Comments Add Comment

कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने

१६ असार, कतार । कोरोना संक्रमण नियन्त्रणका लागि कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । यहाँको विपद् व्यवस्थापन समितिले कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको हो ।

कतारी नागरिक तथा आप्रवासीहरुले सावधानीका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएको भन्दै यस्तो निर्णय गरिएको हो । यसअघि दोस्रो चरणदेखि निजी तथा सार्वजनिक स्थानहरुमा १० जनासम्मलाई भेला हुन दिने भनिएको थियो । समितिले कतारमा भाइरसविरुद्ध सुरु गरिएको प्रतिवन्ध हटाउन जुलाई १ देखि दोस्रो चरणको योजना लागू गर्ने तयारी गरेको क्यूएन खबरले जनाएको छ ।

यहाँको सरकारले दोस्रो चरणमा जुलाई १ देखि ५ जनासम्म मात्र भेला हुन दिने, सीमित समयका लागि मलहरु खुल्न दिने, मार्केट तथा होलसेल मार्केट सीमित समयका लागि खुल्न दिने, कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्न दिने, संग्रहालय र पुस्तकालय पनि सीमित मानिसका लागि सीमित समयका खोल्ने र आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने निर्णय भएको छ ।

यसैगरी निजी मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने, एउटै परिवारका १० जनासम्मले डुंगा चलाउन पाउने, सम्पूर्ण पार्क, बिच तथा कर्नेस सबै उमेरका मानिसका लागि खुल्ने तर खेल्न भने पाउने छैनन् । १० जनाभन्दा कमले खुला क्षेत्रमा तथा जिम सेन्टरमा अभ्यास गर्न पाउने र प्रार्थनाका लागि ५ वटा मस्जिदहरु खुल्ने निर्णयमा उल्लेख छ ।

त्यस्तै अगस्ट १ देखि तेस्रो चरणमा १४ दिन क्वारेन्टाइनमा बस्ने गरी प्राथमिकतामा रहेका यात्रुहरु (आप्रवासी कामदार) कतार आउन पाउने, सम्पूर्ण सपिङ सेन्टरहरु खुल्ने, होलसेल मार्केटहरु सिमित क्षमता संगै सिमित समयका लागि खुल्ने, ग्राहक बढाएर केही रेस्टुरेन्टहरु खुल्न दिने, ड्राइभिङ स्कुलहरु खुल्न दिने, नर्सरी र चाइल्ड केयर सेन्टर खुल्ने, शैक्षिक सस्था भने सेप्टेम्बरदेखि मात्र खुल्ने उल्लेख छ ।

त्यस्तै सावधानी अपनाएर ८० प्रतिशत कामदारले काम गर्न पाउने, ५० प्रतिशत ग्राहक क्षमता घटाएर हेल्थ क्लब, जिम सेन्टर, स्विमिङ पुल, ब्युटी पार्लर, मसाज सेन्टर र सैलुन खोल्न पाउने, दर्शकबिना खेलकुद प्रतियोगिता आयोजना गर्न पाउने र निजी मेडिकलहरु ८० प्रतिशत क्षमताले खुल्न पाउने बताइएको छ ।

कतार सरकारले कोरोना भाइरसबाट बच्नका लागि सबैलाई सावधानीका उपायहरु अपनाउन र अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनेको छ । सामाजिक दुरी कायम राख्न र कतार सरकारले जारी गरेको मोबाइल एप एथेराज पनि कतारमा बस्ने सबैले अनिवार्य प्रयोग गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment