Comments Add Comment

वीरेन्द्रनगरको बजेट एक अर्ब ४२ करोड, काँक्रेविहारमा चिडियाखाना

१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि एक अर्ब ४२ करोड बढीको बजेट ल्याएको छ ।

सातौं नगरसभामा कार्यबहाक नगर प्रमुख उपमेयर मोहनमाया ढकालले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार रुपैयाँको बजेट पेस गरेकी हुन् ।

प्रस्तुत बजेटमा चालु खर्च ९० करोड ४० लाख १४ हजार ४०० र पूँजीगततर्फ ५१ करोड ६७ लाख ९८ हजार ४२३ रुपैयाँ रहेको छ भने वित्तीय व्यवस्थातर्फ ८२ लाख ८० हजार विनियोजन गरिएको छ ।

नगर कार्यपालिकाको कार्यालय र वडा गरी आर्थिक विकासमा चार करोड ३६ लाख १० हजार, सामाजिक विकासमा १२ करोड ३० लाख ३१ हजार, पूर्वाधार विकासमा १४ करोड २९ लाख ४५ हजार ९४९, वातावरण तथा विपद् व्यवस्थापनका लागि दुई करोड ३१ लाख ७५ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ६ करोड १२ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कोरोना संक्रमणसँगै वैदेशिक रोजगारबाट फर्किएका तथा कोरोना प्रभावित युवा लक्षित कृषिमा आधारित कार्यक्रम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको उपमेयर ढकालले जानकारी दिइन् ।

आगामी आर्थिक वर्षमा खेतीयोग्य जग्गा बाँझो रहन नदिन ‘जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊँ’ सञ्चालन गर्ने र त्यस्का लागि गह्रासुधार तथा चक्लाबन्दी गरी खेती कार्यको लागि आर्थिक संरक्षण सहितको विशेष प्रोत्साहन गरिने छ ।

१०० बेडको आइसोलेसन

नगरले हाल देखिएको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा एकमुष्ट पाँच करोड जम्मा गरेर खर्च गर्ने भएको छ ।

कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि शंङ्कास्पद व्यक्तिलाई कन्ट्रयाट ट्रेसिङ गरी व्यापक परीक्षण गर्ने, संक्रमितलाई आइसोलेसनमा राखी उपचार गर्ने, १०० वेडको आइसोलेसन बेड निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई बोक्नका लागि एम्बुलेन्सको व्यवस्था गरिने नगरसभाको प्रस्तावित कार्यक्रममा उल्लेख गरिएको छ ।

साथै आइसोलेसनका बिरामीहरुका लागि निगरानी राख्न डाक्टरसहितको स्वास्थ्यकर्मीको व्यवस्था गरिने, संक्रमित व्यक्तिलाई बोक्न छुटै एम्बुलेन्स र शव वाहनको व्यवस्था गरिने, आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि प्रयाप्त उपलब्धतालाई प्रभावकारी बनाइने, मदिरा तथा सुर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न विशेष अभियान थाल्ने ।

काँक्रेविहारलाई चिडियाखानाका रुपमा विकास गरिने

उपमेयर ढकालले पेस गरेको बजेटमा काँक्रेबिहारलाई चिडियाखानाको रुपमा विकास गर्न, नगरका अन्य पर्यटकीयस्थलहरु काँक्रेविहार, देउतीबज्यै, बुलबुले, घण्टाघर र गढी जस्ता दर्शनीयस्थलहरुमा वातावरणमैत्री पार्क निर्माण गर्न बजेट विनियोजन भएको छ

वीरेन्द्रनगरलाई हरित नगरका रुपमा विकास गर्न एक घर, दुई बिरुवा, हामी आफैं कुरुवा कार्यक्रमलाई निरन्तरता दिने, सौर्य ऊर्जा र बायो ग्याँस विस्तारमा विशेष जोड दिने, सडक वत्तिलगायत सहरी सौन्दर्य एवं ट्राफिक व्यवस्थापनमा विशेष प्रथामिकता दिइएको उपमेयर ढकालको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण जोखिम रोक्न ‘सुरक्षित म र मेरो समुदाय विशेष अभियान’ सञ्चालन गरिने, शून्य फोहोर उन्मुख नीति लागु गरिने, उपत्यकाभित्र कम्तीमा पाँचवटा सार्वजनिक शौचालय संचालन गर्ने, गुरुयोजना बमोजिम ल्याण्डफिल साइट निर्माण गर्न पनि बजेट विनियोजना भएको छ ।

बजेटको स्रोत

नगरले पेस गरेको बजेटमध्ये वित्तीय समानीकरण २३ करोड ६५ लाख, राजस्व बाँडफाँटबाट १५ करोड २७ लखा ४ हजार, विशेष अनुदान ६० लाख, वित्तीय समानीकरण प्रदेश १ करोड १९ लाख ६७ हजार, सवारी साधन राजश्व बाँडफाँट प्रदेशबाट ३० लाख, सामाजिक सुरक्षा (अनुमान ) २० करोड ४२ लाख ७८ हजार ४ सय रहेको छ ।

यस्तै, शसर्त अनुदान संघबाट ४५ करोड १९ लाख, आन्तरिक आय १२ करोड १४ लाख, गत वर्षको मौज्दात (क्रमागत योजना) १४ करोड, ७६ लाख ५१ हजार र आन्तरिकतर्फ ९० करोड रहेको छ ।

साथै साझेदारी विकास कोष र स्थानीय विकास कोषको ८२ लाख ८० हजार रुपैयाँबाट व्यहोरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment