Comments Add Comment

सुदूरपश्चिममा एक साताभित्र २६५ संक्रमित थपिए

३ असार, डोटी । सुदूरपश्चिम प्रदेशमा एक साताभित्र दुई सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

यो अवधीमा प्रादेशिक प्रयोगशाला धनगढीमा एक हजार तीन सय ४३ जनाको आरटि पीसीआर परीक्षण गरिएकोमा द्द सइ ६५ जना कोराना भाइरस (कोविड–१९) बाट संक्रमित भएको पाइएको हो ।

सेती प्रादेशिक अस्पतालले प्रत्येक २४ घण्टामा जारी गरेको विज्ञप्तीअनुसार गत २८ जेठदेखि २ असारसम्म उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएका संक्रमितसँगै प्रदेशमा कुल संक्रमितको संख्या तीन सय ३६ पुगेको छ ।

एक साताको अवधीमा कैलालीमा सबैभन्दा बढी ९५ जना संक्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा ६१, डोटीमा ३१, डडेल्धुरामा २७, बैतडीमा २१, बाजुरामा २०, अछाममा ४ र बझाङ्गमा ६ जना थपिएका छन् । यो साता दार्चुलामा भने एक जना पनि संक्रमित नथपिएको सेती प्रादेशिक अस्पतालको तथ्यांकले देखाएको छ ।

सुदूरपश्चिम प्रदेशमा भारतबाट मात्रै दुई लाख बढी मानिसहरु भित्रिएका छन् तर सोमवारसम्म स्वाब परीक्षण ६ हजार सात सय ९७ जनाको मात्रै भएको छ । क्वारेन्टिनमा बसेकाहरुलाई आरडिटीकै भरमा छोड्नाले प्रदेशको अवस्था झन् डरलाग्दो हुने देखिएको छ ।

जेठ २८ गते दुई सय २० जनाको स्वाब परीक्षण भएकोमा कैलालीमा एक महिला र २० पुरुष गरि २१ जना थपिए । यस्तै कञ्चनपुरमा सात पुरुष, डोटीमा दुई महिला र दुई पुरुष गरी चार जना र डडेल्धुरामा एक पुरुष थपिएका थिए ।

जेठ २९ गते दुई सय १२ जनाको स्वाव परीक्षण भएको  थियो । सो परीक्षणबाट बाजुरामा नौ महिला सहित १८ जनामा संक्रमण देखिएको थियो । यस्तै कैलालीमा सात, अछाममा एक र बझाङ्गमा एक गरी नौ जना पुरुषहरुमा पनि कोरोना भाइरसको संक्रण पाइएको थियो ।

जेठ ३० गते प्रादेशिक प्रयोगशालामा एक सय ५० नमुना परीक्षण भएका थिए, जसमा ३४ जनामा संक्रमण भएको पाइएको थियो । कैलालीमा एक महिला र २० पुरुष सहित २१ जना र डोटीमा दुई महिला र दुई पुरुष गरी चार जनामा संक्रमण देखिएको थियो । यस्तै कञ्चनपुरमा सात, डडेल्धुरामा एक र बाजुरामा एक गरी नौ जना पुरुषमा पनि सोही दिन संक्रमण देखिएको थियो ।

जेठ ३१ गते साताकै सवैभन्दा बढी स्वावहरु परीक्षण भएको प्रादेशिक अस्पतालको विज्ञप्तीले देखाउँछ । त्यस दिन भएका दुई सय ७६ जनाको स्वाब परीक्षणबाट ६४ जनामा संक्रमण भएको पाइएको छ । बझाङ्गमा दुई महिलासहित पाँच, डडेल्धुरामा दुई महिलासहित २४ र डोटीमा एक महिलासहित तीन जना संक्रमित सो दिन थपिएका थिए । सोही दिन कैलालीमा एक महिलासहित ११ जना र कञ्चनपुरमा तीन महिलासहित २१ जना संक्रमित थपिएका थिए ।

जेठको अन्तिम दिन ३२ गते प्रादेशिक प्रयोगशालामा दुई सय १२ नमूना परीक्षण भएका छन् । सो दिन भने तुलनात्मक रुपमा कम संक्रमितहरु भेटिएका छन् । कैलालीमा एक महिलासहित १२ जना, कञ्चनपुरमा पुरुष आठ जना, डडेल्धुरामा पुरुष एक जना र बाजुरामा पुरुष एक जना गरी सो दिन २२ जना संक्रमित थपिएका थिए ।

सोमवार हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिए । एक सय ८४ जनाको स्वाव परीक्षण भएकोमा ६८ जना अर्थात् परीक्षण भएका नमुनाको करीव ३७ प्रतिशतमा कोरोनाको संक्रमण भएको पाइएको छ । सोमवार बैतडीमा एक महिलासहित २१ जना, डोटीमा एक महिलासहित २० जना, कैलालीमा एक महिलासहित १३ जनामा संक्रमण देखिएको हो । यस्तै कञ्चनपुरमा ११ र अछाममा तीन गरी १४ जना पुरुष पनि संक्रमित पाइएका छन् ।

यस्तै मंगलवार १७ जना नयाँ संक्रमित थपिएका छन् । कैलालीमा तीन महिलासहित १० जना र कञ्चनपुरमा सात पुरुषमा संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment