Comments Add Comment

पाँच महिनापछि प्रहरीले भन्यो : लेखापरीक्षकको हत्या होइन, भवितव्य मृत्यु

आफन्त भन्छन् : अनुसन्धान फितलो भयो

७ असार विराटनगर । गत माघ ७ गते सिंघिया खोलामा मृत अवस्थामा भेटिएका विराटनगर– २ तीनपैनीका लेखापरीक्षक प्रबल घिमिरेको मृत्यु भवितव्य दुर्घटनाबाट भएको निश्कर्ष निकालेको छ ।

पाँच महिनाअघिको घटनाबारे जानकारी दिँदै मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घिमिरेको हत्या नभई अत्यधिक मादक पदार्थ सेवनपछिको भवितव्य मृत्यु भएको बताए ।

‘हाम्रो अनुसन्धानले कसैको संलग्नता देखाएन’, अधिकारीले भने ‘पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ड्राउनिङ’ (पानीमा डुबेर निसास्सिएको) छ ।’

अघिल्लो रात घिमिरेले अत्याधिक मादक पदार्थ सेवन गरेको र घर जाने बाटो बिर्सिएका कारण खोलामा पुगेको देखिएको एसपी अधिकारीले बताए ।

‘खोलामा शव भेटिँदा घिमिरेको पेन्टको चेन खुला थियो । मुत्रथैली पनि भरिएको रिपोर्ट छ’ उनले भने, ‘पिसाब फेर्न गएजस्तो पनि देखिन्छ, अनुसन्धान निरन्तर चल्ने प्रक्रिया हो तर अहिलेसम्म घटनामा कसैको संलग्नता देखिदैन ।’

माघ ६ गते राति हराएका घिमिरेको भोलिपल्ट सिंघिया खोलामा शव भेटिएको थियो । परिवार र आफन्तले भने हत्या भएको दावी गरिरहेका छन् ।

विराटनगरका ठूला कम्पनीको लेखापरीक्षण गर्दै आएका घिमिरे ६ माघमा लेखापरीक्षणकै सिलसिलामा उद्योगी नन्दकिशोर राठीको उद्योगमा पुगेका थिए । मोटरसाइकल त्यहीँ राखेर उद्योगी राठी, ड्राइभर पशुपति खड्कासहित आमाज बेकरी पुगेका उनले त्यहाँ मदिरा सेवन गरेको प्रहरीको भनाइ छ ।

आमाजबाट नन्दकिशोरका आफन्त पर्ने उर्लाबारीका अनिल चाण्डकसँग होटल मुनमा भेट गर्ने सहमति भएपछि उनीहरु त्यहाँबाट निस्किएर भाटभटेनी सुपरमार्केट हुँदै मुन होटल पुगेका थिए । त्यहाँ गएर पनि उनीहरुले मदिरा सेवन र नाचगान गरे ।

त्यहाँबाट फेरि उनीहरु लोटस बार पुगे । लोटसमा घिमिरेसँगै अनिलकुमार चण्डक, विनय कर्ण, अरुणकुमार राठी र होटल सञ्चालक मनोज श्रेष्ठ बसेका थिए ।

राति करिब १० बजे घर फर्कदा घिमिरे चाण्डकको गाडीमा चढे । चन्द्रबहादुर दर्जीले चलाएको गाडीमा घिमिरे, चाण्डक र कर्ण बसेका थिए । उनीहरुले घर नदेखेको भन्दै घिमिरेलाई एनआईसी एसिया बैंक अगाडि छाडेर आआफ्नो घरतर्फ गए ।

प्रहरीका अनुसार घिमिरेले ६ गते राति श्रीमतीसँग फोनमा घर आउने बाटो बिर्सिएको बताएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । घिमिरले आफू घर जाने बाटो बिर्सिएको भनी टेलिफोन गरेपछि श्रीमती र छोरा उनलाई लिन तीनपैनी चोकसम्म पुगे । तर घिमिरेलाई भेट्न सकेनन् ।

श्रीमतीसँग १६ पटक फोन सम्पर्क हुँदा उनले आफू कहाँ छु भन्ने लोकेसन भन्न नसकेको प्रहरीको भनाइ छ । राति करिब १०ः ४२ पछि उनको मोबाइल अफ भएको थियो । आफन्तले रातभर खोजी गर्दा पनि भेटेनन् । भोलिपल्ट बिहान भने सिंघिया खोलामा मृत अवस्थामा भेटिएका थिए ।

बाटो बिर्सिए

प्रहरी उपरीक्षक अधिकारीका अनुसार घिमिरे मोरङ व्यापार संघको कार्यालय छेउको बाटो एक्लै हिँडेको सीसी क्यामेरामा देखिएको छ । घिमिरेको घर छेउको बाटो बञ्जरा चोकबाट एउटा छाँया पूर्वतर्फ लागेको देखिन्छ । उक्त छाँया मोरङ व्यापार संघको सीसी क्यामेरामा कैद भएको व्यक्तिसँग मिल्दोजुल्दो देखिएको प्रहरीको दावी छ ।

गाडीबाट ओर्लिएर घिमिरे तीनपैनी चोक जाने भन्दै स्थानीय दीपक अग्रवालको घर जाने बाटोतर्फ गएका थिए । दीपकले तीनपैनीको बाटो देखाइदिएपछि उनी उत्तरतर्फ लागेका थिए । तर उनी तीन पैनी नभई पण्डित मेघनाथ मार्ग हुँदै पूर्वतर्फ गएका प्रहरीको भनाइ छ ।

घिमिरेसँग अघिल्लो रात बसेका सबै जनाको कल डिटेल अध्ययन गरेको प्रहरीले अत्यधिक मादक पदार्थ सेवन पछि घटना भएको निष्कर्ष निकालेको छ ।

शंकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धानका क्रममा ६ हजार वटा मोबाइल नम्बरहरुको अध्ययन गरेको थियो । ‘घटना भएको समय बीटीएस डाटाका आधारमा ६ हजार मोबाइल नम्बर अध्ययन गर्‍यौं’, एसपी अधिकारीले भने ‘तर शंकास्पद कुनै नम्बर देखिएन ।’

आफन्त भन्छन् : सुरुदेखि नै अनुसन्धान फितलो भयो

मृतकका आफन्तले भने प्रहरीको अनुसन्धानमा प्रश्न उठाएको छ । ‘प्रहरीको अनुसन्धान डे वानदेखि नै फितलो थियो’ मृतकका दाजु रबिन घिमिरेले भने, ‘हामीलाई प्रहरीको अनुसन्धानमा शंका छ ।’

घर छेउमा आइपुगेको मान्छे खोलासम्म कसरी पुग्यो भन्दै उनले शंकास्पद व्यक्ति पहुँचवाला भएका कारण प्रहरीको अनुसन्धान प्रभावकारी नगरेको हनुसक्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment