+
+
Shares

सप्तरीमा धमाधम ढालिँदैछन् सालका रूख, बालुवामा लुकाएर रातारात निकासी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते ९:३०

५ असार, सप्तरी । सप्तरीमा वनभित्रै काँचा सालका रुख ढालेर काठ चोरी निकासी गर्ने क्रम अत्यधिक बढेको छ । कोरोना संक्रमणबाट बच्न लकडाउन गरिएको मौकामा काठ चोरी गर्ने गिरोह सकृय भएका छन् ।

जिल्लाको कन्चनरुप नगरपालिकास्थित एक सामुदायिक वनभित्रै सालका काँचो रुख ढालेर त्यहीं चिरान गर्दै गरेको भिडियो अनलाइनखबरलाई प्राप्त भएको छ । भिडियोमा चार जनाले दुई वटा चिरान मेसिन प्रयोग गरिरहेको देखिन्छ । दुई जना महिला ढालिएका रुखका हाँगा काटिरहेका छन् । एक जना भने उभिएर हेरिरहेका छन् ।

कन्चनरुप नगरपालिका वडा नम्बर ६ स्थित गोरराजा नमुना सामुदायिक वनभित्रका रुखहरु धमाधम ढालेर त्यहीँ चिरान गरिएको हो । रुखलाई चिरान गरी ट्याक्टरमा राखेर माथिबाट बालुवाले छोपेर रातिको समयमा निकासी गर्ने गरेको स्रोतले जनाएको छ ।

स्थानीयका अनुसार सामुदायिक वनका पदाधिकारीकै मिलोमतोमा वन क्षेत्रबाट रुख कटान भइरहेको छ । पदाधिकारीले नै विपन्न मजदुरलाई काठ काटेर ल्यान पठाउने गरेका छन् । यस वापत उनीहरुलाई केही रकम र दाउरा दिने गरिएको स्थानीयको भनाइ छ ।

यद्यपि पदाधिकारीहरु यो कुरा मान्न तयार छैनन् । गोरराजा नमुना सामुदायिक वनका अध्यक्ष सुलेमान मियाँ वन क्षेत्रभित्रै काठ चिरान भइरहेको कुरा आफूलाई जानकारी नै नभएको बताउँछन् । लकडाउनको समयमा केही चोरी, तस्करी हुने गरेको स्वीकार गरे पनि उनले उक्त घटनाबारे भने आफू अनभिज्ञ रहेको बताए ।

वनका सचिव रमानन्द साह पनि लकडाउनकाबीच थोरै चोरी बढेको स्वीकार्छन् । तर, वनमै रुख ढालेर चिरान गरिएकोबारे आफूलाई जानकारी नभएको उनी बताउँछन् ।

२४ घण्टे गस्तीकाबीच चोरी, तस्करी

वन डिभिजन कार्यालय, सप्तरीका प्रमुख सन्तोष झा लकडाउनकाबीच पनि वन क्षेत्रमा २४ घण्टे गस्ती हुने गरेको बताउँछन् । ‘२४ सै घण्टा हाम्रो गस्ती रहन्छ,’ उनले भने, ‘यसबाहेक विशेष सुराकीको आधारमा पनि हामी गस्ती गर्नुका साथै खटिने गरेका छौं ।’

उनको भनाइलाई मान्ने हो भने वन क्षेत्रमा यस किसिमका चोरी, तस्करी नहुनुपर्ने हो । तर खुल्ला रुपमा वन क्षेत्रमै रुख ढालेर त्यहीँ चिरान समेत गरी काठ चोरी गर्ने काम भइरहेकै छ ।

डिभिजन कार्यालय प्रमुख झा उक्त घट्नाबारे आफूलाई जानकारी नभएको बताउँछन् । ‘यसबारे बुझ्छु,’ उनी भन्छन्, ‘दोषीलाई कार्वाही हुन्छ ।’

वन कार्यालय अगाडिबाटै ओसारिन्छ काठ

कन्चनरुप नगरपालिका ८ मा सवडिभिजन वन कार्यालय छ । तर, यही कार्यालय अगाडिबाट दैनिक रुपमा काठ र दाउरा बोक्नेहरु ओहोरदोहोर गर्छन् । वन क्षेत्रबाट काठ र दाउरा साइकलमा ल्याउनेहरु यहीँ बाटो हिँडिरहेका हुन्छन् ।

जिल्ला वन डिभिजन कार्यालय प्रमुख झा वन क्षेत्रबाट सुख्खा दाउरा ल्याउनेलाई कुनै रोकटोक नभएको बताउँछन् । रुख काटेर तथा चिर्पट काठ ल्याउनेहरुलाई कार्वाहीको दायरामा ल्याउने गरिएको बताउँछन् उनी । यद्यपि अहिले लकडाउनको समयमा समातेर राख्न जोखिम रहेको उनको भनाइ छ ।

वन क्षेत्रको चोरी, तस्करीमा संलग्न व्यक्तिलाई सामुदायिक वनका पदाधिकारीलाई आफ्नो विधान र कार्ययोजना बमोजिम कार्वाही गरेर जानकारी गराउन भनेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?