Comments Add Comment

रुकुम घटनामा २३ जना पुर्पक्षका लागि थुनामा

किशोरीकी आमालाई धरौटीमा छाड्न आदेश

१० असार, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी वकिल कार्यालयका प्रमुख विनोद पौडेलले अनलाइनखबरलाई बताए ।

तीन जना प्रतिवादी तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ ।

प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

पीडितको तर्फबाट २५ जना वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट ७ जनाले बहस गरेका थिए ।

प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई बाल सुधार गृहमा राख्न यसअघि नै अदालतले आदेश दिइसकेको छ ।  घटनामा संलग्न तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझै फरार छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले ३२ जेठमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेकाे थियाे ।

सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको थियाे ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

त्यसक्रममा नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेकाे अनुसन्धानमा भाग्दै गरेको नवराजकाे समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेकाे थियाे ।

याे पनि पढ्नुस् 

इतिहासकै क्रूर जातीय नरसंहारको इतिवृत्तान्त

प्रहरी अनुसन्धानको निश्कर्ष : युवतीको परिवार र वडाध्यक्षको योजनामा हत्या

गृहको प्रतिवेदन : रुकुम घटनाको योजनाकार वडाध्यक्ष !

रुकुम घटनाः आमाछोरीलाई छुट्टै कोठामा राखेर अनुसन्धान गर्‍यौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment