७ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपालले टेस्ट क्रिकेट खेल्ने मान्यता पाउन अझै एक दशक लाग्ने बताएका छन् ।
भारतीय पूर्वक्रिकेटर आकाश चोपडासंग उनको युट्युब च्यानल आकाशवाणीका लागि गरिएको अन्तर्वार्तामा पारसले नेपालले टेस्ट मान्यता पाउन १०- १२ वर्ष लाग्न सक्ने अनुमान गरे । नेपाल कहिले टेस्ट नेसन बन्न सक्छ भन्ने प्रश्नमा पारसले भने, ‘१० देखि १२ वर्ष । यदि सबै कुरा सही तरिकाले अघि बढेमा ।’
पारसले नेपालजस्ता देशले टेस्ट मान्यता पाउने वा नपाउने विषय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी ) ले टेष्ट संरचनाबारे लिने नीतिमा पनि भर पर्ने बताए ।
पारसले नेपालले टेस्ट खेलेको हेर्नु आफ्नो अन्तिम सपना रहेको समेत बताए । ‘नेपालले टेस्ट खेलेको हेर्ने मेरो अन्तिम सपना हो । तर म खेलाडीको रुपमा त्यसमा हुन्न’ पारसले भने । उनले आफू खेलाडी नभए पनि कुनै न कुनै रुपमा सहयोग गर्ने बताए ।
‘टेस्ट नेसन सपना हो र यो सम्भव छ । त्यसैले म यो बोलिरहेको छु’ पारसले भने । टेस्ट मान्यता पाउन नेपालले धेरै मेहनत गर्नुपर्ने र त्यही अनुसार योजना पनि बनाउनुपर्ने पारसले बताए ।
सन् २०१४ मा नेपालले बंगलादेशमा टी२० विश्वकप खेलेपछि नेपाली क्रिकेटमा धेरै परिवर्तन उनको भनाइ छ ।
अन्तर्वार्तामा नेपालमा सन्दीप लामिछाने भन्दा कोही राम्रो बलर छ भनेर सोधेको प्रश्नमा पारसले बसन्त रेग्मी नेपालको राम्रो देब्रे हाते बलर रहेको बताए । साथै उनले अहिले सन्दीप राम्रो स्पीनर रहेको र धेरै युवाहरु त्यसबाट प्रभावित भएको समेत सुनाएका थिए ।
प्रतिक्रिया 4