Comments Add Comment

बजेट सुन्दासुन्दै वडाध्यक्षले कोरोना संक्रमित भएको खबर पाए

१० असार, काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मेघराज रानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा वडाध्यक्ष रानामा बुधबार संक्रमण पुष्टि भएको हो ।

वडाध्यक्ष रानाले अनलाइखबरसँग भने, ‘गाउँसभाको बैठक चलिरहेकै समयमा स्वास्थ्य संयोजकले मलाई बाहिर बोलाउनुभयो । तपाईंमा संक्रमण पुष्टि भएको छ भनेर मलाई उहाँले जानकारी गराउनुभयो । त्यसपछि म गाउँसभाको बैठक छाडेर आइसोलेसनमा बस्न जानका लागि तयारी गरें ।’

वडाध्यक्ष रानाले भने, ‘भारतबाट आएका ७६ जनासहित उनीहरुको व्यवस्थापनमा खटिएका ८२ जनाको जेठ २५ गते स्वाब संकलन गरिएको थियो । मैले पनि सोही दिन कोरोना परीक्षणका लागि स्वाब दिएको थिएँ । जसमध्ये बुधबार मसहित ४२ जनामा संक्रमण पुष्टि भएको छ ।’

संक्रमण पुष्टि भएको थाहा पाएपछि दाङको घोरोही उपमहानगरपालिका–१७ स्थित पदमोदय मावि आइसोलेसनमा बस्नको लागि हिँडेको भएपनि पानी परेका कारण बाटोमा पहिरो खस्दा त्यहाँ पुग्न नसकिएको उनले बताए । उनले भने, ‘संक्रमण पुष्टि भएका मध्ये मसहित १६ जना आइसोलेसनमा भर्ना हुनका लागि हिँडेका थियौं । तर पहिरो खसेका कारण सडक अवरुद्ध हुन पुग्यो । अहिले हामी वडा नम्बर–४ झुलीडाँडास्थित एकीकृत नमुनाबस्तीमा बनाइएको आइसोलेसनमा बसेका छौं । संक्रमण पुष्टि भएका अन्य व्यक्तिहरु भने क्वारेन्टिनमै रहेका छन् ।’

जनताको सेवा गर्दा गर्दै संक्रमित भएँ

वडाध्यक्ष रानाका अनुसार भारतबाट आएका नगरवासीलाई क्वारेन्टिनमा व्यवस्थापन गर्ने क्रममा आफू संक्रमित भएँ कि भन्ने लागेको छ । उनले भने, ‘भारतबाट आएका नगरवासीलाई क्वारेन्टिनको व्यवस्थापन गर्दा आफू नै बढी सक्रिय भएको थिएँ । त्यसै क्रममा आफू संक्रमित भएको जस्तो लाग्छ । केही छैन जनताको सेवा गर्दा गर्दै संक्रमित भएको भएपनि कोरोनालाई जितेर पुनः जनताको सेवामा समर्पित हुन्छु ।’

वडाध्यक्ष रानाका अनुसार महिला स्वास्थ्य स्वयंसेविकासहित वडा नम्बर २ मा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

बंगलाचुली गाउँपालिकाका ४२ जनासहित दाङमा बुधबार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment