Comments Add Comment

लुई चौधौंहरूले कज्याएको राज्य र राजनीति

भनिन्छ, अहंकार र स्वेच्छाचारिताको पारो लुई चौधौंमा यतिसम्म चढेको थियो कि उनले घोषणा गरे– म नै राज्य हुँ । र, यस्तो अहंकार र स्वेच्छाचारिताले मानव सभ्यताको विनाश सिवाय केही गरेन ।

अनेकानेक ऋषि, महर्षि, विचारक, चिन्तक, दार्शनिकहरुले मान्छेको ‘म’ लाई ‘हामी’ बनाउन अनेकौं विचार, सिद्धान्त, दर्शनको प्रतिपादन गरे हुनन् । किनकि, मिसेल फुको आफ्नो ‘शक्ति सिद्धान्त’मा भन्छन्– ‘म’ भन्नु भनेको पनि एक तहको शक्ति अभ्यास हो ।

तर, समयको पटांगिनीमा फेरि पनि तिनै लुई चौधौंहरुको प्रहसन पदार्पण भइरहेछ । र, त्यस्तो प्रहसनलाई सामना गरेर अनि त्यसलाई परास्त गरेर मात्रै समयको घडीपला फेरिनेछ । तर, अवश्य पनि यसको एउटा सर्त भने रहेको छ, जुन समाज मार्क्सले भने झैं जति बढी ‘विचारधारात्मक रुपले सचेत’ हुने गर्दछ, त्यो समाजले लुई चौंधौंहरुको ‘हिसाबकिताब’ चाँडो चुक्ता गर्नेछ । अन्यथा, ततबखतसम्मका लागि समाज त्यस्ता लुई चौंधौंहरुलाई झेल्न अभिसप्त भैरहनुपर्नेछ ।

अँ यति भन्नु वाञ्छनीय हुनेछ कि यो ढिलोचाँडोको कुरा मात्रै हो, समाज सदैव लुई चौधौंहरुको प्रहसन झेल्न भने अभिसप्त हुनेछैन ।

आजकाल समाजमा जताततै लुई चौधौंहरु आ–आफ्नो अहंकारको फणा उठाउँदै कुशासनको प्रहसन प्रदर्शन गरिरहेको भेटिन्छन् । राज्यसत्तामा, सँस्थानहरुमा, पार्टीहरुमा, गुटहरुमा, संस्थाहरुमा, अन्त कहीं नभए आफ्नै नामको मण्डलीमा भएपनि तिनीहरु ‘म’ को शासन लाद्न बेसरम हर्कतमा उत्रिरहेका देखिन्छन् ।

गौतम राई

सरकारमा प्रधानमन्त्रीका रुपमा खड्गप्रसाद ओलीको अहंकार र स्वेच्छाचारिताको त हजार जिब्रो भएको शेषनागले समेत बखान गरी नभ्याउलान् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समेत उनै अध्यक्ष ओली कमरेडको नेतृत्वको प्रतापमा पहेंलपित्ते संगठन सावित भएर मुर्झाइरहेको देखिन्छ ।

उता नेपाली कांग्रेस नामको एउटा यस्तो पार्टी छ, जोसँग २००४ सालदेखि प्रजातन्त्रको खातिर क्रान्तिको बिगुल फुकेको २००७ साल र २०४६ सालमा पटकपटक प्रजातन्त्रको आन्दोलनको नेतृत्व गरेको उम्दा विशेषता इतिहासको बहीखातामा च्यापेर बसेको डंका पिट्छ । तर, त्यो पार्टी स्वयं भने आज सभापति शेरबहादुर देउवाको नालायकीको प्रतापले च्यापिएर संसद र समाजमा प्रतिपक्षको भूमिका निर्वाह गर्नसमेत अक्षम देखिएको छ । जो आफूलाई लोकतन्त्रको घोर मसिहा ठान्छ, स्वयम उसको पार्टी भने घोर अलोकतान्त्रिक पद्धतिको पराकाष्ठामा विराजमान छ । र, शेरको सुताइमा आलस्यताको राग अलाप्नु मात्रै उसको राजनीतिक ध्येय भैसकेको जस्तो देखिन्छ ।

अन्यथा, सत्ताको तमाम नालायकी र हर्कतमा कि त रमिते बन्नु, कि त केही टपरटुइँयाले संसदमा व्यंग्य कविता वाचन गर्नु, अथवा नियुक्तिमा यसो च्याँखे दाउ थापेर शेरको सुताइमा विलीन हुनु सिवाय उसको कुनै राजनीति देखिन्न । भ्रममा नपरौं, त्यो सुतेको शेर कहिले गर्जेर उठ्ने छैन, बरु यसो केही नियुक्तिको च्याँखेमा कौडा हान्नेले जानीजानी यसो हालिदिएको दाउको घाँस खान्छ र त्यो शेर फेरि चाँडै निदाइ पनि हाल्नेछ ।

नेकपाका मान्छेहरुबीच आनन्द लिने एउटा तर्क छ । त्यो के भने– हामीलाई आनन्द नै छ, हामीले केही नगरे नि सत्यानाश भै हाल्दैन । अर्को चुनाव जितिहालिन्छ किनभने प्रतिश्पर्धामा त्यही नेपाली काँग्रेस त हो नि, काँग्रेसले के नै उखाडिहाल्छ र !

यसरी राजनीतिमा समाजप्रतिको जिम्मेवारी र दायित्वबोध समेत एकअर्कालाइ हेर्दै घनघोर आलस्यताको साथ मरिरहेको छ ।

यता, नेकपा पार्टी एकता नामको बहानामा दाबी अनुसारको करिब ८ लाख पार्टी सदस्यलाई नाकाम बनाएर केही लुई चौधौंहरुको कब्जामा जकडिएको छ । अध्यक्ष ओलीको प्रतापको यसै बखान गरिभ्याइन्न । किनकि, उहाँ नै पार्टी हो । स्वयम अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दहालको ‘प्रचण्ड’ता समेत ओलीको प्रतापले रापिएर, खुइलिएर लल्याकलुलुक जो भएको छ ।  अरुको कुरा गरेर के शब्दको सत्यानाश गरिभ्याउनु ।

कुरा यतिमा मात्रै सकिँदैन ।

पार्टी एकताको नाममा बनेका तल्लो कमिटी वा भगिनी संगठनहरुको नाममा गौंडागौडामा लुई चौंधौंहरु उत्पादन भइसकेका छन् । जसरी केन्द्रमा लुई चौंधौंको अहंकारको अख्तियारीले राज गरेको छ, उनैलाई देखाएर, उनैको सिको गर्दै गौंडागौंडाका लुई चौंधौंहरुले आफूलाई नै संगठन, आफूलाई नै कमिटी घोषणा गर्दै मुद्दा, एजेन्डा, जिम्मेवारी, दायित्वबाट राजनीतिलाई च्युत गर्नमा कुनै कसर बाँकी नराखी स्वेच्छाचारिताको सयरमा ब्यस्त देखिन्छन् । ती कमिटीहरुमा, ती संगठनहरुमा कमिटीगत प्रणाली, सांगठनिक काम र उत्तरदायित्व, सामाजिक मुद्धा र एजेन्डा, राजनैतिक विचार र कार्यदिशा सबैसबैलाई तिलाञ्जली दिएर ‘म’ र मात्र ‘म’ को सत्ता स्थापनार्थ उनीहरु भरमग्दुर प्रयासरत देखिन्छन् । जसलाई केन्द्रीय लुई चौंधौंले बिना कुनै हिच्किचाहट अनुमोदन गरिदिएका छन्, आफ्नो व्यवहार मार्फत् ।

कमिटीका लुई चौंधौंहरुले जसरी ‘म’ नै कमिटी, ‘म’ नै संगठनको सिद्धान्त अपनाएका छन्, ठीक त्यसरी नै पार्टीबाट चुनिएका प्रतिनिधिहरुले आ–आफ्नो सोपान अनुसारको ‘म’ नै राज्य हुँ भन्ने सिद्धान्त अपनाउनु कुनै नौलो कुरा रहेन । र, यो प्रवृत्तिले के देखाएको छ भने, न पार्टीले आफूले चुनेर पठाएको प्रतिनिधि चिन्छ, न चुनिएको प्रतिनिधिले पार्टी चिन्छ । वस्तुतः यो सबै केन्द्रबाटै बगेको पानी र बानीको उपज थियो/हो भन्नु हिच्किचाइरहनु परोइन ।

तहाँ केन्द्रको लुई चौंधौंदेखि गौंडे लुई चौंधौंहरु सबै-सबैले पार्टीको विचार, नीति, कार्यक्रम, कार्यदिशा, सिद्धान्त सो अनुसारको दायित्वबोध र कार्यभारलाई भग्नावशेष संरचनाको कुनै थोत्रे सन्दुकमा कच्याक कुचुक पारी बेलाबेलामा पट्यार लाग्दो राग अलाप्छन् ‘समृद्ध नेपाल सुखी नेपाली’को ।

अर्को लुई चौंधौंको त्रासदी झेल्न अभिसप्त नहुने हो भने समाजलाई, पार्टीलाई, संगठनलाई, ती तमाम स्वप्नजीवीहरुलाई विचारधारात्मक रुपले सचेत गराउँदै संगठित गर्नुको विकल्प भने हामीसँग किमार्थ छैन

यता भगिनी संगठनहरुको दुर्दशा अझ रमाइलो देखिन्छ । मजदूर मुक्तिको राग अलापेर सत्ताको भर्याङ चढेको पार्टी मजदुरहरु भोकभोकै सडकमा भत्तभताइरहँदा उक्त मजदूर संगठनको लुई चौंधौंहरु कुनै ठेकेदारको ठेक्का, टेन्डर, पुँजीपतिको करछुटको फाइल बोकेर तालुकदार मन्त्री वा नोकरशाहसँग डिनर भोजमा व्यस्त भैरहेको हुन्छ ।

रातबिरात महिलाहरु बलात्कार र हिंसाको शिकार भइरहँदा महिला संगठनको लुई चौंधौहरु भने महिलाको न्यायको खातिर सडकमा उत्रिनु त परै जाओस् एउटा विज्ञप्ती समेत जारी गर्दैन, बरु महिलाको कोटामा कतै कुनै नियुक्तिको खातिर ढोका र दैलाहरुमा चाहारिरहेका भेटिन्छन् ।

सदियौंदेखि दलनमा रहेको दलित समुदायमाथिको हिंसा मात्रै हैन, नरसंहार भैरहँदा मुक्ति मोर्चा वा मुक्ति समाज नामको भगिनी संगठनका लुई चौधौंहरु उपल्लो लुई चौंधौंको आदेश पर्खाइमा साउती मारिरहेका भेटिन्छन् ।

अनि, परिवारको दुईछाक पेट भर्न देशविदेशमा पसिना र रगत चुहाइरहेका लाखौं युवाहरु जिन्दगीको त्रासद भविष्यबाट तर्सिदैं कोही छट्पटाउछन्, कोही रुँदै सडकमा भौतारिहन्छन्, कोही विदेशीको नारकीय गुलाम बन्न विवश हुन्छन्, कोही गुलाम बन्दाबन्दै हतभागी बनेर एअरपोर्टबाट बाकसमा फर्किन्छन्, यता युवा संगठनका लुई चौंधौंहरु भने आ–आफ्नो गुटको नेताको गुलामीमा उर्जा खर्च गर्दछन् अनि त्यो खर्चिएको उर्जा वापतको सम्भव भए नखतानखत नत्र जिन्सी या बक्यौताको बहीखातामा आफ्नो गुलामीको हिसाब-किताब चढाएर सुइँकुच्चा ठोक्छन् कुनै रेस्टुराँ, दोहोरी, पब या बारतिर ।

यता, विद्यार्थी संगठनको लुई चौंधौंहरुको महात्म्यको त के बखान गरिभ्याउनु । यति भनौं, ती लुई चौंधौंहरु विद्यार्थीको हितार्थ नभएर विद्यार्थीको लुटार्थ खडा गरिएका संस्थाका मसिहा मण्डलका एक प्यादा सिवाय केही हैनन् भन्ने उनीहरुका कर्मले पुष्टि गरिसकेको वृतान्त हाम्रा सामु ओपन सेक्रेट तथ्य बनिसकेको छ । यसरी नै शिक्षक संगठन, प्राध्यापक संगठन, बुद्धिजीवी संगठन, कर्मचारी संगठन आदि इत्यादिका लुई चौंधौंका यस्तै-यस्तै महात्म्यहरुको कूल योग हो आजको राजनीति, यसको अवयव र केन्द्रीय लुई चौंधौंको उत्पादन र भरणपोषण ।

के यी लुई चौंधौंहरुको साम्राज्य सार्वकालिक हो ? कतिपयलाई यो सार्वकालिक हो भन्ने भ्रम छरेर आफ्नो साम्राज्य कायम राखिरहन स्वयमको भ्रमको खेतीमा लाग्न उनीहरु यसै अभिसप्त त हुने नै भए । तर, यो सार्वकालिक त किमार्थ हुनेछैन । कि त यो पार्टी बाहिरको जनमतले या पार्टी भित्रैको प्रगतिशील आवाजले तिनीहरुको हिसाब-किताब चुक्ता गरी छाड्नेछन् । किनकि, मार्क्सले भने अनुसार ‘बहुसंख्या’को हितार्थ राजनीतिको ध्येय हो भने यी लुई चौंधौंहरुले किमार्थ बहुसंख्याको हित रक्षा गर्दैनन् । किनकि, लुई चौंधौंले आफूबाहेक सबलाई खारेज गर्नु मै उसको आफ्नो कालो पोतिएको विशेषता निर्माण गरे ।

यसमा, प्रष्ट हुनपर्ने कुरा के छ भने, पार्टी बाहिरको जनमत फेरि पनि राजनीतिको स्थायी संरचना हैन । तर, उक्त जनमत परिवर्तनको आन्दोलनको त्यस्तो पुँजी हो, जसलाई सदुपयोग गर्न सक्दा उ नै इतिहासको निर्माता पनि हो, अन्यथा त्यो जमातले चाहेको दिन लुई चौंधौंलाई चिहानमा गाडिदिने सामर्थ्य राख्दछ । तर त्यो शक्ति फेरि पनि राज्यसत्तामा अभिव्यक्त हुने भनेको एउटा राजनीतिक पद्धति, सँस्थागत प्रणाली मार्फत नै हो ।

त्यसकारण, यहाँ पार्टी भित्रको त्यो प्रगतिशील समूहले सदैव नै बहुसंख्याको हितका खातिर निरन्तर पैरवी गरिरहनुपर्दछ, त्यो जमातलाई अपील गरिरहनुपर्दछ, बिना कुनै मोलाहिजा पार्टीको विचार, सिद्धान्त, मूल्य र मान्यताको पक्षमा उभिएर बहुसंख्यालाई विचारधारात्मक रुपले सचेत गराउने राजनीतिक कर्ममा लाग्नै पर्दछ । किनकि, मान्छेलाई विचारधारात्मक रुपमा सचेत गराएर संगठित रुपमा गरिएको क्रान्ति वा परिवर्तन मात्रै दिगो हुनेछ ।

अन्यथा, विभिन्न लहडमा गरिएका आन्दोलन वा स्वयम् कम्युनिस्टको नाममा गरिएको अग्रदस्ता वा हतियारबद्ध क्रान्तिसमेत क्षणभङ्गुर बनेका वा प्रतिक्रान्तिले खाइदिएका तमाम दृष्टान्त विश्व परिवेशमा र हाम्रै परिवेशमा समेत सिंहावलोकन गर्न सकिनेछ ।

अन्ततः आज जसरी केन्द्रदेखि गौंडागौंडाका लुई चौंधौंहरुले राज्य र राजनीति कज्याएका छन् । यसबाट पार्टी, संगठन, राजनीति र समाजलाई मुक्त पार्नु तत्कालको मुख्य कार्यभार हुन आउँदछ ।

आज जसरी लुई चौंधौंहरुको जगजगीले समाज थिलोथिलो बनिरहेको छ । यसको साम्राज्य अवश्य ढल्नेछ । तर, यो ढलिरहँदा अर्को लुई चौंधौंको त्रासदी झेल्न अभिसप्त नहुने हो भने समाजलाई, पार्टीलाई, संगठनलाई, ती तमाम स्वप्नजीवीहरुलाई विचारधारात्मक रुपले सचेत गराउँदै संगठित गर्नुको विकल्प भने हामीसँग किमार्थ छैन ।

(लेखक नेकपाका  कार्यकर्ता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment