४ असार, काठमाडौं । स्पानिस ला लिगामा एट्लेटिको मड्रिडले फराकिलो जित हात पारेको छ । गएराती भएको खेलमा एट्लेटिकोले ओसासुनालाई ५-० ले पराजित गरेको हो । एट्लेटिकोका लागि जाओ फेलिक्सले दुई गोल गरे ।
जितपछि एट्लेटिकव चौथो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ ।
ओसासुनाको मैदानमा भएको खेलमा एट्लेटिकोले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा चार गोल गरेको थियो । खेलको २६औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।
५६औ मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ७९औं मिनेटमा मार्कोस लरेन्टले एट्लेटिकोका लागि तेस्रो गोल गरे । ८२औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई ४-० को अग्रता दिलाए । ८८औं मिनेटमा यानिक कारास्कोले गोल गरेपछि एट्लेटिकोले फराकिलो जित हासिल गरेको हो ।
जितपछि २९ खेलबाट ४९ अंक जोडेको एट्लेटिकोले रियल सोसिडाड र गेटाफेलाई २ अंकले पछि पारेको छ भने तेस्रो स्थानको सियासंग अंकदूरी २ मा झारेको छ । सोसिडाडले एक खेल कम खेलेको छ ।
प्रतिक्रिया 4