Comments Add Comment

कर्णालीमा ३६ प्रतिशत रोपाइँ सकियो

१४ असार, सुर्खेत । कर्णाली प्रदेशमा ३६ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको ३८ हजार तीन सय ८५ हेक्टर जमिनमा धान रोपाइँ गरिन्छ  ।
प्रदेशका दशवटै जिल्लामा कतै रोपाइँ सकिनै लागेको छ भने कतै भर्खरै रोप्न सुरु गरिएको छ ।

गत वर्षको तुलनामा यो वर्ष छिटो रोपाइँ सकिने कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत यामबहादुर रानाका बताए । उनका अनुसार किसानले अघिल्ला वर्षहरूभन्दा यो वर्ष छिटो रोपाइँ सक्नेछन ।

‘यो वर्ष वर्षाले साथ दिएको छ’, उनले भने ‘त्यसैले किसानहरूले समयमै धानको बीउ राख्न पाए । रोप्ने काम पनि बेलैमा सकिन्छ ।’

कर्णालीको खेती प्रणाली आकाशे पानीको भरमा छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा रोपाइँका लागि मनसुन नै कुर्नुपर्ने बाध्यता छ । यो पटक समयमै मनसुन सक्रिय हुँदा रोपाइँ धमाधम भइरहेको अधिकृत रानाले बताए ।

प्रदेशका कतिपय क्षेत्रमा चैत–वैशाखदेखि नै थालिने रोपाइँ साउन अन्तिमसम्म चल्छ । पहाडी जिल्लामा असार लागेपछि रोपाइँ सुरु गरिन्छ भने जुम्लालगायतका उच्च पहाडी क्षेत्रमा चैतदेखि नै धान रोप्न सुरु गरिन्छ । यहाँ ढिलो रोप्दा तापक्रमका कारण धान नपाक्ने हुनाले छिटो रोपाइँ गर्ने चलन छ ।

कर्णाली जुम्लामा सबैभन्दा बढी ९६ प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार डोल्पामा ७५ प्रतिशत, हुम्लामा ७० प्रतिशत, सल्यानमा ७० प्रतिशत, मुगुमा ६० प्रतिशत, जाजरकोटमा ४५ प्रतिशत र कालीकोटमा ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

रुकुम–पश्चिममा ३० प्रतिशत र दैलेखमा २५ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशमा सबैभन्दा कम सुर्खेतमा १० प्रतिशत मात्रै रोपाइँ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment