Comments Add Comment

बारामा ‘एक घर, एक व्यक्ति पीसीआर टेस्ट’को माग राखेर प्रदर्शन

२९ जेठ, वीरगञ्ज । सरकारले नयाँ टेस्टिङ गाइडलाइन सार्वजनिक गरेको छ । जसमा क्वारेन्टिनमा १४ दिन बसेकालाई समेत आरडीटी टेस्ट गरेर घर पठाउने भनिएको छ । सोही अनुसार कामहरु पनि भइरहेका छन् । तर सर्वसाधरण भने यसबाट असन्तुष्ट छन् । समुदाय स्तरमा पनि पीसीआर परीक्षण हुनुपर्ने माग उनीहरुको छ ।

बारामा एक घर, कम्तिमा एक आरटी पीसीआर टेस्ट हुनुपर्ने माग राखेर प्रदर्शन गरिएको छ । फेटा गाँउपालिका–१ का युवाहरुले भलुही चौकमा बिहीबार बिहान प्रदर्शन गरेका हुन् ।

जनताको घरघरमा पुग्न सक्ने स्थानीय सरकारकै पहलमा आरटी पीसीआर जाँच हुनुपर्ने माग उनीहरुले राखेका छन् । ‘कम्तीमा एक घर, एक व्यक्तिको पीसीआर टेस्ट हाम्रै स्थानीय निकायको पहलमा होस्’ भन्ने नारा लेखिएको प्लेकार्ड सहित मास्क लगाएर व्यक्तिगत दुरी कायम गर्दै उनीहरुले उभिएर प्रदर्शन गरे । सर्वसाधरणलाई लकडाउन गरेर घरमा थुनेर मात्रै कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने निष्कर्ष उनीहरुको छ ।

कारोना भाइरसको सक्रमण रोकथाम र नियन्त्रणका लागि घरदैलोको सरकार, स्थानीय सरकारको पहलमा एक घर, कम्तिमा एक व्यक्तिको पीसीआर टेस्ट गर्नुपर्छ भन्ने लागेर दबाव दिन प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी विक्की महतोले बताए ।

‘हाम्रो सबभन्दा नजिकको सरकार, स्थानीय सरकार हो । प्रदेश र संघ सरकारलाई चिन्दैनौं, हाम्रो जिउ धनको रक्षा र स्वास्थ्यको चिन्ता स्थानीय सरकारले नै गर्नुपर्छ,’ महतोले भने, ‘त्यसैले पीसीआर परीक्षणका लागि दबाव दिएका हौं ।’

प्रदर्शनमा सहभागी अर्का युवा राजेशप्रसाद कुशवाहा लकडाउन थपेर मात्रै संक्रमण नरोकिने स्पष्ट हुँदा हुँदैपनि त्यही गरिरहनु दुःखद् भएको बताए । ‘ लकडाउनले मात्रै संक्रमण फैलन रोकिने हैन, टेस्ट व्यापक हुनुपर्ने हो, त्यासो हुन सकेको छैन,’ कुशवाहाले भने, ‘अब पीसीआर परीक्षणका लागि स्थानीय सरकारले पहल गरोस् । कम्तिमा एक परिवारबाट एक जनाको टेस्ट भयो भने संक्रमणको अवस्था थाहा हुन्छ । संक्रमितलाई उपचार मिल्छ । अरु काममा निस्कन्छन् ।’
कुनै राजनीतिक दलको तर्फबाट नभई सचेत युवाहरु एक जुट भई अभियान सुरु गरिएकोले स्थानीय सरकारले यसको मनन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

‘विकासका काम पछि पनि गर्न सकिन्छ, मान्छे बाँच्यो भने मात्र विकास काम लाग्ने हुन्छ , मान्छे नै रहेन भने विकासको को के काम ? प्रदर्शनमा सहभागी युवाहरुले प्रश्न गरेका छन् । विकासका सबै काम रोकेर भएपनि अहिले स्थानीय सरकारको सम्पूर्ण ध्यान कारोना संक्रमण नियन्त्रण र रोकथाममा लाग्नुपर्ने र त्यसका लागि पीसीआर परीक्षण हुनुपर्ने उनीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment