News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले नेता–कार्यकर्ता र जेनजी युवाबीच सिमरामा भएको झडपपछि बारामा कर्फ्यू जारी गरिएको थियो।
- जेनजी युवाले कर्फ्यू उल्लङ्घन गर्दै दिनभर प्रदर्शन गरेका थिए र विमानस्थलको मुख्यगेट ढालिदिएका थिए।
- प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ र युवाहरूलाई प्रहरी कार्यालय बोलाउने सहमति भएको छ।
३ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच उत्पन्न तनावका कारण दिनभर अशान्त बाराको सिमरा अहिले सामान्य बनेको छ।
जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको कर्फ्यू आदेश उल्लङ्घन गर्दै दिनभर प्रदर्शन गरेका जेनजी युवाहरू फर्किएका छन् । प्रशासनले लगाएको कर्फ्यू आदेशको अवधि बेलुकी आठ बजेपछि सकिएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बेलुकी ८ बजेपछि कर्फ्यू आदेश के गर्ने भन्ने विषयमा स्थितिको विश्लेषण भइरहेको बताए ।
दिनभर बाटोमा रोकिएका सवारीसाधनलाई प्रहरीले साँझ ६ बजेतिर अवरोध खुलाएर गन्तव्यतर्फ पठाएको छ जिल्ला प्रशासन कार्यालय बाराका प्रहरी नायव उपरीक्षक वेदप्रसाद जोशीले जानकारी दिए ।
नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको थियो ।
स्थानीय प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको थियो ।
तर, कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाले सिमरा बजार क्षेत्रमा दिनभर प्रदर्शन गरेका थिए ।
प्रहरीले साँझ प्रदर्शनकारी युवाका प्रतिनिधिसँग छलफल गरेको थियो ।
छलफलको क्रममा युवाहरूले जेनजी अगुवा सम्राट उपाध्यायमाथि हातपात गर्ने एमाले कार्यकर्ताहरूलाई पक्राउ गर्नु पर्ने माग राखेका थिए । प्रहरीले बिहीबार बिहान १० बजे उनीहरूलाई पनि प्रहरी कार्यालयमा बोलाउने बताएपछि प्रदर्शन रोक्ने समझदारी भएको हो ।
बुधबार बिहान सिमरामा एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो।
एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । त्यसलाई सम्बोधन गर्दै काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सिमरा आउँदै थिए ।
सो कार्यक्रमलाई लक्षित गर्दै जेनजी अगुवा उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् एमालेको कार्यक्रम असफल पार्ने गरी शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए ।
सोही विषयलाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले नेता–कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेका थिए। त्यस पछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थल पुगेपछि तनावको अवस्था उत्पन्न भएको थियो ।
जेनजी युवाहरूले विमानस्थलको मुख्यगेट ढालिदिएका थिए । उनीहरूले विमानस्थलभित्र ढुंगा तथा सिसाका बोतल प्रहार गर्दै निरन्तर नारावाजी गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो ।
प्रतिक्रिया 4