Comments Add Comment

‘काग’तिर हेर्ने प्रधानमन्त्रीले ठमेलतिर पनि हेर्ने कि ?

‘घरभाडा’को त्रास : कसैले पसल छाडे, कोही सडकमै फर्किए

१० असार, काठमाडौं । ओली सरकारले कागको उदाहरण दिँदै ‘अर्थतन्त्रभन्दा ज्यानको सुरक्षा ठूलो हो’ भन्दै आँखा चिम्लिएर ८० दिनसम्म लगातार लकडाउन गर्‍यो । बढीमा एक महिना लकडाउन गरेर आर्थिक गतिविधि खुकुलो पारिदिएको भए अर्थतन्त्रमाथि घात हुने थिएन कि ? यो प्रश्नको जवाफ दिने जिम्मा विज्ञ/विश्लेषकहरूको हो, यहाँचाहिँ सरकारी उपेक्षाका कारण ठमेलका व्यवसायीले भोग्नुपरेको दर्दनाक कथा पढौं ।

ईश्वरीप्रसाद भण्डारी अर्थात् ठमेलका ‘फोटो गुरु’ , ३० वर्षदेखि फोटो व्यवसायमा छन् । उनैले हो ठमेलमा फोटो व्यवसाय सुरु गरेको । ‘भण्डारी फोटो स्टुडियो’बाट व्यवसाय थालेका उनी आजभोलि आफ्नो पसल ‘ठमेल फोटो जोन’मा भेटिँदैनन् ।

लकडाउन खुकुलो भएपछि भण्डारी दिउँसो साथीभाइसँग भेटघाटका लागि ठमेल त आउँछन्, तर पसल खोल्दैनन् ।

खोलुन् पनि कसरी ? उनले भर्खरै आफ्नो पसलका मालसामान घरमा लगेर थन्क्याइदिएका छन्, ‘डेकोरेसन’का काठ निकालेर बेचिदिए छन् । साथै, घरबेटीलाई भनिदिएका छन्, ‘पसल खाली भयो है ।’

‘डेकोरेसनको काठ पनि राखिनँ, त्यो देखेपछि पीडा महसुस हुन्छ भनेर सेकेन्डह्यान्टमा बेचिँदिए,’ उनी भन्छन् ।

ठमेलका ‘फोटो गुरु’लाई यो अवस्थासम्म ल्याउने तात्कालिक कारण ‘कोरोना भाइरस’ महामारी हो ।

ईश्वरीप्रसाद भण्डारी

महिनाको डेढ लाख रुपैयाँ भाडा बुझाएर उनले व्यवसाय चलाइरहेकै थिए । जसोतसो महिनाको ३ लाख जति हुने खर्च धानिएकै थियो । केही रकम बाँच्थ्यो पनि ।

फोटो खिच्ने व्यवसाय पछिल्लो समय यसै पनि सुस्ताएको थियो । फोटो खिच्नेभन्दा पनि क्यामेरा, त्यसका पार्टपूर्जा र फोटो सम्बद्ध उपकरणहर” बेच्नेमा व्यवसायमा केन्द्रित थियो ।

तर कोरोना भाइरसको महामारीका कारण लकडाउन उनका लागि पहिरोजस्तै भयो । यही महामारीको भेलले उनको व्यवसाय बगाइदियो ।

लकडाउन सुरु भएको दुई महिनासम्म त उनमा धैर्य थियो । तर जति लकडाउन लम्बिँदै गयो, समस्यामा थपिँदै गयो । ऋणपान गरेर अग्रिमरुपमा १५ लाख भाडा बुझाएका थिए, तर लकडाउपछि एक रुपैयाँ कमाइ नै भएन ।

पसल बन्द गरेर राख्दा पनि कबल भाडाको मिटर चढिरहेकै थियो । कमाइ ठप्प भएको अवस्थामा पसलको चर्को भाडा थेग्ने क्षमता उनीसँग थिएन ।

त्यसै कारण लकडाउनकै बीचमा उनले घरेबटीसँग भेट्न प्रयत्न गरे, घरबेटीले १–२ दिन भन्दै १५ दिनसम्म टारे । त्यतिबेलासम्म सरकारले घरबेटीहरुलाई एक महिनाको भाडा मिनाहा गरिदिन सार्वजनिक आह्वान गरिसकेको थियो ।

ईश्वरीलाई अझै आशा थियो कि ‘घरबेटीले यस्तो अप्ठ्यारो परेका बेला कसो नहेर्लान् ।’ जब घरबेटीलाई भेटे तब उनको आशा एकैछिनमा मर्‍यो ।

घरबेटीले जवाफ फर्काए, ‘भाडा त एक रुपैयाँ छोड्न सकिन्न, तपाईंलाई पैसा तिर्न गाह्रो हुने भए पसल खाली गर्दिनुस् ।’

ईश्वरीले सबैलाई अप्ठेरो परेको भन्दै भाडाको केही भाग घटाइदिन आग्रह नगरेका पनि हैनन् । घरबेटीले ‘छिमेकीहरुले के गर्छन् हेर्छु’ भनेर जवाफ फर्काएपछि ईश्वरी थप विलखबन्दमा परे ।

बन्द भएको इश्वरीको पसल

त्यसपछि उनलाई केही दिन छटपटी भयो, करिब ६० लाख लगानी रहेको पसल चटक्कै छोड्न उनलाई मनले मानिरहेको थिएन । उनले दुई वर्षअघि सो घरमा पसल सारेका थिए । कुनैबेला ठमेलमा ६ वटासम्म फोटो पसल भएका ईश्वरीसँग बाँकी त्यही एउटा पसल थियो ।

उनलाई व्यवसाय छाड्दा पसलमा राखिएका सामानहरु के गर्ने भन्ने तनाव एकातिर थियो भने पसल छाडेपछि के गर्ने भन्ने अर्को मानसिक दबाव पनि ।

अन्ततः उनले निर्णय लिए, पसल बन्द गर्छु ।

उनका लागि यो निर्णय त्यति सहज थिएन । ठमेलमा फोटो व्यवसायको जग उनैले हालेका थिए । यो व्यवसायबाट कमाउन सकिन्छ भन्ने उदाहरण उनैले दिएका थिए ।

गोरखाबाट पढाइका लागि काठमाडौं आएका भण्डारीले ठमेलमा व्यवसाय थालेपछि उनलाई थुप्रैले पछ्याए । अरु त अरु, उनकै परिवारका भाइभतिजाहरु पनि ठमेलमै फोटो व्यवसायमा तानिए । उनले अन्य लगानीकर्ता खोजेर ‘यसमा सम्भावना छ’ भनेर आकर्षित गराए ।

त्यसैले भण्डारीका लागि पसल बन्द गर्नु आफैंले रोपेको विरुवा निमोठोर फाल्नुजस्तै थियो । तैपनि उनले विकल्पहीन भएर व्यवसायबाट पलायनको बाटो रोजे ।

‘आफूले ३० वर्ष पसिना बगाएको पेशा व्यवसाय र ठाउँ सानो समस्याका कारणले नै कसले छोड्न सक्छ र ?’ भण्डारी भन्छन्, ‘यसै पनि डिजिटल जमाना आएपछि फोटोबाट मात्रै आम्दानी थिएन, हामीले बाँच्नका लागि फोटोसम्बद्ध सामग्रीहरु किनबेच थालेका थियौं, तर कोरोनाको महामारीले मलाई यसमा पनि टिक्न दिएन ।’

भण्डारीले कोरोना महामारी रोक्न गरिएको लकडाउन सुरु भएको तीन महिनामै व्यवसाय छाड्नुपर्‍यो । यसअघि पनि उनले चर्को भाडाको समस्या भएपछि विभिन्न ठाउँ फर्दै व्यवसाय चलाउनुपरेको थियो ।

‘यस्तो समस्यामा पर्दा पनि सरकार कतै देखिएन,’ उनी भन्छन्,‘ठमेल अब पहिलेजस्तो रहेन, यहाँका अधिकांश व्यवसायी पीडित छन् । उनीहरुको समस्या सम्बोधनको प्रयास कतैबाट पनि भएन ।’

सुनसान ठमेल

फेरि सडकमै

ठमेलमा ईश्वरीजसतै पीडामा परेका छन्, गिफ्ट आइटम बेच्दै आएका नवराज तामाङ ।

नवराज पनि अहिले पसल छाडिहाल्ने तरखरमा छन् ।

लकडाउनमा काभ्रे (घर) गएका उनी केहीदिनमै काठमाडौं आउँदैछन्, पसल चलाउन हैन, पसलबाट सामान निकाल्न । उनी सामानहरु फुपूको घरको एउटा कोठामा थन्क्याइदिने योजनामा छन् ।

‘पसलमा २० लाखको सामान हालेपछि लकडाउन भयो, अब ऋणको किस्ता तिर्न समस्या परेका बेला महिनामा ४० हजार रुपैयाँ भाडा कहाँबाट तिर्नु ?’ उनी भन्छन्, ‘हामीजस्ता नयाँ व्यवसायीलाई ठमेलका पसल अब गलाको पासोजस्तो भयो ।’

तामाङ अब ठमेलमा भाडामा कबल लिएर व्यवसाय गर्न नसकिने बताउँछन् । घरेबटीलाई भाडा मिनाहाका लागि आग्रह गर्दा गाली खानुपरेको उनको तीतो अनुभव छ ।

‘घरबेटीले आधा मात्रै भाडा लिने हो भने ऋण गरेरै पनि तिर्नहुन्थ्यो, अहिलेकै दरमा वर्षमा ५ लाख भाडा खर्च हुन्छ,’ उनी भन्छन्, ‘एक रुपैयाँ नकमाएका बेला ५ लाख कसरी बुझाउने ?’

तामाङ अब ठमेलका सडकमै मालाहरु लिएर बेच्ने योजना सुनाउँछन् । ‘बरु माला बोकेर हिँड्दा जति नाफा कमाइन्छ, त्यति सबै आफ्नै हुन्छ,’ उनी भन्छन्, ‘पानी बिजुलीकोसहित महिनाको ५० हजार बुझाउन १ लाख कमाउँदा पनि गाह्रो नै पर्छ ।’

उनी यसअघि ठमेलको सडकमै माला बेच्दै हिँड्थे, फेरि कथाले उनलाई सडकमै ल्याइदिएको छ ।

धेरैको सर्ने योजना

ठमेलमा पसल कबलमा महंगो भाडा र सलामी तिर्नेहरु आएपछि त्यहाँका पुराना व्यवसायीहरु विस्थापनको शिकार हुँदै आएका थिए । एउटा ठाउँबाट अर्को ठाउँमा सर्दा लाग्ने खर्च लगायतका कारण थप लगानी आवश्यक परिरहेको थियो ।

ग्राहक कुर्दै ब्यवसायी

यस्तो अवस्थामा भर्खरै व्यवसाय सुरु गरेकादेखि ठमेलका पुराना व्यवसायी सबैलाई चर्को भाडा र थप्नुपर्ने ठूलो दर लगानीले मार पारिरहेको थियो । पछिल्लो समयमा चिनियाँ लगानी भित्रिँदै गएपछि ठमेलमा पसलको भाडाको दर पनि आकाशिँदै थियो ।

कमाएर कोठा भाडा तिर्न सकसमा परिरहेका व्यवसायीहरु महामारीपछि भएको लकडाउनमा पनि पुरानै दरमा कोठा भाडा तिनुपर्ने अवस्था आएपछि अत्ताल्लिएका छन् ।

त्यसैले कति व्यवसायीहरु ठमेलबाट आफ्नो कार्यालयलाई अन्यत्र लैजाने योजनामा छन् । विशेष गरी ट्रेकिङ, ट्राभल एन्ट टुर्स व्यवसायको कार्यालयलाई ठमेलमा केन्द्रित गरेकाहरु अन्यत्र सर्न योजनामा छन् ।

यस्तै योजना बनाइरहेका छन् ट्रेकिङ व्यवसायी गोपाल पन्त । अब कोरोनाको महामारी कहिलेसम्म जान्छ र यसले पर्यटनलाई कति असर पर्छ भन्ने ठेगान नभएकाले चर्को भाडा तिरेर ठमेलमा कार्यालय राख्न नसकिने देखिएको बताउँछन् ।

‘ठमेलमा अन्यत्रजस्तो स्थानीयहरुमा आधारित र लक्षित व्यवसायहरु खासै छैनन्, विदेशी पर्यटक आउन नथालिन्जेल त्यहाँ धेरै व्यवसाय प्रभावित हुन्छन्,’ उनी भन्छन्, ‘कतिपय व्यवसायीलाई यहाँ अब लगातार टिकिरहन गाह्रो हुन्छ ।’

आधा मिनाहाको प्रस्ताव, घरेबेटीद्वारा अस्वीकार

ठमेलमा अहिले खाद्यान्न र किारानासम्बद्ध व्यवसाय गर्ने बाहेक अधिकांश व्यवसायी नराम्रोसँग प्रभावित भएका छन् । ठमेल पर्यटन विकास परिषदका पूर्वअध्यक्ष रामशरण थपलिया घरभाडा छुट नदिने हो भने धेरै व्यवसायीहरु पलायनको अवस्थामा पुग्ने बताउँछन् ।

‘धेरै व्यवसायी त पर्ख र हेरको अवस्थामा छन्, लामो समयसम्म व्यवसाय ब्युँतिएन भने आफ्नो व्यवसाय छोड्ने वा अन्यत्रै सार्नेहरु धेरै हुनेनछ्,’ उनी भन्छन्, ‘तर, यस्तो समस्या नहोस् भनेर अहिले स्थानीय व्यवसायी र घरबेटीहरुबीच हामीले सम्वाद गरिरहेका छौं ।’

आपसी समझदारीमा व्यवसाय पुरानो गतिमा नफर्किन्जेल भाडा घटाउने वा लकडाउन अवधिको भाडामा छुट दिने लगायतका विकल्पमा घरबेटी र व्यवसायीहरुबीच आपसी समझदारी होस् भन्ने परिषदको चाहना छ ।

ठमेलमा महिनामा २० हजारभन्दा कम मूल्यका सटरहरु भेटाउन मुस्किल छ । होटलका लागि घरभाडा लिनेहरुले मासिक २ लाखदेखि ५ लाखसम्म तिर्नुपर्छ । क्लब चलाउनेहरुहरुले २०/२५ लाख भाडा तिर्छन् । अहिले यस्ता सबैखालका व्यवसाय ठप्प हुँदा व्यवसायीको थाप्लोमा भार बढेको छ । त्यसैले घरभाडामा एक वर्षसम्म ५० प्रतिशत छुट दिन परिषदले स्थानीय घरबेटीलाई आग्रह गरेको छ ।

ठमेलमा बन्द रहेका पसलहरू

तर, अधिकांश घरबेटीहरु भाडा छुट वा मिनाहाको विपक्षमा छन् । उनीहरुले आफ्नो पनि ऋण भएको र भाडाकै आधारमा तिर्नुपर्ने भएकाले सरकारले उचितखालको ‘स्किम’ ल्याएमात्रै भाडा घटाउन सकिने अडान लिएका छन् ।

ठमेलमा अधिकांश घरबेटीहरु ठमेलभन्दा बाहिर गएर बसेकाहरु छन् । जसले ठमेलको घरलाई आम्दानीको प्रमुख स्रोत बनाएका छन् । उनीहरुले आफ्नो आयस्रोत नै धरापमा पारेर भाडा मिनाहा गर्न नसकिने बताउँदै आएका छन् ।

घरधनी नैऋत्यमान बज्राचार्य घर र पसलको भाडा छुट दिँदा आफ्नो बैंक ऋणको किस्ता तिर्न समस्या पर्ने बताउँछन् । ‘हिजो बढी भाडा दिन हानाथाप हुँदा पनि हामीले घरबाट कसैलाई निकालेनौं,’ बज्राचार्य भन्छन्, ‘आज दुई/चार महिना समस्यामा भयो भनेर व्यवसाय गर्नेले हात उठाउन हुँदैन, दशैंपछि त पर्यटक आइहाल्छन् नि !’

यसैसाता राष्ट्रियसभामा सम्वोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले बरण्डामा बसेर ब्रेकफास्ट खाँदा कागसँग हुने गरेको क्रीडा सुनाएका थिए । कागको भाषा बुझ्ने प्रधानमन्त्रीले एकचोटि सरकारी उपेक्षा र अदुरदर्शिताका कारण जनताले भोग्नुपरेको सास्तीतिर पनि बरण्डाबाट नजर लगाए कसो होला ?

यात्रु कुर्दै बसेका रिक्सा

फोटो भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment