Comments Add Comment

प्रदेश १ मा कोरोना रोकथाममा झण्डै २६ करोड खर्च

९ असार, विराटनगर । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले २५ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ ।

मंगलबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जम्मा २५ करोड ८३ लाख खर्च भएको प्रदेशसभामा जानकारी गराए ।

उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको मन्त्री कार्कीले बताए ।

कोरोना नियन्त्रणको लागि प्रदेश १ सरकारले निर्माण गरेको जनसुरक्षा कोषमा २९ करोड ५१ लाख ७३ हजार १ सय ४२ रुपैयाँ जम्मा भएको थियो । उक्त कोषबाट प्रदेश सरकारले १९ करोड ८२ लाख ७१ हजार १७० रुपैयाँ खर्च गरेको छ । कोषमा ९ करोड ६७ लाख रुपैयाँ छ ।

कोषको रकम मुख्यमन्त्रीको कार्यालयले ५० लाख ११५ रुपैया खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले २ करोड खर्च गरेको छ ।

कोरोना नियन्त्रणको लागि कोषबाट सबै भन्दा बढी १५ करोड ३४ लाख रुपैयाँ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको छ । कोषबाट सामाजिक विकास मन्त्रालयले २ करोड ४८ लाख ७१ हजार २० रुपैया खर्च गरेको छ ।

कोषबाहेक सामाजिक विकास मन्त्रालयले आफ्नो नियमित बजेट मार्फत ३ करोड ३० लाख ९२ हजार ६ सय ५२ रुपैयाँ खर्च गरिसकेको छ । त्यसैगरी नेपाल सरकारले प्रदेश १ सरकारलाई कोरोना नियन्त्रणको लागि २ करोड २० लाख पठाएको मन्त्री कार्कीले जानकारी दिए ।

प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि हालसम्म २५ करोड ८३ लाख ९३ हजार ८ सय २४ रुपैयाँ खर्च गरेको कार्कीले बताए । सबै खर्च विवरण सम्बन्धित मन्त्रालयले सार्वजनिक गर्ने उनले बताए ।

यसअघि सोमबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा प्रदेशले गरेको खर्च विवरण माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment