
हामीलाई थाहा छ, व्यायामले शरीरलाई स्वस्थ्य, जवान, तन्दुरुस्त र फुर्तिलो राख्छ । तर हामीलाई थाहा छैन, व्यायामका आधारभूत शर्त के हुन् ? कस्तो अवस्थमा व्यायाम गर्ने, कसरी गर्ने, यसका विधि एवं तौर तरिका के हुन् ?
जब व्यायामबारे यावत जानकारी हुन्छ। तब मात्र त्यसबाट समुचित फाइदा लिन सकिन्छ । त्यसैले व्यायाम गरिरहँदा वा व्यायाम गर्नुअघि केही कुराहरू जान्नेपर्छ ।
अर्को महत्वपूर्ण कुरा, यदि आफूलाई कुनै रोग छ वा कुनै औषधि सेवन गरिरहनुभएको छ वा कुनै किसिमको शारीरिक समस्या छ भने आफ्नो हिसाबले व्यायाम गर्नु उचित हुँदैन। व्यायाम गर्नुअघि चिकित्सकसँग परामर्श लिनैपर्छ ।
कसरी गर्ने
व्यायाम सुरु गरेपछि त्यसलाई एउटा निश्चित र सन्तुलित गतिमा गर्नुपर्छ । एकछिन व्यायाम गर्ने, बस्ने, फेरि गर्ने जस्ता गतिविधिले समुचित व्यायाम हुँदैन । व्यायामले मुटु र श्वासप्रश्वासको गतिलाई क्रमश: बढाउँदै लैजानुपर्छ । यसरी व्यायाम गरिरहँदा पसिना आउनुपर्छ ।
- यसरी व्यायाम गर्दा शरीरका सम्पूर्ण जोर्नीहरू चलाइएको हुनुपर्छ।
- व्यायामले बाहिरी अंग मात्र होइन, भित्री अंगहरू मुटु, फोक्सो, कलेजो, मिर्गौला, मस्तिष्क, पेट आदिलाई पनि फाइदा गर्ने किसिमले गर्नुपर्छ ।
कति समय गर्ने ?
व्यायामको एक निश्चित समय छ । कम वा धेरै समयसम्म व्यायाम गर्नु उचित मानिँदैन । एकपटक सुरु गरेपछि निरन्तर २० देखि ३५ मिनेटसम्म व्यायाम गर्नु उचित हुन्छ । अत्यधिक व्यायामले पनि शरीरलाई हानि गर्छ ।
कसले गर्ने व्यायाम ?
व्यायाम सबैका लागि उपयुक्त एक सर्वोत्तम विधि हो । बालबच्चा, बुढापाका, गर्भवती, रोगी सबैले व्यायाम गर्न सक्छन् । यद्यपि उनीहरूका लागि सबै व्यायाम उपयुक्त हुँदैन । आफ्नो शारीरिक अवस्था अनुसार साधारण व्यायाम गर्न सक्छन् । यसका लागि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ।
एक स्वस्थ व्यक्तिले भने जुनसुकै किसिमको व्यायाम गर्न सक्छन् ।
कहाँ गर्ने ?
व्यायामका लागि सबैभन्दा उपयुक्त हुन्छ, खुला चौर, बगैँचा । हरियाली भएको, शान्त ठाउँ, खुला ठाउँ व्यायामको लागि सर्वोत्तम हो । यद्यपि छतमा, कोठामा पनि व्यायाम गर्न सकिन्छ । कतिपय व्यायाम आफ्नो ओछ्यानमै बसेर, आफ्नो कुर्सीमै बसेर पनि गर्न सकिन्छ ।
कुन समयमा गर्ने ?
व्यायामका लागि सर्वोत्तम समय हो, बिहान । त्यस समयमा वायुमण्डलमा शुद्ध हावा हुन्छ, वातावरण शान्त हुन्छ, शरीर ऊर्जावान हुन्छ । त्यसैले बिहान व्यायाम गर्नु उचित हुन्छ । यद्यपि समय अनुकूल मिलाएर बिहान, दिउँसो, राति जतिबेला पनि व्यायाम गर्न सकिन्छ ।
केही सावधानी
-खाना खानासाथ व्यायाम गर्नुहुँदैन ।
-कुनैपनि शारीरिक समस्या भएको अवस्थामा आफूखुसी व्यायाम गर्नुहुँदैन ।
-लामो समय वा अत्याधिक व्यायाम हानिकारक हुन्छ ।
-हतारमा वा कडा व्यायाम गर्नु फाइदाजनक हुँदैन ।
प्रतिक्रिया 4