Comments Add Comment

‘कार्पेट फेर्नुको साटो चुकुल फेरेको भए बलात्कार हुने थिएन’

हाम्रा प्रधानमन्त्री टाउको गनेर बस्नुभएको छ : रंगमती शाही

९ असार, काठमाडौं । कोही सांसद आफ्नो अभिव्यक्तिका कारण विवादित बन्छन् त कोही चर्चित । प्रतिनिधिसभा सदस्य रंगमती शाही जब बोल्नका लागि संसदमा उभिन्छिन्, धेरैको ध्यान उनीतिर तानिन्छ । कारण हो- शाहीको रसिक, तर व्यंग्यात्मक अभिव्यक्ति ।

शाही पिछडिएको क्षेत्र (हुम्ला जिल्ला)बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छिन् ।

हुम्लाबाट प्रत्यक्षतर्फ स्वतन्त्र सांसद छक्कबहादुर लामाले कांग्रेसलाई झिनो (४७) मतले हराएर चुनाव जितेका थिए । रंगमतीले चाहिँ समानुपातिकतर्फबाट हुम्लाको प्रतिनिधित्व गर्दै संसदको दैलो टेक्ने अवसर पाइन् । हिमाली भेगको सर्केगाड गाउँपालिका-४ निवासी ४६ वर्षीया शाही नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संसद हुन् ।

संसदमा बाक्लै बोलिरहने शाही कर्णालीवासीका समस्या मार्मिक ढंगले उठाउँछिन् । कहिले काठमाडौंका सडकका खाल्डाखुल्डी हेर्न स्कुटी चढेर सोह्रखुट्टेको सडकमा डुल्न प्रधामन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्छिन् ।

यो पनि यो पनि पढ्नुहोस सांसदको दुःख ! एक वर्षमा चार लाख ऋण

मंगलबारचाहिँ रंगमतीले संसदमा बोल्ने क्रममा राष्ट्रपति कार्यालयमा कार्पेट फेर्ने पैसाले क्वारेन्टिनस्थलमा ढोकाको चुकुल फेरेको भए महिलाहरु बलात्कारको सिकार हुने थिएनन् भन्दै सरकारको आलोचना गरिन् । र, प्रधानमन्त्री ओली कोरोना संक्रमतिको टाउको गनेर बसिरहेको शाहीले आरोप लगाइन् ।

संसदमा रंगमती शाहीको भनाइ जस्ताको त्यस्तै –

सम्माननीय सभामुख महोदय, कोरोना भाइरसले पौष महिनामै खबर पठाएको थियो, म भाइरस हुँ भिसा चाहिँदैन, तयारी अवस्थामा बस्नू ।

तयारी गर्नका लागि सरकारसँग कुनै कुराको कमी थिएन । बहुमत, बजेट, कर्मचारी, सेना, प्रहरी, अरिंगाल ।

त्यतिमात्र होइन, प्रतिपक्ष पनि सँगै थियो । कमी थियो त एउटा ईच्छाशक्तिको कमी थियो ।

जनताको ज्यान जोगाउन छाडेर सांसदलाई चार करोड दिएर सत्ता टिकाउनप्रति सरकारको ध्यान छ । यत्रो महामारीले विश्व हल्लिइरहेका बेला हाम्रो सरकारलाई झाडापखालाको मात्र महसुस भएको छ ।

यतिबेला रातो कार्पेट फेर्न भन्दा क्वारेन्टिनको ढोकाको चुकुल फेरिदिएको भए महिलाहरु बलात्कृत हुने थिएनन् । समयमा सीमामा स्वास्थ्य परीक्षण गरेर व्यवस्थापन गरिदिएको भए संक्रमति बढ्ने थिएनन् । क्वारेन्टिनको व्यवस्थापन र स्वास्थ्य परीक्षण बढाइदिएको भए आज मृत्युवरण गर्नुपर्ने थिएन ।

अब भदौसम्म ४० हजार संक्रमित बढ्छन् भनेर हाम्रा प्रधानमन्त्रीज्यू टाउको गनेर बस्नुभएको छ ।

टाउको गन्ने कि व्यवस्थापनमा लाग्ने ? प्रधानमन्त्रीज्यूलाई बेसार पकाएर… ।

( बोल्दाबोल्दै वीचैमा सभामुखले माइक काटिदिए ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment