Comments Add Comment

नागरिकताको गाँठो फुक्यो, पितृसत्ताको गाँठो कसियो !

पितृसत्ता विरुद्धको लडाईं लडिरहन्छौं : यशोदा सुवेदी गुरुङ

Photo Credit : फाइल फोटो

७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा करिब २ बर्षदेखि अडि्कएको नागरिकता विधेयकको एउटा विवादित विषय थियो- नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव ।

खासगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का यशोदा सुवेदी गुरुङ, रेखा शर्मालगायतका महिला सांसदहरुले यो विषयलाई उठाउँदै आएका थिए । त्यही बहसका क्रममा नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई पनि ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव आएको थियो ।

झण्डै दुई वर्षको बहसपछि सत्तारुढ नेकपाले यही प्रस्तावको पक्षमा उभिने निर्णय गर्‍यो । तर शनिबार बसेको नेकपा सचिवालयले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने मागलाई ठाडै अस्वीकृत गर्‍यो ।

त्यसको भोलिपल्ट राज्य व्यवस्था समितिले नेकपाकै निर्णयअनुसार प्रस्ताव पास गर्‍यो । प्रमुख विपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, समाजवादी पार्टीले बिहेपछि नागरिकता लिनसक्ने प्रचलित व्यवस्थ्ााकै निरन्तरता दिनुपर्ने बताए । तर बहुमतका आधारमा भएको निर्णयमा फरक मत राखे ।

तर, नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने माग गर्दै आएका नेकपाका महिला सांसदहरु पार्टीको निर्णयसामू निरीह देखिए ।

पितृसत्ता विरुद्धको लडाईं लडिरहन्छौं 

नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने माग गर्ने मध्ये अग्रपंत्तिमा थिइन् सांसद यशोदा सुवेदी । तर, पार्टी सचिवालयले त्यसलाई अस्वीकार गरेपछि उनले पितृसत्ताविरुद्ध लडाईं जारी राख्ने बताइन् ।
‘पितृसत्तावादको लडाईं भनेको धेरै लामो लडाईं हो । समितिमा सहमति हुन्छ, ठीक छ एक स्टेप हाम्रो पितृसत्तावादको लडाईं छोटो हुन्छ । होइन भने त्यो पितृसत्तावादको लामो लडाईंका रुपमा लिन्छौं । निरन्तर छलफल र बहसमा उठाउनेछौं’ सुवेदीले विदेशी बुहारीको विषयमा निर्णय हुनुभन्दा केही पहिले समिति बैठकमा राखिन् ।

आमा नेपाली र बाबु विदेशी भएको र उनीहरु नेपालमा बसोबास गरेको खण्डमा तिनबाट जन्मिने सन्तानले अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था कायमै छ । तर, नेपाली महिलासँग विवाह गरी नेपालमा नै बसोबास गरेको खण्डमा विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिने व्यवस्था अहिले पनि छैन ।

यसो गर्दा उनीहरुबाट जन्मिने सन्तानले वंशजको नागरिकता प्राप्त गर्न सक्ने सुवेदी बताउँछन् । नेपालमा नै जन्मिएको, हुर्किएको, शिक्षा-दीक्षा आर्जन गरेको र नेपालमा नै बसोबास गरेको व्यक्ति बाबु विदेशी भएकै कारण अंगीकृत हुनुपर्ने व्यवस्था समानताको दृष्टिकोणबाट उचित नभएको उनको तर्क छ ।

नेकपाकी अर्की सांसद रेखा शर्माले विदेशी पुरुषको हकमा कुरा राख्दै आएको तर, सहमति हुन नसकेपछि विधेयकलाई अड्काउन नचाहेको बताइन् । ‘सम्पूर्ण शर्त पूरा गरेपछि विदेशी ज्वाइँंलाई पनि नागरिकता दिने व्यवस्था राखौं भनेर एउटा प्रस्ताव गरेका थियौं । यसमा सहमति जुट्न सकेन’ उनले भनिन्, ‘सहमति नभएपछि नागरिकता ऐनलाई अड्काउन हुँदैन भन्ने लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment