Comments Add Comment

के भारतमा महिलाको मृत्युदर बढी छ ?

८ असार, काठमाडौं‌ । विश्वभरको तथ्यांकलाई हेर्ने हो भने कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेमा पुरुषको संख्या महिलाको तुलनामा बढी छ । उदाहरणका लागि इटाली, चीन र अमेरिकामा समग्र संक्रमितमध्ये पुरुषको संख्या बढी छ । साथै, मृत्यु हुनेमा पनि पुरुष नै बढी छन् ।

जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका संक्रामक रोगमा लैङ्गिक विविधताको अध्ययन गरेका वैज्ञानिक साब्रा क्लेइनका अनुसार जसरी उमेर समूहअनुसार हेर्दा वृद्धहरूमा कोरोना संक्रमणको संख्या धेरै छ । त्यसैगरी लैङ्गिक रुपमा हेर्दा पुरुषहरूको संख्या धेरै छ ।

यद्यपि भारतको तथ्यांक भने विश्वको तथ्यांकभन्दा भिन्न छ । भारत र अमेरिकी वैज्ञानिक समूहको एक नयाँ अनुसन्धानले संक्रमितहरूमध्ये धेरैजसो पुरुष भए पनि कोरोना भाइरसबाट मृत्युको जोखिम भने पुरुषभन्दा महिलामा बढी देखिएको छ ।

यो अध्ययन मे २० सम्म भारतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु भएका मानिसहरूको संख्याको आधारमा गरिएको हो । त्यतिबेला भारतमा एक लाख १० हजारभन्दा बढी संक्रमित भेटिएका थिए भने तीन हजार ४३३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

अध्ययनको क्रममा भारतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ३ दशमलव ३ प्रतिशत महिलाको मृत्यु हुने गरेको पाइएको थियो । जबकि पुरुषको मृत्युदर भने दुई दशमलव ९ प्रतिशत मात्र थियो ।

४० देखि ४९ वर्ष उमेर समूहका संक्रमित महिलामध्ये तीन दशमलव २ प्रतिशतको मृत्यु भएको थियो । सोही उमेर समूहका पुरुषमा भने मृत्युदर २ दशमलव १ प्रतिशत मात्र थियो ।

यस विषयमा हावर्ड युनिभर्सिटीका प्राध्यापक एसभी सुब्रमन्यमका अनुसार दुई पक्ष यसका लागि महत्वपूर्ण हुन्छन् – एउटा ‘मोर्टालिटी रिस्क’ र अर्काे ‘मोर्टालिटी बर्डेन’ ।

मोर्टालिटी रिस्क अर्थात् मृत्युदर जोखिमबाट कुनै विशेष समूहको मृत्युदर आकलन गरिन्छ । यसमा समग्र महिलाको मृत्युलाई समग्र महिलाको संक्रमित संख्याले भाग गरिन्छ ।

अर्कोतर्फ मोर्टालिटी बर्डेन अर्थात् मृत्यदर भार समग्र मृत्युदरमा महिलाको हिस्सा कति छ भन्ने कुराको आधारमा तय गरिन्छ ।

प्राध्यापक सुब्रमन्यमका अनुसार समग्र मृत्युको हिसाबमा पुरुषको मृत्युदर बढी छ । भारतमा समग्र मृत्यु हुनेमध्ये ६३ प्रतिशत पुरुष छन् । भारतमा जीवित हुने मामिलामा महिला भएकै कारण कुनै लाभ नमिलेको सुब्रमन्यमको भनाइ छ । यसमा बायोलोजिकल र सामाजिक कारणले कत्तिको भूमिका निर्वाह गर्छ भन्ने विषयमा पनि स्पष्ट हुन सकेको छैन । यद्यपि अहिले भारतमा पाइएको तथ्यांक अन्य मुलुकको तुलनामा फरक छ ।

पुरुषको मृत्युदर बढी हुनुमा पुरुषहरूमा कोरोनाबाहेक पहिला नै मुटुको रोग, हाइपरटेन्सनजस्ता समस्या रहनु एक कारण रहेको जोन्स हप्किन्स युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ कुनिहिरो मात्सुशिता बताउँछन् ।

धेरै मुलुकमा महिलाको तुलनामा पुरुषले बढी धुम्रपान गर्छन् । साथै केही अध्ययनले पुरुषले महिलाको तुलनामा आफ्नो हात पनि कम धुने गरेको देखाएको छ ।

संक्रामक रोग विशेषज्ञ मात्सुशिताले यसअघि आफू सहभागी भएको एक अध्ययनले पनि पुरुषमा कोरोना भाइरसबाट संक्रमित हुने जोखिम बढी रहेको पाएको बताएका छन् । वैज्ञानिकहरूका अनुसार महिलामा प्रतिरोधी क्षमता बलियो रहनु र शरीरमा रहेको हर्मोनका कारण महिलामा कोरोना भाइरसका कारण हुने मृत्युदर कम छ ।

तर पुरुषमा भन्दा महिलामा कोरोना भाइरसबाट मृत्युको जोखिम बढी भएको घटना भने अपवाद रहेको मात्सुशिताको भनाइ छ ।

भारतमा कसरी कोरोना भाइरसको परीक्षण भइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुने उनको भनाइ छ ।

भारतमा महिलाहरू हरेक क्षेत्रमा पछि परेका छन् र पुरुषको तुलनामा धेरै उमेर भएका महिलाहरू बढी छन् । यसले पनि महिलामा मृत्युदर बढी भएको हुन सक्छ । साथै, भारतमा महिलाहरू डाक्टरकहाँ जान पनि निकै ढिला गर्छन् । केहीले त घरमा नै औषधि लिन रुचाउँछन् । घरमा पनि महिलाको स्वास्थ्यको त्यति धेरै चासो दिइँदैन । त्यसैले पनि भारतमा महिलाको मृत्युदर पुरुषको तुलनामा बढी देखिएको हुन सक्छ ।

भारतमा बसोवासको अवस्था, सरसफाइको कमी, खानालगायतका विषयहरूले पनि यसमा प्रभाव पारेको हुन सक्ने विशेषज्ञहरूले बताएका छन् । आफूहरू भारतको तथ्यांकमा आगामी दिनमा पनि थप अध्ययन गर्ने र यसको नतिजाबारे अपडेट रहने प्राध्यापक सुब्रमन्यम बताउँछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment