 
																			९ असार, काठमाडौं । ११ चैतमा सरकारले घोषणा गरेको लकडाउनपछि हवाई यातायात बन्द भयो । पर्यटक बोक्ने गाडी थन्किए, होटेलका कोठा बन्द भए, टिकेटिङ एजेन्सीमा ताला लागे । त्यसअगाडि नै अन्तर्राष्ट्रिय पर्यटकको बुकिङ रद्द भइसकेको थियो ।
अन्तर्राष्ट्रिय उडानका टिकट धमाधम रद्द गरिएका थिए । सोहीकारण पर्यटन इतिहासमै पहिलो पटक शून्य गतिविधिमा झर्न पुग्यो। पर्यटन व्यवसायी सुमन पाण्डे सम्झन्छन्, ‘सन् २००१ को ट्विनटावर आक्रमण, नेपालको सशस्त्र द्वन्द्व र २०७२ सालको भूकम्पपछि पनि नेपालको पर्यटकीय गतिविधि अहिले जसरी ‘शून्य’मा झरेको थिएन ।
यसरी शून्यमा पुगेको पर्यटनलाई अब भने कुनै न कुनै रुपबाट अगाडि बढाउनुपर्छ भन्ने सोचमा सरकार र व्यवसायी पुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी भन्छन्, ‘हामीले ठूलो क्षति व्यहोरिसकेका छौं, अब सुरक्षाका सबै प्रवन्ध अपनाएर हामी अगाडि बढ्नैपर्छ ।’ त्यसका लागि निजी क्षेत्रलाई साथसाथमै लिएर सरकार अगाडि जाने उनको प्रतिबद्धता छ ।
लकडाउनपछि थलिएको पर्यटन क्षेत्रका अवयवलाई अगाडि बढाउने सन्दर्भमा नेपाल पर्यटन बोर्डले ‘सेफ्टी प्रोटोकल’ नै निर्माण गरेको छ । अब सबै व्यवसायी, ग्राहक तथा सरोकारवालाले सोही प्रोटोकलमा टेकेर गतिविधिहरू सञ्चालन गर्नुपर्ने भएको छ ।
नेपाल पर्यटन बोर्डका सीइओ डा. धनञ्जय रेग्मी भन्छन्, ‘अब हामी लामो समय कुरेर मात्र बस्न सक्दैनौं, त्यो महसुस गरेरै अगाडि बढ्ने उपायहरू खोजी गरेका छौं ।’
बन्यो प्रोटोकल
नेपाल पर्यटन बोर्डले पहिलो पटक लकडाउनपछि कोरोना सँगसँगै व्यवसाय सञ्चालनमा ल्याउनु परे अपनाउनुपर्ने उपाय समटेर सुरक्षा निर्देशिका जारी गरेको छ ।
अब पाहुनालाई गत फागुनमा जस्तै सेवा आगामी साउनमा मिल्ने छैन । सेवा प्रदायकले समेत अब साविकमा जस्तैगरी सेवाग्राहीसँग व्यवहार गर्न सक्ने छैन ।
त्यसकारण पर्यटन बोर्डका सीईओ रेग्मी भन्छन्, ‘अब हामी ‘न्यु नर्मल’ तरिकाबाट अगाडि जानुको विकल्प छैन।
अब कसरी अगाडि बढ्छ पर्यटन ?
होटेल
कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र होटेलले अब आफ्नो कारणले कोरोना भाइरसको संक्रमण धेरै मानिसमा नफैलियोस् भन्नेमा अब सञ्चालक सचेत हुनुपर्नेछ । एक प्रकारकाले लकडाउन खुलेको छ ।
सरकारले पहिलो चरणमा क्वारेन्टिनका रुपमा प्रयोग गर्ने होटेललाई सञ्चालनको अनुमति दिएको छ । सरकारले केन्द्रबाट गर्ने निर्णयसँगै अब स्थानीय प्रशासनसँग समेत होटेल सञ्चालकले सरोकार राख्नुपर्नेछ ।
सार्वजनिक स्वास्थ्यका विषयमा स्थानीय सरकारहरूले दिने निर्देशन पालना गर्नुपर्ने दायित्व व्यवसायीको हुन्छ । अब होटेलमा छिर्दा सबै व्यक्तिको तापक्रम अनिवार्य मापन गर्नुपर्ने भएको छ।
होटेलमा २५ जनाभन्दा बढी जम्मा भएर कार्यक्रम गर्न पाइने छैन । प्रयोग भइसकेको कोठा कम्तीमा २४ घण्टा खाली राख्नुपर्नेछ ।
- ठूलो लगानीका होटेलले सम्भव भए स्यानिटाइजेसन टनेलको व्यवस्था गरी कर्मचारी, पाहुना र सामान उक्त टनेलबाट मात्र भित्र छिराउने ।
- कुनै पाहुना र कर्मचारीमा कोभिडको संकेत देखिनासाथ उसलाई सरकारले तोकेको स्वास्थ्य संस्थामा पठाउनुपर्ने ।
- हरेक यात्रुको सम्पूर्ण यात्रा विवरण खुल्ने गरी होटेलले रेकर्ड राख्नुपर्ने ।
- होटेलभित्र सामाजिक दुरी अनिवार्य गर्नुपर्ने, मास्कको प्रयोग अनिवार्य गर्ने ।
- अभिवादनमा मात्र ‘नमस्ते’ गर्ने, अंकमाल तथा हात मिलाउन नपाइने, होटेलभित्र अनिवार्य एक मिटरको दुरी कायम गर्नुपर्ने ।
- रेस्टुरेन्टमा अब सेल्फ सर्भिस बन्द, टेबलमा एक पटकमा चार जना भन्दा बढी बस्न नपाइने, एउटा टेबलबाट अर्को टेबलसम्मको दुरी समेत न्यूनतम एक मिटर कायम गर्ने ।
- क्यासिनो, स्पा, जिम र प्लेरुमहरू भने बन्द, होटेलले हलमा तत्काल २५ जनाभन्दा बढी सहभागी गराएर कार्यक्रम आयोजना गर्न नपाउने ।
- होटेलले सकेसम्म ढोका खोल्दा हातले छुनु नपर्ने गरी सेन्सर जडान गर्नुपर्ने । चेक इन र चेक आउटको काम भने इन्टरनेटमा आधारित बनाउनुपर्ने
- कोठा एक पटक प्रयोग भइसकेपछि पूर्ण रुपमा सफा गर्नुपर्ने र त्यसको २४ घण्टासम्म कोठालाई खाली राख्नुपर्ने ।
- हरेक होटेलले केही कोठालाई आइसोलेसन रुमका रुपमा राख्नुपर्नेछ । जहाँ शंकास्पद बिरामी भेटिएमा तत्काल सुरक्षित राख्न सकियोस्। त्यस्तो कोठा भने बिरामीलाई अस्पताल लगेको ७२ घण्टासम्म खाली राख्नुपर्ने ।
- होटेलहरूले प्लास्टिक वाटर बोतलको स्थानमा काँचको बोतलको प्रयोगलाई बढावा दिनुपर्ने ।
- सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका वस्तुको प्रयोग गर्नुपर्ने, टाढाबाट यातायातको साधन प्रयोग गरी सामान ल्याउने काम निरुत्साहित गर्ने ।
- अनलाइन भुक्तानीलाई प्रोत्साहन गर्नुपर्ने ।
रेस्टुरेन्ट
पर्यटनमा होटेलसँगै अर्को महत्वपूर्ण क्षेत्र रेस्टुरेन्टबाट समेत कोरोना भाइरसको संक्रमण फैलिने डर हुन्छ । सोहीकारण अहिले सरकारले रेस्टुरेन्टलाई आंशिक खुला गरेको छ । तर त्यहाँ बसेर खाना खान पाइँदैन ।
प्याकिङ खाना घरमा लगेर वा होम डेलिभरीका माध्यमबाट खाना मगाएर भने खान पाइने व्यवस्था गरिएको छ । तर रेस्टुरेन्ट सञ्चालकसमेत अब प्रोटोकलको दायरामा भने आउनैपर्छ ।
रेस्टुरेन्टले समेत अब पाहुनाको ज्वरो अनिवार्य नाप्नु पर्नेछ । कर्मचारीले कोरोनाबाट बच्न अपनाउनुपर्ने सेफ्टी किटको अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।
- स्वास्थ्य मन्त्रालयले आह्वान गरेको न्यूनतम दुरी कायम गर्न नसक्ने गरी पाहुनालाई नराख्ने, टेबल सोहीअनुसार राख्ने ।
- रेस्टुरेन्टमा काम गर्ने कर्मचारीले हरे २० मिनेटमा एक पटक साबुन पानीले हात धुनुपर्ने वा हरेक पटक टेबल सफा गरेपछि, वाथरुम छिरेपछि वा प्लेट उठाइसकेपछि धात हुनुपर्ने ।
- ग्राहक छिर्नासाथ अनिवार्य हात धुने सुविधा उपलब्ध गराउने ।
- अनलाइन पेमेन्टको सुविधा दिने, नगद कारोबारलाई निरुत्साहित गर्ने ।
- रेस्टुरेन्टमा दैनिक र नियमित सरसफाइको व्यवस्था हुनुपर्ने ।
- हरेक पाहुनाको नाम, ठेगाना विस्तृत र रेस्टुरेन्टमा छिरेको समय नोट गरी रेकर्ड राख्नुपर्ने।
- प्लास्टिकका सामानको प्रयोग सकेसम्म नगर्ने ।
पर्यटकीय अफिस
पर्यटन व्यवसायीले महामारीबाट आफू, आफ्ना कर्मचारी र ग्राहकलाई सुरक्षित राख्ने उपायको अधिकतम प्रयोग गरी सेवा प्रवाह गर्नुपर्ने भएको छ। यसका लागि सम्भव छ भने कार्यालयमा अनिवार्य उपस्थितिलाई कम गर्न सकिनेछ । अब बुकिङहरू लिँदा हरेक पाहुनाको विस्तृत सूचना अनिवार्य राख्नुपर्ने भएको छ।
उदाहरणका लागि अब व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, पछिल्लो ३० दिनको उसको यात्रा विवरणसहित हेरेर मात्र कुनै पनि पर्यटकीय गतिविधिमा बुकिङ लिनुपर्ने भएको छ।
सम्भव छ भने सम्बन्धित मुलुकले दिएको निरोगिताको प्रमाणपत्र साथमै राख्नुपर्ने व्यवस्था गरिएको छ । पाहुनाको यात्रा बिमा भए-नभएको समेत हेर्नुपर्ने गरी प्रोटोकल बनेको छ ।
- आवश्यकता भन्दा बढी कर्मचारीलाई कार्यालय नबोलाउने, तालीका बनाएर आलोपालो कामको व्यवस्थापन गर्ने ।
- कार्यालयमा कामको चाप छैन भने कर्मचारीलाई भौतिक उपस्थितिका लागि अनिवार्य नगर्ने ।
- सकेसम्म घरबाटै काम गर्न सम्भव छ भने सोही विधिलाई प्राथमिकता दिने ।
- अनलाइन मिटिङलाई प्राथमिकता दिने, भौतिक रुपमा उपस्थित भएर गरिने बैठकलाई निरुत्साहित गर्ने ।
- कार्यालयमा खाजा घरबाटै ल्याउन प्रोत्साहित गर्ने वा कार्यालयमै उपलब्ध हुने व्यवस्था मिलाउने ।
- व्यापार नबढेसम्म प्रारम्भमा १० बजेबाट २ बजेसम्म कार्यालय खोल्ने, त्यसपछि दुई सिफ्टमा सञ्चालन हुनेगरी १० बजेबाट ४ बजेसम्म कार्यालय खोल्ने ।
- यदि लकडाउन अझै लम्बियो भने अनलाइनबाट हुने कामलाई प्राथमिकता दिने, घरबाटै काम गर्ने ।
- कार्यालयमा सुरक्षा किटको प्रयोग भने अनिवार्य गर्ने ।
पर्यटन यातायात
सरकारले पर्यटन यातायातको मान्यता दिएका सबै यातायात यो निर्देशिकाको छातामुनि आएका छन् । यसमा हरियो नम्बर प्लेट राखेर सञ्चालन हुने यातायात पर्छन् । होटेल, टुर अपरेटर र अन्य व्यावसायिका यातायातका साधन सञ्चालकले प्रोटोकललाई पालना गर्नुपर्नेछ ।
अब यातायात व्यवसायीले यात्रु कम गनुपर्नेछ । कारमा चालकसहित अधिकतम तीन जनाले मात्र यात्रा गर्न पाउने छन् ।
- १२ सिटे जम्बो गाडीमा चालकसहित अधिकतम ७ जना मात्र चढ्नुपर्नेछ ।
- २० सिट क्षमताको गाडीमा चालकसहित अधिकतम ११ जना यात्रु राख्न पाइनेछ ।
- ३० सिट क्षमताको बसमा चालकसहित १६ जना मात्र राखेर यात्रा गराउने पाइने भएको छ ।
- कर्मचारीले नियमित हात धुने, सुरक्षा किट प्रयोग, यात्रुलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने विषय समेत यसमा समेटिएको छ ।
- हात मिलाउने, अङ्कमाल गर्ने कामलाई निरुत्साहित गरी ‘नमस्ते’ अभिवादनलाई यहाँसमेत लागु हुनेछ ।
- आफ्नो सवारी साधनको नियमित सरसफाइ र किटाणुरहित पार्ने जिम्मेवारी व्यवसायीको हुनेछ ।
टुर, ट्राभल र एड्भेन्चर गतिविधि
अब समूहमा हुने साहसिक तथा यात्रामा फरक समूहलाई एकै स्थानमा राखेर गतिविधि सञ्चालन गर्न पाइने छैन।
उदाहरणका लागि र्याफ्टिङको बोटमा चढ्ने सबै पाहुना एउटै समूहको, सँगै यात्रामा गएको र एकै परिवारको हुनुपर्नेछ । यो नियम सबै प्रकारका साहसिक पर्यटकीय गतिविधिमा लागु हुने भएको छ ।
- यात्रामा आवश्यक स्वास्थ्य किट सकेसम्म यात्रु आफैँले बोक्नुपर्नेछ ।
- यात्राका दौरान आफूलाई स्वास्थ्य समस्या भए त्यसबारे तत्काल सेवा प्रदायकलाई जानकारी गराउनुपर्नेछ ।
- यात्रामा जाँदा सकभर बिमा गराउनुपर्छ । त्यसले कुनै असमान्य परिस्थितिमा हेलिकोप्टर उद्धार गर्नुपर्दा वा अन्य अवस्थामा समेत सहज हुन्छ ।
- टुरमा जाँदा स्थानीय समुदाय र अन्य टोलीसँग सामाजिक दुरी कायम गर्नुपर्नेछ ।
- ट्राभल-टुरमा आउँदा आधिकारिक कम्पनीबाट मात्र आउने ।
- एउटा समूहमा २-१५ जनाको मात्र समूह बनाएर सेवा दिनुपर्ने र त्योभन्दा बढी भए अर्को समूह बनाउने ।
- ट्रेकिङका दौरान आवश्यक स्वास्थ्य सामग्रीको जोहो साथमा हुनुपर्ने, गाइडलाई स्वास्थ्य चौकीको अवस्थितिबारे जानकारी हुनुपर्ने ।
- यात्रामा कुनै पनि सामानको सामूहिक प्रयोग नगर्ने, उदाहरणका लागि टावल, स्लिपिङ ब्याग, कप, गिलास, बोतल) ।
- यात्रामा रेस्टुरेन्टहरूले सकेसम्म प्याकिङ खानाको प्रयोग गर्ने, यात्रुलाई लन्चबक्स उपलब्ध गराउने ।
हवाई यात्रा कसरी ?
अब हवाई यात्रा पनि पहिलो जस्तै सामान्य हुने छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को महामारीका बीच हवाई यात्रालाई सुरक्षित बनाउने गरी हवाई यात्रुका लागि निश्चित नियम तोकेको छ।
तपाईंले ती नियमको पालना नगरे विमानस्थलबाटै फिर्ता समेत हुनुपर्नेछ । खासगरी विमानस्थल क्षेत्रबाट संक्रमण एक अर्कामा नसरोस् भन्ने उद्देश्यले यस्तो नियमहरू बनाइएको हो । प्राधिकरणले आन्तरिक र बाह्य उडान दुवैलाई लक्षित गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको छ। पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित परिस्थितिअनुसार संशोधन गर्दै जाने प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणले हवाई यात्रामा जोडिने सबै सरोकारवालाले पालना गर्नुपर्ने विषय समेटेर सुरक्षा निर्देशिका बनाएको छ ।
- हवाई यात्राका दौरान केवल टिकट र बोर्डिङ पास मात्र लिएर हुनेछैन । हरेक हवाई यात्रुले कोभिड १९ को स्वघोषणा पत्र भर्नुपर्नेछ ।
- अन्तर्राष्ट्रिय हवाई यात्रुले आफ्नो ट्राभल हिस्ट्रीसमेत खुल्ने प्यासेन्जर कोलेटर कार्ट (पीएससी) भर्नुपर्नेछ र त्यसलाई विमानस्थलको हेल्थ डेस्कमा बुझाउनुपर्ने ।
- रुघाखोकी, १००.४ फरेनहाइड ज्वरो, सास फेर्न कठिन हुने र स्वाद र बास्ना थाहा नपाउनेजस्ता कोभिड १९ सँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएमा यात्रुलाई जहाज चढ्न दिइने छैन।
- ७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिले समेत सम्भव भएसम्म हवाई यात्रा नगर्ने ।
- हवाई यात्राभर फेसमास्क अनिवार्य गरिएको छ। विमानस्थल प्रवेश गरिसकेपछि ब्यागेज लिने बेलासम्म पनि मास्क अनिवार्य प्रयोग गर्नुपर्ने ।
- विमानमा स्वास्थ्य सुरक्षा प्रतिकूल हुने गरी कुनै क्रियाकलाप गर्न नपाउने ।
- आन्तरिक उडानतर्फ इनफ्लाइट क्याटरिङ बन्द, अन्तर्राष्ट्रिय उडानमा मात्र उपलब्ध हुने ।
- अनबोर्ड न्युजपेपर र म्यागेजिनको सुविधा बन्द, सम्भव भएसम्म ट्रली प्रयोग नगर्ने र अतिरिक्त सहायता आवश्यक पर्ने यात्रुले मात्र यसको प्रयोग गर्नुपर्ने ।
- हवाईजहाजमा घरपालुवा जनावर ल्याउन प्रतिबन्ध, विमानस्थलभित्र आफूले प्रयोग गरेका सामान यात्रुले जहाँ पायो त्यही छाड्न नपाउने।
तयार छन् व्यवसायी ?
व्यवसायीले कमाइखाने व्यापारबाट एक रुपैयाँ पनि आम्दानी गर्न नपाएको तीन महिना पुगिसकेको छ । आगामी दिन यसैगरी लामो समय जान नसक्नेमा भने व्यवसायी निश्चित छन् ।
‘व्यवसायीले इमानदार भएर कठिन परिस्थितिको सामना गरेका हुन्,’ वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य भन्छन्, ‘अन्तर्राष्ट्रिय पाहुना तत्काल आउँदैनन्, हामीले त्यो आश पनि गर्नुहुँदैन, तर आन्तरिक रुपमा अब वातावरण सामान्य बनाउनुपर्छ ।’
यसका लागि राज्यको साथ र सहयोगको खाँचो भने निजी क्षेत्रलाई आवश्यक हुने उनको भनाइ छ ।
अर्का वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका सदस्य दीपक महत अब कोरोनासँग जुध्दै सामान्य जीवनमा फर्कनुपर्छ भन्ने सोचका साथ सुरक्षा निर्देशिका ल्याइएको बताउँछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी अब सुरक्षा निर्देशकालाई हरेक दिन कोभिडसँग जुध्ने सुरक्षात्मक रणनीति लिएर अगाडि बढ्नुको विकल्प नभएको बताउँछन् ।
अब हरेक क्षेत्रमा कुनै न कुनै प्रोटोकल अत्यावश्यक भएको भन्दै पर्यटनलाई समेत यसैगरी अगाडि बढाइने उनको भनाइ छ । पर्यटनलाई निजी क्षेत्रको साथविना पुनरुद्धार गर्न नसकिनेभन्दै सोहीअनुसार नीति तथा कार्यक्रम र बजेट आएको उनले बताए ।
उनका अनुसार छिट्टै संग्रहालयहरूका लागि समेत सुरक्षा निर्देशिका ल्याउने तयारी रहेको छ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4