
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाले भदौ महिनाको दोस्रो पाक्षिकमा भूमि, विद्यालय शिक्षा, नागरिकता, निजामती र संवैधानिक परिषद् विधेयक पारित गर्ने क्यालेन्डर बनाएको छ।
- भदौ १८ गते नागरिकता र संवैधानिक परिषद् विधेयक पारित गर्ने तथा भदौ १९ गते निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ।
- भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गरी राष्ट्रिय सभामा पठाउने तयारी गरिएको र भदौ महिनामा पाँच दिन प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ।
१२ भदौ, काठमाडौं । प्रतिनिधिसभाले विभिन्न पाँच वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर बनाएको भएको छ । यसका निम्ति शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपछि सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भूमि, विद्यालय शिक्षा, नागरिकता, निजामती र संवैधानिक परिषद् विधेयक पारित गर्ने संसद्को तालिका तय गरिएको जानकारी दिए ।
उनका अनुसार, शुक्रबार प्रतिनिधि सभाले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्नेछ । शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
एमालेका मुख्य सचेतक बर्तौलाका अनुसार, भदौ १८ गते बस्ने प्रतिनिधिसभाको बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्नेछ । सोही दिन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको पनि मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।
गत साउन ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता गरेका थिए ।
एमालेका मुख्य सचेतक बर्तौलाका अनुसार संघीय निजामती सेवा विधेयक यही भदौ १९ गते प्रतिनिधिसभाबाट पारित गरिनेछ । यो विधेयक यसअघि १५ असार २०८२ मा प्रतिनिधिसभाबाट पास भएर राष्ट्रिय सभामा गएको थियो । राष्ट्रिय सभाले यही भदौ १६ गतेभित्र प्रतिनिधि सभामा उक्त विधेयक फिर्ता गरिसक्नुपर्छ ।
राष्ट्रिय सभाबाट फिर्ता आएपछि भदौ १९ गते निजामती सेवा विधेयक पारित गरेर सभामुख हुँदै राष्ट्रपतिकहाँ पठाउने तयारी छ । राष्ट्रपतिले प्रमााीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।
यस्तै सभामुख र पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले यही भदौ २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय गरेका छन् ।
विद्यालय शिक्षा विधेयक यही भदौ ५ गते संसदीय समिति (शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति)ले पास गरेर भदौ ६ गते प्रतिनिधि सभामा विधेयकको प्रतिवेदन पेस गरेको छ ।
यसलाई भदौ २६ गते पास गरेर राष्ट्रिय सभामा पठाउयने गरी प्रतिनिधिसभाले सम्भावित कार्यतालिका तय गरेको हो ।
राष्ट्रिय सभाले पनि पास गरेपछि पुन: प्रतिनिधिसभामा आउँछ । प्रतिनिधि सभामा फर्किएपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा रुपान्तरित हुन्छ ।
सभामुखसँगको छलफलपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भदौ महिनाको १५ गतेदेखि ३० गतेसम्मको कार्यतालिका तयार भएको बताए । उनका अनुसार भदौ महिनामा १८ गते, १९ गते, २५ गते, २६ गते र २७ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ ।
प्रतिक्रिया 4