Comments Add Comment

आत्मघाती गोल घातक बन्दा सेभिया बराबरीमा रोकियो

२ असार, काठमाडौं । स्पानिस ला लिगामा तेस्रो स्थानको सेभिया आफ्नै गल्तीले गर्दा लेभान्टेसँग बराबरीमा रोकिएको छ । आफ्नै खेलाडीले खेल सकिन तीन मिनेट बाँकी छँदा आत्मघाती गोल गरेपछि सेभिया लेभान्टेसँग १-१ को बराबरिमा रोकिएको हो ।

लेभान्टेको मैदानमा भएको खेलमा ४६औं मिनेटमा लुक जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर ८७औं मिनेटमा डिएगो कार्लोस्ले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीपछि २९ खेलबाट ५१ अंकसहित सेभिया तेस्रो स्थानमै छ । ३५ अंक रहेको लेभान्टे १२औं स्थानमा छ ।

यस्तै, रियल सोसिडाड पनि ओसासुनासँग १-१ कै बराबरीमा रोकिएको छ । एड्रिएन लोपेजले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा मिकेल ओयाजाबलले सोसिडाडको लागि बराबरी गोल फर्काए ।

बराबरीपछि २८ खेलबाट ४७ अंक जोडेको सोसिडाड गेटाफेलाई एक अंकले पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ३५ अंक रहेको ओसासुना ११औं स्थानमा छ ।

ला लिगाकै अर्को खेलमा ग्रानडा र रियल बेटिसले २-२ को बराबरी खेलेका छन् । रोवर्टो सोल्डाडोले इन्जुरि टाइममा गोल गरेपछि ग्रानडाले अंक खोस्न सफल भएको थियो । त्यसअघि कार्लोस फर्नान्डजेले २९औं मिनेटमा गोल गर्दै ग्रानडालाई अग्रता दिलाएका थिए । त्यो अग्रतालाई ८५ मिनेटसम्म जोगाए पनि त्यसपछि बेटिसले लगातार दुई गोल गरेका थियो ।

बेटिसका लागि सर्जी क्यानालेसले ८५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ८८औं मिनेटमा क्रिस्टियन टेलोले गोल गर्दा बेटिस जितनजिक पुगेको थियो । तर सोल्डाडोले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

ग्रानडा २९ खेलबाट ४२ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ । समान खेलबाट ३४ अंक रहेको बेटिस १३औं स्थानमै यथावत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment