
८ असार, पोखरा । कास्कीको रुपा गाउँपालिकाले कोभिड–१९ लक्षित ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
रोजगार गुमाएर फर्केकालाई स्वरोजगार बनाउने र उद्यम गर्न चाहनेलाई सहुलियतलाई ऋण दिने गरी सोमबार गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षलाई कृषि वर्षको रुपमा मनाउने बताए । कृषि वर्षका लागि १ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले युवा तथा स्वरोजगार शीर्षकमा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘यस वर्ष वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनः वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्नका लागि पर्याप्त रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकता दिएका छौं,’ उपाध्यक्ष लालसुब्बा गुरुङले भनिन् ।
गाउँपालिकाले स्वरोजगार हुन चाहने युवालाई ४ प्रतिशतमा सहुलियत ऋण दिने घोषणा गरेको छ । गाउँमा उत्पादिन कृषि उपज कृषि एम्बुलेन्समार्फत निशुल्क रुपमा बजारमा पुर्याउने र फलफूल तथा तरकारीको बिरुवा सहज बनाउन एक वडा एक नर्सरी स्थापना गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले एक घर एक करेसाबारी, पशुपालनमा सहुलियत ऋण, उन्नत जातको पशुपालनका लागि कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिने पनि बताएको छ । त्यसका लागि पशुपालनका क्षेत्रमा ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण तथा यो क्षेत्रलाई थप व्यवस्थित गर्नका ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
हाल गाउँपालिकाको ८० प्रतिशत घरमा एक घर एक धारा भइसकेको छ र बाँकी घरमा खानेपानी पुर्याउन ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
रुपा गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ६० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाका ४ वटा क्वारेन्टिन र एउटा आइसोलेसनलाई थप व्यवस्थित र सुरक्षित बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाले एक शिक्षक एक ल्यापटपको नीति पनि अघि सारेको छ ।
कोरोना महामारीको समयमा पूर्वाधारका नयाँ योजना नथप्ने, भइरहेका योजनालाई पूरा गर्ने नीतिसहित पूर्वाधार विकासमा वजेट विनियोजन गरेको छ ।
‘कोभिड–१९ पछि हाम्रा प्राथमिकता र योजनामा विशेष ध्यान दिएका छौं । नयाँ योजना थप्ने, नयाँ सडकका ट्रयाक खोल्ने काम नगरी भइरहेका योजना पूरा गर्न हामीले प्राथमिकता दिने छौं,’ गाउँपालिका अध्यक्ष ओझाले भने । गाउँपालिकाले पूर्वाधार विकासमा १ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाले चालुतर्फ ५ करोड १ लाख २४ हजार र पुँजीगततर्फ १८ करोड ८० लाख २४ हजार रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया 4