Comments Add Comment

भरतपुर महानगरको बजेट सवा ४ अर्ब, क्रिकेट रंगशाला बनाउन साझेदारी कोष

१० असार, चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सवा ४ अर्बको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बुधबार कुल चार अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिन् ।

यो चालु आव २०७६/७७ को तुलनामा केही कम हो । चालु आवमा सरकारले ४ अर्ब ५१ करोड २८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

महानगरले कोभिड-१९ संक्रमितको उपचारसँगै क्वारेन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई स्थानीय स्तरमै रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ ।

यसका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्ने बजेटमा उल्लेख छ । बजेटले राखेका उद्देश्य तथा प्राथमिकता कार्यान्वयनमा संघ र प्रदेश सरकार तथा छिमेकी स्थानीय तहसँग समेत सहकार्य गरिने उपप्रमुख शाहले बताइन् ।

बजेटको स्रोत के हो ?

भरतपुर महानगरले आन्तरिक स्रोतबाट ९० करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ । घरजग्गा रजिस्ट्रेसन, खानी तथा खानीजन्य पदार्थको बाँडफाँटबाट पाउने रकमलाई आन्तरिक स्रोत मानिएको छ । अन्तरसरकारी अख्तियारीबाट ६० करोड प्राप्त हुने अनुमान गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट भने एक अर्ब ६९ करोड प्राप्त हुने भएको छ । केन्द्र र प्रदेशबाट हुने राजस्व बाँडफाँटबाट ४६ करोड १२ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

जनसहभागिताका माध्यमबाट २५ करोड तथा बैङ्क मौज्दात ८२ करोड रुपैयाँलाई पनि बजेटमा राखिएको छ ।

क्रिकेट रंगशाला बनाउन समपूरक कोष

धुर्मुस सुन्तली फाउण्डेसनले बनाइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरले संयुक्त कोष खडा गर्ने भएको छ ।

रंगशाला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न साझेदारी तथा समपूरक कोष स्थापना गरिने बजेटमा उल्लेख छ । सहरी विकास तथा पूर्वाधारमा मात्र महानगरपालिकाले ४७ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । उता, युवा तथा खेलकुदसम्बन्धी गतिविधि सञ्चालनमा भने दुई करोड बजेट राखिएको छ ।

अधुरा आयोजना पूरा गर्न ८२ करोड

महानगरपालिकाले अधुरा आयोजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने घोषणा गरेको छ । चालु आवको भुक्तानी तथा बहुवर्षीय ठेक्का प्रणालीबाट कार्यान्वयनमा रहेका आयोजनाको भुक्तानीका लागि ८२ करोड विनियोजन गरिएको छ ।

स्वास्थ्य सेवा र शिक्षामा ९/९ करोड

महानगरले स्वास्थ्य सेवाको सुधार र पहुँच बिस्तारमा साढे ९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो बजेट वडामा स्वास्थ्य संस्था स्थापना, कोरोना संक्रमणको सम्भावना भएका व्यक्तिको परीक्षण गर्न आवश्यक औषधि तथा उपकरण खरिदमा खर्च हुने भएको छ । क्वारेन्टिन व्यवस्थित गर्न समेत सोही बजेट उपयोग गर्ने योजना महानगरको छ । शैक्षिक उन्नयनका लागि भने ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

एक वडा एक पशु फर्म

भरतपुर महानगरपालिकाले कृषि र पशुपालन क्षेत्रको विकासका लागि १५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। यो रकम एक वडा एक पशु फर्म, दूधमा अनुदान, कृषि ऋणमा २ प्रतिशत ब्याज अनुदान, बिउविजन र मल वितरणमा अनुदानलगायतमा खर्च गरिने भएको छ । महानगरमा हरियाली प्रवर्द्धन, सरसफाइ तथा वातावरण संरक्षणमा ८ करोड रुपैयाँ विनियोजन भएको छ । संस्कृति र पर्यटन प्रवर्द्धनमा तीन करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

रोजगारी सिर्जना गर्न ४ करोड बजेट

भरतपुर महानगरले रोजगारी सिर्जनालाई लक्षित गरी ४ करोड रुपैयाँ बजेट छुट्याएको छ । कृषिसहित साना उद्यम गर्न चाहने युवालाई शून्य ब्याजदरमा अनुदान उपलब्ध गराइने छ भने नवीन काम गर्न चाहनेलाई सुरुवाती पुँजी प्रदान गर्ने योजना छ । निजी क्षेत्रसँग सहकार्य गरी स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्न एक करोड ५० लाख रुपैयाँ उपयोग गर्ने समेत महानगरको बजेटमा उल्लेख छ ।

प्रशासनिक खर्च ४८ करोड

भरतपुर महानगरपालिकाको प्रशासनिक खर्चका लागि भने ४८ करोड रुपैयाँ छुट्याइएको छ । हरेक वडालाई महानगरपालिकाले एक करोडका दरले रकम दिने र वडास्तरमा कार्यक्रम बनाएर कार्यान्वयन गरिने पनि बजेटमा उल्लेख छ । यसका लागि २९ वडामा २९ करोड रुपैयाँ खर्च हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment