Comments Add Comment

जापानले बनायो संसारकै फास्ट सुपर कम्प्युटर, कोरोनाविरुद्धको लडाइँमा खटाइने

चीन तथा अमेरिकालाई पछि पार्दै जापानले विश्वकै सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर निर्माण गरेको छ ।

जापानको राइकिन रिसर्च इन्स्टिच्युट तथा फुजित्सु लिमिटेड नामक कम्पनीले मिलेर दुनियाँकै तीव्र गतिको कम्प्युटर निर्माण गरेको हो । दुनियाँकै तेज उक्त कम्प्युटरलाई कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा प्रयोग गर्ने बताइएको छ ।

विश्वका सुपर कम्प्युटरहरूको सूची प्रकाशित हुने उत्कृष्ट ५०० को पछिल्लो सूचीमा जापानको उक्त कम्प्युटर पहिलो स्थानमा पर्न सफल भएको हो । फुगाकु नामको उक्त सुपर कम्प्युटर कोबे सहरस्थित रिकेन सेन्टर अफ कम्प्युटेसनल साइन्समा जडान गरिएको छ । यो कम्प्युटर एउटा कोठाको आकारको छ । करिब ६ वर्षको अथक प्रयासपछि यसको निर्माण सम्पन्न भएको बताइएको छ।

यसअघि अमेरिकाको आइबिएम कम्पनीको समिट नामक सुपर कम्प्युटर विश्वको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटरको रुपमा रहेको थियो । जापानको फुगाकु सो अमेरिकी कम्प्युटरभन्दा २.८ गुणा तेज छ । रिपोर्टअनुसार यस सुपर कम्प्युटरमा डेढ लाखभन्दा धेरै प्रोसेसर राखिएको छ । सुपर कम्प्युटरको गति मापन गर्ने इकाईअनुसार यसको क्षमता ४१५.५३ पेटाफ्लप्स छ ।

जापानको शानदार पुनरागमन

विश्वको सबैभन्दा फास्ट सुपर कम्प्युटरको सूचीमा जापानले ११ वर्षपछि पुनरागमन गरेको छ । यसअघि सन् २००९ मा फुजित्सुको के कम्प्युटर नामक सुपर कम्प्युटरले विश्वको सबैभन्दा फास्ट सुपर कम्प्युटरको रुपमा पहिलो स्थान हासिल गर्न सफल भएको थियो ।

त्यसपछि सुपर कम्प्युटरको दौडमा अमेरिका र चीनले जापानलाई पछाडि पारेका थिए । अन्ततः जापानले अमेरिका र चीनलाई फेरि पछिपार्दै पहिलो स्थानमा उक्लिएको छ ।

बीबीसीका अनुसार फुगाकुलाई कोरोना भाइरसविरुद्धको लडाइँमा परिचालन गरिसकिएको छ । यसले कार्यालय परिसरका कोठाहरूभित्र तथा रेलका डिब्बाहरूभित्र कसरी मानिसका थुकका छिटाहरू फैलिन्छन् भन्ने डाटा संकलन तथा विश्लेषण गर्दैछ ।

आगामी वर्ष सन् २०२१ मा यो कम्प्युटर पूर्ण रुपमा क्रियाशील हुनेछ । यसले कोरोना भाइरसको प्रभावकारी उपचारको खोजीका लागि समेत सहयोग गर्ने विश्वास गरिएको छ ।

जापानले बनाएको उक्त सुपर कम्प्युटर सफ्टबैङ्क ग्रुप कर्पोरेसन आर्म्स लिमिटेडको प्रविधिको प्रयोग गरी बनाइएको छ । आर्म्सका अनुसार यो कम्प्युटरले हाइ परफर्मेन्स कम्प्युटिङमा इन्टेल कम्पनीलाई टक्कर दिनेछ । स्मरण रहोस् आर्म कम्पनीका प्रोसेसर विश्वमा अहिले अधिकांश स्मार्टफोनहरूमा प्रयोग हुँदै आएको छ । एप्पलले पनि आफ्नो आगामी म्याक कम्प्युटरमा आर्म्स प्रोसेसर प्रयोग गर्दैछ ।

पछिल्लो तथ्यांकानुसार आइबिएमको समिट सुपर कम्प्युटर दोश्रो तेज सुपर कम्प्युटरको रुपमा रहँदा आइबिएमकै अर्को सुपर कम्प्युटर तेश्रो स्थानमा छ। चौथो र पाँचौं तेज सुपर कम्प्युटर भने चीनमा रहेका छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment