Comments Add Comment

बन्द रंगशालामा मेसीलाई भेट्न दर्शक मैदानमै पुगेपछि…

३२ जेठ, काठमाडौं । कोरोनाभाइरस महामारीपछि अहिले फुटबल बन्द रंगशालामा हुन थालेको छ । जर्मनी, इटली, स्पेनमा दर्शकबिना नै फुटबल फेरि सुरु भएको छ । कोरोनाको सम्भावित संक्रमणबाट रोक्न अहिले रंगशालामा दर्शकहरुलाई प्रवेश गराइएको छैन ।

तर गएराति स्पानिस ला लिगा अन्तर्गत बार्सिलोना र मालोर्काबीचको खेलमा अनौठो दृश्य देखियो । मालोर्काको मैदानमा भएको खेलमा बार्सिलोना ४-० ले विजयी भयो । कप्तान लिओनल मेसीले गोल गरे ।

यसबीच एक जना दर्शक मेसीलाई भेट्न भन्दै मैदानमै पुगे । त्यो विषयले झन् चर्चा पायो । एक त बन्द रंगशाला भएको खेल, त्यसमा पनि दर्शक मैदानसम्म पुग्नु अनौठो नै थियो ।

खेलको ५२औं मिनेट चलिरहँदा एक जना मेसीका फ्यान मैदानमा पुगे । उनले मेसी लेखिएको १० नम्बर जर्सीसमेत लगाएका थिए ।

उनले सुरुमा जोर्डी अल्बालाई भेटेर आफूले मेसीलाई भेट्न चाहेको बताए । तर ६ पटकका बालोन डे ओर विजेता मेसीलाई भेट्नुअघि नै सेक्युरिटी गार्डले ती फ्यानलाई पक्रेर मैदानबाट बाहिर निकाले ।

उक्त फ्यानले पछि स्पानिस रेडियो काडेना कोपसँग आफूले फुटबल मैदान फर्कने थाहा पाएपछि नै यो योजना बनाएको बताएका छन् । ‘यो म्याच हुँदैछ भन्ने थाहा पाएपछि नै मैले योजना बनाएको थिएँ । मैले मेसीसँग भेट्न र फोटो खिच्न चाहेको थिएँ, किनकी उनी मेरो आदर्श हुन्,’ मालोर्कामा बस्दै आएका ती फ्रेन्च नागरिकले भने । उनले आफ्नो नाम भने भन्न चाहेनन् ।

यद्यपि उनको फोटो त आयो तर उनले चाहे जस्तो भने भएन । ‘मैले फोटो पाएँ तर यो राम्रो थिएन र पुलिसले मलाई डिलिट गर्न लगाए । मैले जोर्डी अल्बालाई रोक्दै भनेँ कि म मेसी भएको ठाउँमा जान चाहन्छु । यो राम्रो अनुभव थियो,’ उनले भनका छन् ।

मालोर्काले मैदानमा दर्शक प्रवेश गरेको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । स्पानिस न्युजपेपर एएसका अनुसार उनी सेक्युरिटीलाई छल्दै दक्षिण स्ट्याण्डबाट उनी मैदान पुगेका थिए ।

सुरक्षाको प्रोटोकल अनुसार २२९ जनालाई मात्र मैदान प्रवेशको अनुमति थियो । अब लिगको अनत्यसम्म यही लागु हुनेछ । नयाँ प्रोटोकलले टिमहरु कसरी मैदान प्रवेश गर्ने भन्ने गाइडलाइन्स समेत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment