Comments Add Comment

‘हेल्लो सरकार, हामीले ट्याक्सी चलायौं !’

ट्याक्सी चालकको प्रश्न- हाम्रो परिवारको जिम्मा सरकारले लिन्छ ?

७ असार, काठमाडौं । धादिङका टंकबहादुर श्रेष्ठले भाडाको ट्याक्सी चलाउन थालेको २० वर्ष भयो । परिवारको जीविकोपार्जनका लागि एउटै मात्र आम्दानीको स्रोत रहेको उनको ट्याक्सी लकडाउनका कारण लामो समय थन्कियो ।

सरकारले जेठ ३२ देखि लकडाउन खुकुलो पारे पनि अहिलेसम्म भाडाका ट्याक्सी चलाउन अनुमति दिएको छैन । तर सरकारले अनुमति नदिएर के भो ? जनताका अगाडि सरकार यति निरीह सावित भइसकेको छ कि उसले जारी गरेको आदेश सडकमा पालना हुन छाडिसकेको छ । न जोर-बिजोर, न मोटरसाइकलमा दुईजना चढ्न नपाइने आदेश !

झण्डै तीन महिना कष्टकर बसाइँ र उधारो मागेर परिवार पालेपछि सरकारले अनुमति नदिए पनि असार एक १ गतेदेखि ट‌ंकबहादुरले आजित भएर ट्याक्सी चलाउन थालेका छन् । ‘कोरोनाको जोखिम छ थाहा छ, तर रोगभन्दा भोकले बाँच्नुपर्ने अवस्था आयो, मैले ट्याक्सी चलाउन थालेँ,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

अरू सबै व्यवसाय खुल्ने तर सर्वसाधारण आवात-जावतका लागि ट्याक्सी नखुल्ला सर्वसाधारण पनि मारमा परेको उनले सुनाए । परिवार पाल्नकै लागि लुकिछिपी ट्याक्सी चलाएको भए पनि एक/ दुईपटक त प्रहरीले समातेर दिनभरि थन्क्याइदिएको उनले सुनाए ।

निरज रानामगर

कोभिड १९ का कारण चैत्र ११ देखि असार गते ८० दिनसम्म ट्याक्सी चलाउन नपाउँदा रोजीरोटी नै गुम्ने अवस्था आइलागेको श्रेष्ठ बताउँछन् । उनी दुःख बेसाउँदै भन्छन्, ‘सरकारले भाडाका सवारी साधन नचलाऊ त भन्यो, तर आय आर्जन गुमेपछि मान्छे कसरी बाँच्ने भन्ने एकपटक पनि सोचेन ।’

बालाजु क्षेत्रमा ट्याक्सी चलाउने सुदीप बुढाथोकीले वैदेशिक रोजगारीबाट फर्केर ट्याक्सी किनेका हुन्। स्वदेश फर्किँदा बचेको केही रकम र बाँकी बैङ्कबाट ऋण लिएर किनेको ट्याक्सी तीन महिनासम्म चलाउन नपाउँदा बाँच्न नै धौधौ परेको उनले सुनाए ।

‘ग्यारेजमा ट्याक्सी थन्किएको र गास, बाँस, कपासकै लागि चिन्ता थपिएको छ,’ बुढाथोकीले भने । लकडाउन खुल्नेबितिक्कै बिमा, बैङ्क तथा फाइनान्सको किस्ता तिर्नै नसक्ने अवस्थामा आफू पुगेको उनले सुनाए । लकडाउन खुकुलो भएपछि आफ्नै कामले बालाजु क्षेत्रमा निस्किँदा दिनभरि ट्याक्सी प्रहरीले समातेर राखिदिएको उनको गुनासो छ ।

वनस्थली क्षेत्रमा ट्याक्सी चलाउने निरज रानामगर बिरामी पुर्‍याएर आएका ट्याक्सीलाई पनि प्रहरीले दुःख दिएको सुनाउँछन् । ‘अस्पताल जानलाई नियमित सम्पर्कमा रहेका ग्राहकले फोन गर्छन्, अस्पताल पुर्‍याएर फर्किँदा दिनभरि प्रहरीले समातेर राख्छ,’ मगरले भने ।

न्यूनतम सुरक्षाको उपाय अवलम्बन गरेर सुरक्षितरुपमा ट्याक्सी खोल्न पाउनुपर्ने उनले सुनाए । ‘बैङ्क वित्तले ट्याक्सी जफत नगर्ने र सरकारले परिवारको जिम्मा लिने हो भने नचलाए पनि हुन्छ नत्र ट्याक्सी चल्न पाउनुपर्छ,’ निरजले भने ।

प्रहरी भन्छ- सरकारको निर्णय उल्लङ्घन गर्न पाइन्न

भाडाको सवारी खोल्नेबारे सरकारले कुनै निर्णय नगरेकाले भाडामा ट्याक्सी चलाउन नपाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आइतबार मात्रै पनि लकडाउन उल्लङ्घन गरेर सञ्चालनमा भएका २११ वटा ट्याक्सीलाई होल्ड गराइएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘बिरामी बोकेका र अत्यावश्यक कामका लागि निस्केका ट्याक्सीलाई सहजीकरण गरेका छौं, तर भाडा प्रयोजनमा चल्न पाइँदैन, सरकारले चलाउने कुनै निर्णय गरेको छैन,’ एसएसएपी ढकालले भने ।

लकडाउन उल्लङ्घन गरिएका ट्याक्सीलाई होल्ड गराएर सचेत गरेर पठाइएको र कुनै जरिवाना नगरिएको पनि उनले प्रष्ट्याए । ट्याक्सी चालाउन दिने वा नदिनेबारे ट्राफिक प्रहरी तहबाटै कुनै छलफल नभएको र सरकारबाट पनि त्यस्तो कुनै राय नमागिएको उनले बताए ।

सरकारबाट आधिकारिक निर्णय नआउँदासम्म लकडाउन उल्लङ्घन गरेर सवारी सधान नचलाउन पनि महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment