Comments Add Comment

३० वर्षपछि लिभरपुललाई उपाधि दिलाएपछि क्लोप भन्छन्- सोचेभन्दा ठूलो सफलता

१२ असार, काठमाडौं । लिभरपुललाई ३० वर्षपछि पहिलो पटक लिग उपाधि जिताउन नेतृत्व गरेका प्रशिक्षक क्लोपले यसलाई आफूले सोचेको भन्दा ठूलो सफलता भएको बताएका छन् ।

प्रिमियर लिग अन्तर्गत विहीवार भएको खेलमा चेल्सीले म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गरेपछि लिभरपुल ७ खेलअघि नै च्याम्पियन बनेको हो । ७ खेल बाँकी रहँदा लिभरपुलले सिटीभन्दा २३ अंक बढी जोडेको छ ।

‘मसँग कुनै शब्द छैन,’ तीन दशकको उपाधिविहीन यात्रालाई तोड्दै प्रिमियर लिग उपाधि दिलाएपछि क्लोपले स्काई स्पोर्ट्ससँग भने ।

लिभरपुलले सन् १९८९-९० मा पछिल्लो पटक लिग उपाधि जितेको थियो । सन् १९९३ मा आधुनिक प्रिमियर लिग सुरु भएयता भने भने लिभरपुलले पहिलो पटक लिग जितेको हो

‘यो मैले सोच्न सक्ने सबैभन्दा उत्तम चिज हो र मैले देख्ने सपनाभन्दा धेरै । यो अविश्वसनीय छ । मैले सोच्ने सम्भावना भन्दा धेरै हो,’ क्लोपले भने । अन्तर्वार्तामा लिभरपुलको जर्सी लगाएका जर्मन नागरिक प्रशिक्षक क्लोपले भने, ‘यो क्लबसँग च्याम्पियन हुँदा अनौठो महसुस भइरहेको छ ।’

‘मेरा खेलाडीबाट यो अविश्वसनीय सफलता हो र उनीहरुलाई प्रशिक्षण दिने प्रशिक्षकका हिसाबले मलाई आनन्द मिलेको छ,’ क्लोपले भने ।

सन् २०१५ मा ब्रेण्ड्न रोजर्सलाई बर्खास्त गर्दै क्लोपलाई कलबको जिम्मेवारी दिँदा लिभरपुल अंक तालिकामा १०औं स्थानमा थियो ।

क्लोपले अघिल्लो वर्ष लिभरपुललाई छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

यस्तै लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले पनि क्लोपले सुरुवातदेखि नै परिवर्तन गरेको बताए । ‘मलाई पहिलो दिन नै लागेको थियो जब उनी ढोकामा आए तब सबै परिवर्तन गरिदिए,’ कप्तान हेन्डरसनले भने, ‘हामीले उनलाई पछ्यायौँ उनलाई विश्वास गर्‍यौं । यो निकै अनौठो यात्रा रह्यो । हामी अझै धेरै चाहन्छौं । हामीमा भोक छ । उनीसँग मिलेर अझै धेरै गर्न सकिन्छ ।’

कप्तान हेन्डरसनले जे जस्तो भए पनि क्लोपलाई फलो गर्नु ठूलो विषय भएको बताए । उनलाई गरेको विश्वासले नै यो उचाइमा पुग्न सकेको उनले बताए । ‘यो उनीविना सम्भव थिएन,’ उनलेभ ने ।

यस्तै म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि लिभरपुल उपाधिको लागि लायक रहेको बताएका छन् । ‘लिभरपुलले यो सिजन राम्रो खेल्यो । योग्य थियो,’ ग्वार्डिओलाले भने । उनकै प्रशिक्षणमा सिटीले यसअघि लगातार दुई सिजन उपाधि जितेको थियो । ग्वार्डिओलाले यस सिजनबाट धेरै सिक्नुपर्ने र अर्को सिजन सुधार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment