Comments Add Comment

गुल्मी सदरमुकाम नजिकै पहिरो, ७ घर जोखिममा

८ असार, गुल्मी । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको सदरमुकाम नजिकै ७ वटा घर जोखिममा परेका छन् । निर्माणाधीन तम्घास–खाम्सेपानी सडक खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा पहिरो जाँदा घरहरु जोखिममा परेका हुन् ।

पहिरोबाट राम बहादुर खड्का, लक्ष्मी कुवँर, पदम विष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी, दीपक सुनार र विष्णु कुँवरको घर जोखिममा परेका छन् ।

निर्माणाधीन तम्घास–खाम्सेपानी सडक र तम्घास–नेटा सडकमा पर्ने वस्ती केही वर्ष अगाडिदेखि नै जोखिममा थिए । तर पछिल्लो केही दिन यता लगातारको वर्षाले ती घरका वासिन्दा विस्थापित भएका छन् । घर जोखिममा परेपछि उनीहरु छिमेकी तथा आफन्तकहाँ बस्दै आएका छन् ।

भौगोलिक जोखिमको आँकलन नगरी सडक चौडा पार्ने कामले घरहरु जोखिममा परेको स्थानीयको भनाइ छ । जोखिमबारे वर्षौंदेखि सम्बन्धित निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ भएको पीडित पदम विष्टले बताए । ओखरेनीमा निर्माणाधीन सडकबाट थप गिट्टी बालुवा निकाल्ने लोभले चाहिनेभन्दा पनि बढी बाटो चौडा पार्नाले पहिरो गएको विष्टको भनाइ छ ।

स्थानीयले केही दिन अघि सडक बिस्तारको क्रममा जोखिमलाई ख्याल गर्न आग्रह गर्दै सडक कार्यालयमा निवेदन पनि दिएका थिए । निर्माणाधीन तम्घास–नेटाको अर्को सडकको नाली सोही स्थानबाटै  बग्दै आएकाले पनि थप पहिरो गएको विष्टले बताए ।

प्रजिअले गरे अनुगमन

पहिरोका कारण सडकसमेत भासिएको छ । खानेपानीको पम्पिङ्ग गरिएको स्थानमै पहिरो गएको छ । ठूलै पहिरो गए सयौं घर खानेपानीबाट बन्चित हुने खतरा छ । तम्घासको फोहोर व्यवस्थापन गर्ने स्थान पनि त्यहीँ रहेकाले थप पहिरो गएमा तम्घासको फोहोर मैला व्यवस्थापन गर्नसमेत असहज हुनेछ ।

पहिरो गएको स्थानमा सोमबार बिहान प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, सडक आयोजनका इन्जिनियर, प्राविधिक, सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । अनुगमनपछि प्रमुख जिल्ला अधिकारी शर्माले तत्काल केही गर्न सकिने काम र वर्षा रोकिएपछि गर्ने कामहरुको बारेमा योजना बनाएर अगाडि बढ्ने बताए ।

पहिरोले जोखिममा परेका वस्तीमा तत्काल र दीर्घकालीन रुपमा गर्न सकिने कामसहितको प्रतिवेदन तयार पार्न सडक आयोजनका इन्जिनियरहरुलाई भनिएको पनि प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment