जुटाउन सकिदैनथ्यो त ? यो वर्ष जनताको ढाड सेक्नेगरी लागेको तेलको करले २० अर्ब जति राज्यको दुकुटीमा जम्मा गरिदिन्छ । नेतागणले नै प्रस्तुत गर्नुभएको बजेटमा यो २० अर्ब जोगाउने धेरै बाटाहरु थिए । यो वर्ष कार्यकम खर्चको लागि करिब १४.७ अर्ब, कर्माचारीको लुगा कपडाको लागि ४.६ अर्ब, बैठक भत्ताको लागि २.६ अर्ब र कार्यालय सामान र सेवाको लागि ४.९ अर्ब खर्च हुने अनुमान छ । जम्मा गर्दा २७ अर्बबाट हुँदो रहेछ यी शीर्षकका खर्च।

होला केही मात्रामा यी शीर्षकका खर्च नगरी नहुने होलान्। देश र जनताको सुरक्षामा अहोरात्र खटिने जवानहरुलाई पक्कै न्यानो कपडा चाहिन्छ जाडोमा। हस्पिटलका डाक्टर र नर्सलाई पन्जा पनि चाहियो। शिक्षक शिक्षिकालाई चक डस्टर पनि चाहियो। केहि अर्ब त पक्कै खर्च गर्नु पर्छ। तर के यो २७ अर्ब बाट अलिकति भए पनि जोहो गर्न सकिन्न ?

कुरा सत्तामा रहनु भएका नेताज्यूहरुमा मात्र केन्द्रित होइन। विपक्षी र सत्ता बाहिर रहनु भएका सबै राजनीतिकर्मीहरुमा मननको लागी हो। धेरैले राज्यबाट तलब भत्ता बुझी राख्नु भएको छ। भाषणमा त कर बढाउनु हुँदैन भनेर चर्का नारा लाउनुहुन्छ तर जब प्रष्ट निर्णय गर्ने बेला आउँछ तब सबै चुप। मानौं यो २७ अर्बबाट केहि अर्बभन्दा खर्च घटाउने बाटो भएन रे। तब अरु धेरै बाटा छन्। सबैभन्दा उचित सांसद विकास कोषको अर्बौं हटाएर त्यो रकम सदुपयोग गर्नुमा हुनेछ।

तर यो गर्न न सत्ता पक्षका राजनीतिकर्मीमा साहस आयो न त बिपक्षी दलका मान्यहरुमा हामी लिदैनौं भन्ने आँट। किनकि चुनाव जित्नु छ अर्को पल्ट नजिकैका ठेकेदार र कार्यकर्ता पोषेर। अरु ३ करोड जनताको छाक काटिंदा खासै फरक पर्दैन भन्ने सोच छ। पेट्रोलको भाउ १० रुपैयाँ बढ्दा तपाईंलाई खासै फरक पर्दैन न कि तपाईको चुलोमा मार्सी पाक्न छोड्छ। तर कर्णाली र सप्तरीका जनता जो वर्षको १० महिना दिल्ली र मुम्बई जान्छन् अनि दशैंमा र छठमा चामल खाने र एक सरो नयाँ कपडा फेर्ने सपना देख्छन् उनीहरु पेट काटेर अनि आङ नाङ्गो परेर भएपनि महँगो भाडा तिरेर घर आउन बाध्य हुन्छन्।

नेता बन्ने बेला

देश कोरोनाको महामारीको चपेटामा छ । भोलिको समृद्धिको लागि आज बाँच्नु जरुरी छ । यसका निम्ति आउँदा महिनामा हामी सबैले गाह्रो बाटो हिँड्नुपर्ने आवश्यकता छ । कसले कति गर्ने भन्ने कुरा हो । देश छिर्न नपाएर, बिदेशमा दासको रुपमा बाँचेर करोडौं जनताले राज्य ढुकुटीमा पैसा जम्मा गरिदिएको सयौँ वर्ष बितिसक्यो । जनताको अवस्था सुधार भएको छैन । ज्यान दाउमा राखेर हिँजो हामी अरुको युद्ध लड्ने गर्थ्यौं, आज हामी दिल्ली र क्वालालम्पुरमा चौकीदारी गर्न जान्छौं । नियति फेरिएको छैन अझै। बचेको अलिकति घर पठाउँछौं, त्यही पैसाले घरमा तिउन तरकारी पाक्छ, बाल बच्चाले मुखमा माड हाल्छन्, अनि बुढाबूढी भएका आमाबुबाको सास अड्केको छ । जब पेट्रोल अनि डिजेलको भाउ आकासिन्छ तब ढाड सेकिन्छ अनि गाह्रो पेट सुक्न थाल्छ ।

तसर्थ जनताको पेट काटेर महँगा गाडी चढेर राज गर्ने होइन, आफ्नो विलासिता अलिकति कम गरेर भएपनि अनिकाल लाग्नबाट जनतालाई बचाउने बेला आएको छ, प्रिय राजनीतिकर्मीहरु । हिँजोको दिनमा तपाईंहरुले कसका निम्ति क्रान्ति गरेर नेता बन्ने सपना छरेर आउनु भएको थियो, एकचोटी सम्झनु होला । उत्तर कसरी खोज्ने यसको लागि हामीले सांसदमा भएका सबैलाई महिनाको १० करोड खर्च गरेर राखेका छौं । आशा छ उत्तर पक्कै आउने छ । तपाईंहरु ३६ साल, ४६ साल, ६२/६३ साल जस्तै फेरि नेताबन्ने बाटो समात्नुहुनेछ । कामनाचाहिं राजनेता हुने बाटो कोर्नुस् भन्ने हो । सुरु जनताबाट महंगा कर हटाएर गर्नुहोला । कम्तिमा सांसद विकास कोष लिएर नजिकैका कार्यकर्ता पोषण गर्दिन र सारा ३ करोडको ख्याल राख्नेछु भन्ने साहस गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?