२९ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा आगामी जुलाईमा तय भएको ट्राइ सिरिज स्थगित भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीको संकटका कारण तीन राष्ट्र सहभागी सिरिज स्थगित गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको छ ।
आईसीसीसँग स्कटल्याण्ड क्रिकेटले आग्रह गरेपछि यो सिरिज स्थगित गरिएको हो । कोभिड१९ महामारीको कारण स्कटल्याण्डमा हुने तय भएको नवौँ चरणको क्रिकेट विश्वकप लिग २ का खेलहरु स्थगित गरिएको छ । स्कटल्याण्ड क्रिकेटले अफिसियल वेवसाइटमा उल्लेख गरेको छ ।
स्कटल्याण्ड नेपाल र पपुवा न्युगिनी सम्मिलित यो सिरिज ४ देखि ११ जुलाईसम्म हुने तालिका थियो ।
स्कटल्याण्ड क्रिकेटले सिरिजको अर्को मिति तय गर्न सहभागी अन्य राष्ट्रसँग र आईसीसीसँग सहकार्य गर्ने जनाएको छ ।
आईसीसीको इभेन्ट्स हेड क्रिस टेट्लेले ट्राभल रेस्ट्रिकसन र ग्लोबल हेल्थ अहिले मुख्य चासोको विषय रहेकोले कोभिड-१९ को बारेमा जनस्वास्थय अधिकारीको सुझावसहित सदस्यहरुसँग सल्ला गरेर सिरिज स्थगित गरिएको जनाएका छन् ।
महामारीकै कारण आईसीसीले यसअघि तीनवटा विश्वकप लिग २ को सिरिज स्थगित गरिसकेको छ । जसमा नेपालले खेल्ने तय भएको दुई सिरिजसमेत स्थगित भएको छ । यस्तै अमेरिकामा हुने तय भएको ट्राई सिरिज पनि स्थगित भइसकेको छ ।
सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको विश्वकप लिग २ मा नेपालले अहिलेसम्म एउटा मात्र सिरिज खेलेको छ ।
