Comments Add Comment

‘हामी जर्मनीको बेस्ट टिम हौँ’

३ असार, काठमाडौं । बायर्न म्युनिखले मंगलवार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेपछि रोबर्ट लेवान्डोस्कीले आफ्नो टिम जर्मनीकै बेस्ट टिम भएको प्रमाणित गरेको बताए ।

लेवान्डोसकीकै हाफ भली गोलमा बायर्नले वेडर ब्रेमेनलाई १-० ले पराजित गरेको थियो ।

बायर्न ३०औं पटक जर्मन च्याम्पियन बनेको हो । बायर्नले बुण्डेसलिगामा पछिल्लो वर्ष आफ्नो पकडलाई बलियो बनाएर राखेको छ । ‘हामीले देखायौं कि हामी जर्मनीको सर्वश्रेष्ठ टीम हौं,’ लेवान्डोस्कीले भने।

लेवान्डोस्कीले पहिलो हाफ सकिन दुई मिनेट अघि छातीले बल कन्ट्रोल गर्दै गोल गरेका थिए । तर टिनएजर अल्फन्सो डेभिसले रातो कार्ड पाएपछि बायर्नले अन्तिम ११ मिनेट दश खेलाडीमा रहेर खेलेको थियो ।

पहिलो ४५ मिनेट बायर्नले दबाब बनाएको थियो । ४३औं मिनेटमा लेवान्डोस्कीले सेन्टर ब्याक जेरोम बोएटेङको पासमा गोल गरे ।

पोलिस स्ट्राइकरको यस सिजन यो ३१औ गोल हो र उनको करियरकै बेस्ट हो । उनी पाँचौ पटक लिगको सर्वाधिक गोलकर्ता हुने अभियानमा छन् ।

यस्तै गत नोभेम्बरमा निको कोभाकलाई बर्खास्त पछि प्रमुख प्रशिक्षक बनेका हान्सी फ्लिकले आफ्नो पहिलो सिजनमा बुन्डेसलिगमा जित्न सफल भए ।

कोरोनाभाइरस लकडाउनले पनि बायर्नको गति रोक्न सकेन । च्याम्पियन बायर्नले गत महिना फेरि सुरु भएको प्रतियोगितामा लगातार आठ खेल जितेको थियो ।

जर्मनीले सन २०१४ मा विश्वकप जित्दा सहायक प्रशिक्षक रहेका फ्लिकले यस सिजन ट्रेबल जित्ने सम्भावनालाई कायम राखेका छन् ।

बायर्नले जर्मन कपको फाइनलमा जुलाई ४ मा बायर लेभरकुजनसँग खेल्दैछ । यस्तै च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा चेल्सीसँग खेल्न बाँकी छ । पहिलो लेग जर्मन क्लबले ३-० ले जितिसकेको छ ।

‘यो बायर्न म्युनिख हो, लक्ष्यहरु सधैं उच्च हुन्छन्,’ क्लब अध्यक्ष हेनर हर्बर्टले यस सिजन ट्रेबल लक्ष्य हो भनेपछि फ्लिकले भनेका थिए ।

‘हामी अब हाम्रो पहिलो ठूलो लक्ष्यमा पुगेका छौं, कप अब अर्को लक्ष्य, त्यसपछि च्याम्पियन्स लिग हो, तर तपाईं यसको लागि योजना बनाउन सक्नुहुन्न,’ उनले भने ।

घरेलु मैदानमै पराजित भएपछि ब्रेमेन रेलिगेसनको सुरक्षाबाट ३ अंकमात्र माथि छ । लिगमा अब २ खेल बाँकी छ । ब्रेमेनले अब शनिवार माइन्ज वा सिजनको अन्तिम खेलमा कोलन विरुद्ध जित हात पार्नुपर्नेछ ।

ब्रेमेनमा गएर बायर्नले लगातार १३औं खेल जितेको हो ।

यस नतिजापछि बायर्नका स्टार थोमस मुलरले फ्रांक रिवेरीसँगै ९ पटक लिग जित्ने कीर्तिमान बराबरी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment