Comments Add Comment

प्रदेश २ मा १०३ जना कोरोना संक्रमित थपिए

१० असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २१ जना महिलासहित १०३ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार २०० पुगेको छ ।

सबैभन्दा बढी संक्रमित रौतहटमा देखिएका छन् । रौतहटमा ४४ जना, धनुषामा २० जना, सर्लाहीमा २१ जना, महोत्तरीमा १२ र सप्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रौतहटको लक्ष्मीनियाँ–५ स्थित श्री शंकर प्रावि आधारभूत विद्यालयको क्वारेन्टिनका ६ जना महिलासहित २२ जना, ईशनाथ नगरपालिकाका ४ जना महिलासहित २२ जना, धनुषाको मिथिला नगरपालिकाका ३ वर्षीया एक जना बालिका, दुई जना युवती, ८ जना पुरुष, नगराइन नगरपालिकाका ७ जना र बटेश्वर गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सर्लाहीको हरिपूर्वा नगरपालिकाका १ जना, विष्णु गाउँपालिकाका २ देखि २६ वर्ष समूहका  ५ जना महिलासहित २० जना, महोत्तरीको गौशाला नगरपालिकाका ५, लोहरपट्टी नगरपालिकाका एक जना महिला र एक जना पुरुष, मनरा सिस्वा नगरपालिकाकी एक महिलासहित ५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सप्तरीको बोदे बसाईन नगरपालिका वडा-३ र ५ का १ महिलासहित ४ जना, बिहुल बलान नगरपालिका–३ का दुई जना पुरुषमा संक्रमण देखिएको छ । हालसम्म प्रदेश २ मा ४१ हजार १५१ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा ६ हजार ८१६ जनाको रिपोर्ट आउन बाँकी छ ।

बुधबार मात्रै उपचारपछि कोरोनामुक्त भएर १२५ जना घर फर्किएका छन् । प्रदेश २ मा कोरोनामुक्त हुनेको संख्या १ हजार २३४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment