Comments Add Comment

प्रधानमन्त्री निवासको नाकैमुनि कसले उठायो आन्दोलन ?

गुप्तचर र प्रहरी भन्छन्- घुसपैठ भो, नेकपा भन्छ - अध्ययन गर्दैछौं

३० जेठ, काठमाडौं । केही दिनयता बालुवाटारबाट सुरु भएको सरकारविरोधी प्रदर्शनको ज्वाला देशभरिका शहरमा सल्किएको छ । गृह मन्त्रालयले प्रदर्शनमा रोक लगाउँदै कारवाहीको चेतावनी दिए पनि आन्दोलन घट्नुको साटो झन् बढ्न थालेको छ ।

अहिलेसम्म आन्दोलन कसले गरेको भनेर सरकारले पत्तो लगाउन सकेको छैन । प्रहरी र गुप्तचर निकायको बनिबनाऊ जवाफ छ- आन्दोलनमा घुसपैठ भयो Û तर, कसको घुसपैठ ? यसबारे सरकारी संयन्त्रले विश्लेषणै गर्न सकेको छैन ।

आन्दोलन कसले उठायो, किन उठ्यो र यसको समाधान कसरी हुन्छ ? अब यो केही दिनमा सेलाउँछ या अरु चर्किन्छ ? सरकारले विपक्षीलाई औंलो ठड्याउँदैमा यो आन्दोलन सेलाउला ? यसबारे सरकारी संयन्त्रहरु विश्लेषणै गर्न नसकेर कुहिरोको कागजस्तै बनेका छन् ।

आन्दोलनको मुस्लो रोकिने छाँटकाँट देखिएको छैन । जेठ ३० देखि असार ३ सम्म विभिन्न सहरमा प्रदर्शनहरु घोषणा भएका छन् । एक सातामा प्रदर्शनकारीहरुको फेसबुक ग्रुपमा डेढ लाख सदस्य बनिसकेका छन् ।

बालुवाटारबाट यो आन्दोलन कसरी उठ्यो र एकाएक सलहजसरी कसरी देशभरि फैलियो ? यसबारे चर्चा गर्नुपूर्व यो आन्दोलनका केही नयाँ परिदृश्यबारे चर्चा गरौं ।

कसैले पनि जिम्मेवारी नलिई स्वतस्फूर्त उठेको आन्दोलनमा युवायुवतीले बोकेका प्लेकार्ड र त्यसमा उल्लेखित नाराहरु अहिले सामाजिक सञ्जालमा आलोचना र बहसको विषय बनेका छन् । नाराहरु गैरराजनीतिक प्रकारका र कतिपय ‘स्लाङ्ग वर्ड’ (अपशब्द) हरुसमेत प्रयोग भएका छन् । सरकारविरुद्ध विभिन्न प्रकारले आक्रोश पोखिएका छन् ।

तोडफोड र हुलहुज्जत नगरिकनै शान्तिपूर्वक प्रदर्शनहरु कतिपय ठाउँमा अनुशासित र सामाजिक दुरी कायम गरेर प्रदर्शनहरु भएका छन् । तैपनि अहिलेसम्म नदेखिएको अनौठो परिघटना भएकाले होला, प्रदर्शनकारीले प्रयोग गरेका भाषालाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

यहाँ आन्दोलनमा प्रयोग गरिएका, चर्चा गर्न मिल्नेसम्मका केही ‘नारा’हरु हेरौं-

०००
ब्वाइफ्रेन्डको धोका सहन सकिन्छ,
तर, सरकारको सकिँदैन ।
००००
गभर्मेन्ट-गभर्मेन्ट एस पापा
प्रपर पीसीआर टेष्ट नो पापा
स्टिलिङ मनी नो पापा
ओपन योर फाइल हाहाहा…
०००
प्रहरी मेरो साथी
साथी कुट्न पाइँदैन !
००००
के भन्लिन् हाम्री आमाले
कुट्यो भन्दा मामाले
०००
होला माथिको आदेश
तर, तिम्रो पनि हैन र देश ?
०००
सेक्स इज गुड
बट गभर्मेन्ट रेपिङ अस इज नट गुड
स्टप करप्सन
००००
बरु …. हान
तर देश बनाउने धाक नहान
००००
सारा नेपाली सिड्नीमा
बजेट गयो किड्नीमा !
००००
काल आउने भैसक्यो, आज हो कि भोलि
कैले बुद्धि आउँछ तेरो ओई केपी ओली ?
०००
के पाइस् नेपाली ? केरा !
०००
हेप्नी ?
००००
म त हेर्न आको
०००
००००
एक करोडको कार्पेट !
०००
१० अर्ब खै ? नालायक सरकार
०००
१० अर्ब पचायो
भ्रष्टाचार गनायो
००००
माफ गर्नुहोला,
तपाईले सम्पर्क गर्न खोज्नुभएको सरकार
अहिले यस्तो समयमा पनि भ्रष्टाचार गर्न व्यस्त छ ।
००००
हामी भोट दिन्छौं
सरकार चोट दिन्छ
००००
१०० पर्सेन्ट पीसीआर
जीरो अनसेभ क्वारेन्टिन
०००
साइलेन्स इज भायलेन्स !
०००
घाममा उभिनु रहर हैन
सरकारलाई मेरो मतलब छैन
०००
भोकले मर्दा नि राजनीति लासमा थियो ।
बिचरा ऊ मुठ्ठीभर चामलको आशमा थियो ।

आन्दोलनकारी कलिला युवायुवतीहरुले प्रयोग गरेका माथिका नाराहरुमा सरकारविरुद्ध तीव्र आक्रोश देखिन्छ । केही नाराहरु ‘भल्गर’ जस्तै लागे पनि भ्रष्टाचारको विरोध र पीसीआर टेस्टलाई बढाउनुपर्ने मागहरु हेर्दा यसलाई अराजनीतिक भन्न मिल्दैन ।

थरिथरिका प्रतिक्रिया

सुरुमा बालुवाटारबाट र पछि देशैभरि फैलिएको यो आन्दोलनलाई लिएर सत्तापक्ष र प्रतिपक्ष अनि आम नागरिक समुदायबाट विभिन्न खाले प्रतिक्रिया सुनिएका छन् ।

सत्तापक्षका नेता-कार्यकर्ताहरु यो प्रदर्शनबाट सामाजिक दूरी कायम नभएको र यसबाट कोरोना महामारी फैलिने बताउँदैछन् । सत्तापक्षका मानिसहरुको तर्क यस्तो छ-

-कसैले उचालेर जुलुस निकालिएको हो ।
-संविधान संशोधन हुनै लागेका बेला जुलुस निकालेर भारतको पक्षपोषण गरियो ।
-भारतीय रअले चलखेल गरेको हो ।
-विवेकशील पार्टीले उचालेको हो ।
-कांग्रेस नेताहरुले उचालेको, यसमा गगन थापाको हात छ ।
-सरकारलाई असफल बनाउन देशी-विदेशी प्रतिक्रियावादीले उचालेर सडकमा मान्छे उतारेका हुन् ।
-राजनीतिलाई घृणा गर्नेहरुको जुलुस हो ।
-खान पुग्नेहरु धनीमानीहरुको जुलुस हो ।
-डलरको खेती गरिएको हो । आदि आदि

विपक्षी पार्टीका नेता-कार्यकर्ताहरु चाहिँ यो प्रदर्शनलाई कसैले उचालेको नभई स्वतस्फूर्तरुपमा प्रकट भएको जनअसन्तुष्टिका रुपमा व्याख्या गरिरहेका छन् । सरकारकै कमजोरीका कारण जनता आजित भएर स्वस्फस्ूर्त सडकमा आएको उनीहरुको तर्क छ । राजनीतिमा खासै चासो नभएका देशैभरिका युवाहरु यसरी सडकमा आएको विषयमा गम्भीर रुपमा लिन र उनीहरुमाथि दमन नगर्न साझा पार्टी लगायतका दलले विज्ञप्ति नै जारी गरेका छन् ।

युवापुस्ताले आफ्नो सरकारसँग जायज माग राखेर सडकमा प्रदर्शन गर्दा यसलाई अनेक लाञ्छना लगाउने र दमन गर्ने हो भने जनतामा नेकपा सरकारप्रति जन आक्रोश अरु बढ्न सक्ने विश्लेषण सत्ताइत्तर नेता कार्यकर्ताहरुको तकृ छ ।

आखिर यो आन्दोलन कसरी उठ्यो ? के यसमा कतैबाट घुसपैठ भएकै हो त ? वा स्वतःस्फूर्त रुपमा सरकारविरुद्ध भएको विरोध हो ? यसबारे सत्तापक्ष, प्रतिपक्ष सबै अल्मलिएको अवस्था छ । अहिले घुसपैठ भएको छ या छैन भन्न सकिँदैन । र, भोलि यो विरोधको लप्कालाई कुन शक्तिले प्रयोग गर्छ, त्यो पनि अहिल्यै बताउँन सकिँदैन ।

कसरी सुरु भयो आन्दोलन ?

एकै हप्तामा आन्दोलन कसरी चर्कियो भनेर हामीले सोधीखोजी गर्‍यौं ।

सुरुमा केही सीमित युवाहरुले Covid-19 Nepal: Enough Is Enough! एउटा फेसबुक समूह बनाएका थिए । सरकारले पीसीआर टेस्ट गरेन, भ्रष्टाचार भयो, यो त अति नै भयो भन्दै उनीहरुले सामाजिक सञ्जालमा लबिङ थाले । सुरुमा उनीहरु भर्चुअल लबिङको पक्षमा थिए । तर, वीचमा बालुवाटारमा प्रदर्शन नै गर्ने सल्लाह भयो । र, प्रदर्शन पनि भयो ।

हुँदाहुँदै यो ग्रुपमा १ लाख ५५ हजार ३९२ जनाले ज्वाइन गरे । काठमाडौं बाहिर पनि प्रदर्शन हुन थाल्यो । बालुवाटारको दोस्रोपटकको प्रदर्शनले एकाएक विशाल रुप लियो । पछिल्लो ३० दिनमा यो ग्रुपमा १० हजार भन्दा बढी मेम्मरहरु थपिएको देखिन्छ ।

सुरुमा यो फेसबुक ग्रुपमा विवेकशील पार्टीका केही युवाहरु पनि पार्टीको निर्णयविनै व्यक्तिगतरुपमा लागेका थिए । तर, स्थिति अनियन्त्रित हुँदै गएपछि अहिले उनीहरु पनि आत्तिएको स्रोत बताउँछन् । विवेकशील पार्टीले यो आन्दोलनको जिम्मा लिएको छैन । कसरी देशभरि आगोको ज्वालाजसरी फैलियो भन्नेमा विवेकशीलकै नेताहरु आश्चर्यमा परेका छन् । उनीहरु भन्छन्, यो अब हाम्रो नियन्त्रणमा छैन ।

फेसबुक ग्रुपमा राखिएको सूची हेर्दा आगामी आन्दोलनका कार्यक्रमहरु असार १ सम्म तोकिएका छन्, जसमा शनिबार माइतीघर मण्डलामा ‘बृहत’ प्रदर्शन गर्ने भनिएको छ ।

अब यो आन्दोलन चर्किँदै गयो र प्रहरीबाट दमन भयो अनि क्षति हुन पुग्यो भने कसले जिम्मा लिने भन्ने अनिश्चित छ । तर, सरकारले गाली गरेर, तर्साएर र पानीको फोहोरो मात्रै हानेर यो आक्रोश साम्य हुने स्थिति पनि देखिँदैन । जनतामा आक्रोश थपिँदै गयो भने यसले सरकारलाई अप्ठ्यारोमा पार्ने संकेत देखिइसकेको छ ।

यसबारे हामीले सत्तारुढ दलका नेताहरुलाई पनि सोध्यौं । युवापुस्ताको यो प्रदर्शनलाई तपाईहरुले कसरी हेरिरहनुभएको छ ? जवाफमा एक नेताले भने- हामी यसबारे अध्ययन गरिरहेका छौं ।

यो पनि पढ्नुहोस आन्दोलनकारीलाई सरकारको आग्रह : कोरोनाको उच्च जोखिमप्रति संवेदनशील हुनुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment