Comments Add Comment

गति, सद्गति र दुर्गति

गतिको शाब्दिक अर्थ हो कुनै एक स्थानबाट अर्को स्थानमा जाने क्रिया । सद्गति अर्थात सधैं चल्ने । जस्तो कि सूर्य, हावा आदि । दुर्गतिका सामान्य अर्थ हो दुर्दशा वा खराब स्थिति । यही रुपमा जीवनलाई बुझ्ने हो भने हरक्षण यही क्रम देखिन्छ । जन्मदेखि मृत्युसम्म पुग्ने क्रिया वा बीजको अंकुरण, बिरुवामा रुपान्तरण, फूल वा फल । फलबाट पुन: बीजको निर्माणको अन्तहीन क्रिया नै जीवनको गति हो।

गतिलाई प्रवाह भनी सम्झन सकिन्छ । जीवनको प्रवाह नै एक हिसाबले जीवनको सद्गति र दुर्गति बन्न पुग्छ । कहिलेकाहीँ यस्तो पनि लाग्छ कि जीवनको साकार र निराकार स्वरुप मूलतः प्रवाह हो । जीवनमा सबैकुरा गतिशिलतामा आधारित छ। स्थिरता वा जडताले जीवनको गतिमाथि गहिरो प्रभाव पर्छ । तर जीवनको ऊर्जा वा प्रवाहमा यो ताकत हुन्छ कि स्थिरता वा जडता एकाएक वा क्रमश पुन: प्रवाहमान हुन पुग्छ ।

प्रकाश र वायुको गतिशीलता सर्वकालीन हुन्छ । तर विचारको गतिको कुनै मापन हुँदैन । विचारले कहिले, कुन समयमा, कसरी, कस्तो रूप-स्वरूप धारण गर्छ, यो निर्धारित छैन । यद्यपि विचार नै हाम्रो गति, सद्गति र दुर्गतिको निर्धारक हुन्छ । हामी सबैको विचार र व्यवहारले नै हाम्रो व्यक्तिगत र सार्वजनिक जीवनको गतिशीलताको स्वरूप निर्माण गर्छ । एक हिसाबले जीवनलाई गम्भीर सम्झिएर हामी स्वय‌ं र हाम्रो समाकालीन तथा पूर्ववर्ती मनुष्यको विचारसँग प्राय: मिलिरहेको हुन्छ । जीवनको गतिशीलताको स्वरुप हरेक मान्छेको सोच र बुझाइमा निर्भर गर्छ ।

थाहा छैन हाम्रो यस धर्तीमा कति किसिमका जीवमा जीवनको एक निश्चित प्रवाह छ । तर हाम्रो धर्तीमा मनुष्यले आफ्नो गतिशीलता केही दिशामा घटाउने वा बढाउने गर्छ, जसको नतिजा जीवनको सद्गति र दुर्गतिको रुपमा वा जीवको जीवनको असमय समाप्तिको रुपमा अभिव्यक्त भएको देखिँदैछ ।

मनुष्यले पनि नयाँ नयाँ विचारबाट बुद्धि र युक्तिको रुपमा प्रयोग गरेर नयाँ–नयाँ साधनको निर्माण एवं उपयोग गर्न सिके, जसले मान्छेको जीवनको दशा र दिशा पूर्ण रुपमा बद्लिएको छ । आज मान्छेलाई जीवनको हरेक आयाममा गति चाहिएको छ।

आजका मानिस विगतका मान्छे जस्तो एकाग्र र धैर्य छैनन् । हरेक कुरा तुरुन्तै हुनुपर्ने सोच राख्छन् । कुनै पनि कुराको नतिजा छिटोछरितो हुनुपर्ने सोच राख्छ । यस्तो लाग्न थालेको छ कि, हामीमा यस्तो साधनको लत बस्दैछ, जसले हरेक कुरा फटाफट समाधान गरिदिन्छ । हामी आधुनिक उपकरण एवं साधनको प्रयोग गरेर यही जन्ममा यस्ता कुराहरू हासिल गर्ने हतारोमा छौं कि, जो दुई/तीन जुनीमा पनि मिल्नेवाला थिएन ।

मानिसलाई यति गतिशील साधन आजको कालखण्डमा जति सहज, सरल र सुलभ ढंगले उपलब्ध भइरहेको छ कि मान्छे सोच्न, विचार गर्न, मनन गर्न नै छाडिसकेका छन् । मान्छेमा एकाग्र, धैर्य, शान्तिको भाव हराउँदैछ । मान्छेले स्थानीय संशाधनको प्रयोग गर्न छाडिसकेका छन्, सामाजिक लोक जीवन गुमाइसकेका छन् । भागदौड, हतारो, धपेडीमा दैनिकी बित्न थालेको छ ।

पेट्रोल वा विद्युत‍्को खोजबाट मान्छेले पहिलो पटक आफ्नो गतिशीलतालाई तीव्र रुपमा अघि बढाए । तर सूचना संसाधनको १/२ दशकको गतिको सुनामीले मान्छेको व्यक्तिगत र सामूहिक सोच, व्यक्तित्व र कृतित्वलाई जुन गति प्रदान गरे । त्यसले हामीलाई सद्गतिको दिशामा लानेछ वा हामी सबैलाई यान्त्रिक सभ्यताको एक सानो पूर्जा बनाएर मनुष्य जीवनको दशा र दिशा बदल्नेछ।

जीवनको सनातन सद्गतिको साटो यान्त्रिक दुर्गतिलाई नै हामीले आफ्नो गतिशीलता ठानिरहेका छौं । आज सूचना, प्रविधिको विकासले मान्छेको जीवनलाई अरू तीव्र र गतिशील बनाइदियो । यस उपलब्धिले मान्छेको जीवनको आचार, व्यवहार र विस्तारलाई वैश्विक रूप दिने आधारभूमि तयार गरेको छ । तर यसले मान्छेको व्यक्तिगत स्वाधीनता, निजता र मौलिकताका सामुन्ने गम्भीर संकट पनि ल्याइदिएको छ ।

मस्तिष्कको गतिशीलताका लागि विश्व नै खुला भएको छ । तर एक देशबाट अर्को देशमा जानका लागि मान्छेलाई सहज अनुमति दिइएको छैन । यो मानिसको गतिशीलताको इतिहासमा एक अनौ‌ंठो विरोधाभास हो । विचारको हिसाबले मान्छे जहाँ पनि पुग्न सक्छ । तर भौतिक हिसाबले मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज छैन वा अनुमति छैन । मान्छेको शारीरिक गतिशीलतालाई हरेक देशको सीमाले नियन्त्रण गर्छ ।

मान्छेले वास्तवमा यस किसिमको भेद र नियन्त्रणको अवस्था पैदा गरेको हो । जबकि प्रकृतिले धर्तीका हरेक जीवनलाई एक समान प्रकाश, वायु, भोजन र जीवनको निरन्तरताको शृङ्खला उपलब्ध गराएको छ । तर मान्छेको बुद्धि मान्छेको जीवनको गति सद्गति र दुर्गतिको बीचमा चक्कर लगाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment