Comments Add Comment

आईओएममा सधैं जालझेल र सत्ताको खेल

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) फेरि एकचोटि निस्सारताको राजनीतिक भूमरिमा फसेको छ। कच्चा र प्रलोभनशील मानिसहरुको राजनीतिक दाउका कारण सधै यस्तै तिक्तता सहँदै आएको आईओएम नयाँ डिन नियुक्ति प्रकियाले फेरि आफ्नो साधारण चक्र भन्दा बाहिर बहकिएको छ।

 त्रिविले वरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने पद्धतिलाई बिगारेर शिक्षण अस्पताल, महराजगन्जको मिर्गौला विभाग प्रमुख डा.दिव्या सिंह शाहलाई नियुक्ति दिएसँगै आईओएमको मौसम एक्कासी बदलिएको छ।

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीको निजी चिकित्सक रहेकै कारण वरिष्ठताको क्रममा ३३औ नम्बरमा रहेकी डा शाह नियुक्त भएसँगै डिन नियुक्त गर्न बनेको सिफारिस कमिटी सामुन्ने पनि प्रश्नहरु खडा भएका छन्।

विश्वविद्यालय भन्दा बाहिरका र डा.शाह अनुकूलका मान्छे सिफारिस कमिटीमा राखिएको भनेर पनि विरोधहरु आएका थिए। स्वच्छ छवि बनाएर आफ्नो उमेर हदका कारण निवर्तमान डिन डा अग्रवालले अवकाश पाएपछि  अरु वरिष्ठ प्राध्यापकहरुले छोटो छोटो समयमा अवकाश पाउने भएका कारण पनि चौथो वरियताका डा.योगेन्द्र प्रसाद सिंह डिनका लागि प्रवल दावेदार मानिन्थे।तर, सिफारिस कमिटीले क्रमश:डा प्रदीप वैद्य, डा.शाह र उत्तम श्रेष्ठको नाम सिफारिस गरे पनि  दशौं वरियताका डा.वैद्यलाई समेत पन्छाउदै तेत्तिसौं वरियताकी डा.शाहलाई नियुक्त गर्दा ठुलै राजनीतिक चलखेल गरिएको स्पष्ट बुझ्न सकिन्छ।

हुन त यो नौलो कुरा भने थिएन। धेरै अगाडिदेखि नै डा. शाहको चर्चा चलिरहेकै थियो। विगतमा विभिन्न लाभका पदहरु उनले लिइसकेको उदाहरण समाजमा व्याप्त छन्।चिकित्सा शिक्षा आयोगको सदस्य देखि स्वास्थ्य विभाग अन्तर्गतको मानव अंग प्रत्यारोपण समन्वय समितिको संयोजक सम्मको जिम्मेवारी उनकै कोल्टोमा छ। प्रधानमन्त्रीको निजी चिकित्सक भएकै कारण राज्यमन्त्री सरहको सेवा सुविधा लिने उनी नाम चलेकै निजी अस्पतालका युनिटहरुको कार्यकारी भूमिकामा समेत रहेकी छिन्। आखिर यतिका ‘पावरफूल’ हुदाहुदै पनि किन उनलाई वरिष्ठताको प्रक्रिया नै मिचेर डिन हुने इच्छा जाग्यो त? भन्ने प्रश्न पनि मननयोग्य छ।

अचम्मको कुरा त १० वर्ष अघि देखि नै बारम्बार वरिष्ठता का आधारमा आईओएममा डिन नियुक्त हुनु पर्छ भन्दै डा.गोविन्द केसीले गर्दै आएका अनशन रुपी आन्दोलनहरुमा दरो खम्बा जस्तै बनेर साथ दिएकी डा.शाह आज एकाएक त्यही प्रक्रिया मिचेर आफू सत्तामा पुग्न खोज्नुले समस्त शुभचिन्तकहरुलाई समेत निराश तुल्याएको छ।उपकुलपति बाँस्कोटाले जति नै मिथ्याहरु सिर्जना गरेर यो प्रक्रियालाई सहीछाप लगाउन खोजे पनि सत्य सबैको सामु छर्लंग नै छ।

यस अघि वरिष्ठताकै आधारमा डिन नियुक्त हुदै आएको राम्रो थिति बिगार्न गरिएका राजनीतिक पहुँचका आधारमा गरिएका नियुक्तिहरु हामीलाई मान्य हुने कुरै छैन। र, डा. केसीलाई समेत मान्य नभएको कुरा सञ्चारमाध्यममा आइरहेका छन्। विभिन्न प्राध्यापक, कर्मचारी एवं विद्यार्थी संगठनले यो प्रक्रियाको विरोध जनाइसकेका छन्।यसकै प्रतिफल स्वरुप डिन कार्यालयमा ताला समेत लागिसकेको छ।आईओएम को मर्मस्थान मानिने डिन कार्यालय र यसको कार्यकारी व्यक्ति छनोटमा हुने जालझेलको श्रृंखला कहिले अन्त्य हुन्छ ? भन्ने प्रश्नले हामी सरोकरावालाहरु पनि घेरिएका छौं।

आईओएम दक्षिण एसियामा नै चिकित्सा शास्त्र अध्ययनका लागि उत्कृष्ट गन्तव्य मानिन्छ।दक्ष प्राध्यापक,शिक्षण अस्पतालमा बिरामीको चाप र क्षमताको उचित मूल्यांकन हुने परिपाटीका कारण त्रिविका अन्य संस्थान भन्दा छुटै छाप र अस्तित्व आईओएमको थियो र अलि अलि छ।तर, विस्तारै यस्को साख गिर्दै पनि छ।

अनावश्यक महत्वाकांक्षाका राजनीतिक सिकन्दरहरुले एउटा सत्ताको नमिठो आसक्तिमा आईओएमलाई डुबाइदिएका छन् र आफू मस्त चिर निद्रामा सुतेका छन्।स्नातक र स्नातकोत्तर अध्ययन गर्न आईओएममा लाग्ने लामो भिड धेरैका लागि रुचिकर छैन।निजी मेडिकल कलेजमा हुने दलाल पूँजीवादको हावी र यसको सम्बन्धनमा डिनको भूमिका अहम हुने हुनाले पनि यो पद सधै नेताहरु खोल्तीका मान्छेहरुलाई मात्र दिन चहान्छन्।

डा.केसीका विगतका आन्दोलनहरु यस्कै विरुद्धमा भए पनि उनकै आन्दोलनलाई भर्याङ बनाएर सत्ताको मार्ग सुनिश्चित गर्नेहरु बढिरहेछन् भन्नलाई डा.शाह को नियुक्तिले थप प्रष्ट पार्छ। र डा.केसी नै सधै यो नाजायज पद्धतिका विरुद्ध लागिरहनु पर्छ भन्ने पनि छैन। यो आम विद्यार्थी, प्राध्यापक एवं कर्मचारीको पनि भूमिकाभित्र पर्न जान्छ।डा केसीले अगुवाई गरे, तर अब त्यो मार्गमा हामी सबै आफ्नो ओत लाग्ने पार्टी र दलगत झण्डा भन्दा विभक्त भएर आईओएम को रक्षाका लागि लड्नु पर्ने कुरामा कुनै दुईमत छैन। आखिर राजनीतिक भागबन्डा र निकटताका आधारमा डिन नियुक्ति कहिले सम्म? यस्को जवाफ हो-हामी सरोकारवालाहरु चुप जहिलेसम्म।

जब-जब आईओएममा भए गरेका किचलोहरु नाप्दछौं, लाग्छ नेतृत्व कर्ताहरुसँग यो संस्थानका लागि सहानुभूति कतै पनि छैन।सधैं उपहास र अवहेलनाका पात्रहरु अघि सार्ने र आफ्नो दुनो सोज्याउन बाहेक न कम्युनिस्ट न कांग्रेस कोही पनि तल्लीन भएको देखिँदैन। तमाम अन्य समस्याहरु यस्का भित्री कुनाहरुमा छन् । जस्तै निजी मेडिकल कलेजहरु गुणस्तरीय बनाउनु पर्ने, दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने, कलेजहरुको संघीय र समानुपातिक विकेन्द्रिकरणमा ध्यान दिनुपर्ने, अतिरिक्त शुल्क उठाइएका विषयमा बोल्नुपर्ने आदि ।

अझ  छात्र छात्राहरुका लागि छात्रावासको व्यवस्थापन,प्रविधि मैत्रि पढाई सिकाई,समयमै कोर्स सक्नु पर्ने व्यवस्था ,नियमित प्राध्यापकहरुको उपस्थिति, अभ्यास र अनुभूतिसहितको परिपक्व सिकाई,पाठ्यक्रमको समयानुकूल विकास,कक्षाकोठाको पठनपाठन क्रियामा सुविधाजन्य व्यवस्था, कर्मचारी प्रशासनको जवाफदेहीता, परीक्षा प्रणाली,अध्ययन अनुसन्धानका अवस्थाहरु ,खेलकूद एवं अन्य वृत्ति विकासका लागि उचित विकास र सामग्री आदि त महाराजगन्जस्थित केन्द्रीय क्याम्पसमा नै अपुग छन्, अरु मेडिकल कलेजहरुमा के कस्तो होला अनुमान समेत लगाउन सक्दैनौं।

यी यावत समस्याहरुलाई हल गर्न आईओएममा एउटा सक्षम नेतृत्व चयन गर्न त्रिभुवन विश्वविद्यालयले भूमिका खेल्नुपर्नेमा झन् चिकित्सा पृष्ठभूमिबाट आएका उपकुलपति बाँस्कोटा त कुलपति ओलिको आग्रहहरुमा नतमस्तक भईरहेका छन्।यो अव्यावहारिक र असंगत पक्ष हो।

राजनीतिक भागबण्डाबाट हुने पदाधिकारी नियुक्ति र त्यसकै आडमा आईओएम जस्तो प्राज्ञीक क्षेत्रमा हुने गैरकानुनी हर्कतहरु अशोभनीय छन् ।यी एक अर्कामा जोडिएर सतहमा आउने कुरा हुन्।नियुक्तिका बेलामा हुने लेनदेन र गोप्य सहमति र त्यसकै आधारमा नियुक्त गर्ने व्यक्ति लाई फाईदा पुग्ने निर्णयहरु, साँच्चै आईओएम नराम्ररी कुराजनीतिको चंगुलमा फसेको छ।खुल्ला प्रतिस्पर्धीबाट भन्दा पनि आसेपासे र नातेदारलाई जागिर खुवाउने लालसामा हुने हिनामिना र गैरनियुक्तीहरु ,यी सबै प्राज्ञिक थलोलाई धरासयी बनाउने खेलहरु हुन्। पेशागत हकहित भन्दा पनि पार्टीको झण्डा बोकेर विश्वविद्यालयमा हालिमुहाली गरिरहेका प्राध्यापक संगठन, कर्मचारी युनियन र विद्यार्थी युनियनहरु पनि आईओएमको यो उदेकलाग्दो अव्यवस्थाका साँचीहरु हुन्।

सम्बन्धन दिदा खेरी गुणस्तर र पूर्वाधारको ख्याल गरेर मात्र दिनुपर्छ नत्र मेडिकल शिक्षामा  विद्यार्थीबाट  मनोमानी शुल्क दोहन गर्ने प्रवृत्ति अनत्य हुने छैन भन्ने कुरा सबै पदाधिकारीमा ज्ञान छ तर कार्यान्वयनमा जाने आँट छैन। तर, अब ढिलो नगरी, सम्पूर्ण संयन्त्रमा गुणस्तरीय सेवा प्रवाह गर्न सके, प्राध्यापकको वृत्ति विकासमा उचित मूल्यांकन गर्न सके,कर्मचारीमा जवाफदेहीता सिर्जना गर्न सके, र विद्यार्थीको आत्मविश्वास जित्न सके आईओएम को गुमेको गौरव फिर्ता ल्याउन सकिन्छ भन्ने कुरा त्रिविका पदाधिकारी ज्यूहरुले मनन गर्नु पर्ने छ।यो आफैमा चुनौतीपूर्ण छ तर कुशल व्यवस्थापनद्वारा दीर्घकालीन योजना बनाएर अगाडी बढेको खण्डमा असम्भव भने छैन।

चिकित्सा शास्त्र अध्ययन संस्थानको आफ्नै सौन्दर्य छ।अन्तरदेशीय सम्बन्धहरु, संस्थानरुपी चेतना, लामो इतिहास र जनताको स्वास्थ्य संवर्धन गर्न उत्पादन गरेका उचित जनशक्तिले पनि यो संस्थान ‘ब्राण्ड’ को रुपमा स्थापित छ।यस्को विकासको गतिलाई अकमक्क पार्न हरहमेशा हुने गरेका कुराजनीतिक खेलहरु हाम्रा लागि ग्राह्य छैनन्।

देशको नेतृत्वमा रहेर यो संस्थानप्रति जाहेर गरिएका अन्धोपना र अनावश्यक चिच्याहटहरुले हामी सबैलाई लज्जाबोध गराउछ।डा.शाह एक महिला र प्रतिभावान व्यक्तित्व हुनुहुन्छ।उहाँ प्रति व्यक्तिगत कुनै पनि रीस रागभन्दा पनि यो लामो आन्दोलनले निम्त्याएको सुनौलो प्रक्रिया मिचेर उहाँ आफै अनौठो तवरले डिन बन्नका लागि तयार हुनुले राम्रो सन्देश कदापि दिदैन।

आफू बेठेगान भएर तानाशाही प्रवृत्तिमा विश्वविद्यालय र संस्थान जस्तो प्राज्ञिक थलोलाई आफ्नै इसारामा दौडाउन खोज्नुले प्रधानमन्त्रीज्यूको इज्जत पनि माथि उठ्दैन। नव उमंग र नव सपनाहरुका साथ आईओएमलाई आफ्नै क्षमता र दक्षतामा अघि बढ्ने अवसर दिनुपर्छ। जहाँ र जता पनि नियम र नीतिका सीमाहरु उल्लंघन गर्दै जादां अन्तत: जनताका उल्लसामय आशाहरु मै कुठाराघात हुन सक्छन् ।

यी घटना केन्द्रीत सुधारहरु नेतृत्वको चालचलनमा स्पष्ट झल्किनुपर्छ।संसार बुझ्ने कष्ट नगर्ने तर, जताततैको विद्वत्ता पस्कदै हिड्ने चरित्रले देशको मजबूत चिकित्सक एवं स्वास्थ्यकर्मी उत्पादन गर्ने आईओएम ध्वस्त हुन सक्छ। चतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment